• ९ माघ २०८१, बुधबार

‘सूचना प्रविधि उद्योगीका लागि अध्यादेश सकारात्मक’

blog

काठमाडौं,  माघ ८ गते । नेपाल एशोसिएशन फर सफ्टवेयर एण्ड आई.टी. सर्भिसेज कम्पनीज् (नासआईटी) हालै नेपाल सरकारले अध्यादेशमार्फत ल्याएका कानून संशोधन तथा सहजीकरणप्रति स्वागत तथा आभार व्यक्त गरेको छ । 

नासआईटीको पहल र नीतिगत वकालतको परिणामस्वरूप, हालै सरकारले सूचना प्रविधि उद्योगसँग सम्बन्धित कानूनमा आवश्यक सुधार र सहजीकरण गर्दै विभिन्न सुविधा र सम्भावनाहरुको शुरुवात गरेको छ। यस कदमले नेपालको सूचना प्रविधि उद्योगलाई अझै ससक्त तथा विश्वव्यापी बनाउने छ।

नासआईटीले हालैको अध्यादेशलाई समयमै कार्यान्वयन गराउन र आवश्यक कार्यविधि तथा निर्देशिका जारी गरी सम्बन्धित निकायहरुद्वारा थप सहजीकरण हुने विश्वास व्यक्त गरेको छ। यसबाट सूचना प्रविधि क्षेत्रमा कार्यरत स्वदेशी र विदेशी लगानीकर्ताहरुलाई सकारात्मक सन्देश जानेछ, जसले समग्रमा सूचना प्रविधि उद्योगको विकासमा थप टेवा पुर्‍याउनेछ।

सरकारले यस आर्थिक वर्षको बजेटमार्फत आगामी १० वर्षभित्र सूचना प्रविधि (आईटी) उत्पादन र सेवाहरूको ३० खर्ब रुपियाँ बराबरको निर्यात गर्ने लक्ष्य निर्धारण गरेको छ । साथै सूचना प्रविधि क्षेत्रमा ५ लाख प्रत्यक्ष रोजगारी र १० लाख अप्रत्यक्ष रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको छ सो लक्ष्य प्राप्त गर्नका लागि पनि हालैका अध्यादेशले सकारात्मक भूमिका खेल्ने र कोशेढुंगा सावित हुने हाम्रो विश्वास लिएको छ । 

नासआईटीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘‘सरकारको समग्र योजनामा प्रविधि पूर्वाधार विकास, नीतिगत सहयोग, र सूचना प्रविधि क्षेत्र सुदृढ पार्न विभिन्न पहलहरू गर्नुले सरकारले दीर्घकालीन र नवीन सूचना प्रविधि प्रणाली निर्माण गर्ने लक्ष्य लिएको नासआइटिको विश्वास छ र यसमा हामी सरकारसँग हातेमालो गर्दै अघि बढ्न तयार छौँ ।’’

नेपालको सूचना प्रविधि उद्योगले शुरुवाती अवस्थाबाट क्रमिक प्रगतितर्फ यात्रा गरिरहेको छ। यस क्रममा विदेशी लगानीकर्ताहरु र देशभित्र रोजगारी सृजना गर्ने रोजगारदाताहरुको संलग्नता उल्लेखनीय रूपमा बढिरहेको छ ।

नासआईटीले आर्थिक र व्यावसायिक वातावरण सुधार गर्न तथा लगानी अभिवृद्धिका लागि हालै नेपाल सरकारले सार्वजनिक गरेका कानून संशोधनको सबै क्षेत्रबाट उचित परिपालना हुने अपेक्षा गरेको छ। यसका लागि सबै सरकारी र सरोकारवाला निकायहरुबीच आवश्यक समन्वयात्मक कार्य गराउन नासआईटी आफ्नो पूर्ण सहयोगको प्रतिबद्धता व्यक्त गर्दछ।