• १० माघ २०८१, बिहिबार

एक छाकको सङ्घर्स

blog

पानी अमृत हो । पानीबबिना मानव जीवनको कल्पना पनि गर्न सकिन्न । मानव के कुनै पनि प्राणी पानीबिना बाँच्न सक्दैन । मानवकै गतिविधिले पानीका स्रोतमा समस्या उत्पन्न हुँदै गएको छ । जलवायु परिवर्तनसँगै पानीका स्रोतमा पूर्णतया निर्भर मानिसको  दिनचर्या नराम्रोसँग प्रभावित भएको छ । यसको ज्वलन्त उदाहरण हो, पूर्वी अफ्रिकाको एउटा देश जाम्बिया ।

खडेरी सङ्कटले जाम्बियामा गम्भीर प्रभाव परेको छ । भूपरिवेष्टित यस देशका बहुसङ्ख्यक मानिसको कृषिकर्म आकासे पानीमा निर्भर रहेको छ तर बर्सातको समयमा पानी नपर्दा अन्नबाली नष्ट भई खडेरीले लाखौँ मानिस प्रभावित छन् । 

करिब एक करोड ८० लाख जनसङ्ख्या भएको यस देशमा खडेरीका कारण आधा जनसङ्ख्यालाई दिनमा एक छाक खान धौ धौ भइरहेको छ । जलवायु परिवर्तनलाई यसको मुख्य कारण मानिएको छ । खडेरीले ९८ लाख मानिसलाई प्रभावित तुल्याए पनि ६६ लाख मानिस सहयोगको प्रतीक्षामा छन् ।

खडेरीले ग्रामीण बस्ती, विपन्न परिवार, महिला र बालबालिकालाई सबैभन्दा बढी प्रभावित पारेको देखिन्छ । जाम्बियाले दशकौँदेखि यसरी खडेरीको मार बेहोरिरहेको छ । मानवीय सहयोगका नाममा सरकार र मानवीय प्रतिकार्य गर्ने संस्थाले उनीहरूलाई जीवन धान्न खाद्यवस्तु उपलब्ध गराउने गरेका छन् । 

यस देशमा वर्षायाम अक्टोबरदेखि जनवरीसम्म हुन्छ तर औसतभन्दा कम वर्षा हुँदा गत वर्ष बाली नष्ट हुन गएको रहेछ । पानीको अभावमा किसानले आफ्नो उब्जनी त लिन पाएनन् नै अरू विकल्प पनि अपनाउन सकेनन् । 

जाम्बिया बसाइका क्रममा भेटिएका ८२ वर्षका एक किसानले भने, “गत वर्ष वर्षा ढिलो भयो र छिट्टै  रोकियो । यसले अन्नबाली विशेषगरी मकै सखापै भयो । अहिले के खाने भन्ने पीर छ ।” कतिसम्म भने सखरखण्डको पात सुकाएर त्यसको झोल खानका लागि ती वृद्ध किसान पात सुकाउँदै गर्दा भेटिएका थिए । धेरै किसानको अवस्था उनको जस्तै छ अहिले ।

जाम्बियाको आम्दानीको एक मुख्य स्रोत तामा खानी हो । तामाबाट देशको अर्थतन्त्रमा टेवा पुगे पनि गरिब किसानको बाँच्ने आधार चाहिँ कृषि र पशुपालन मात्र हो । अधिकांशले आकासे पानीको भरमा मकै खेती गर्ने रहेछन् । मकै यहाँको मुख्य खाद्यान्न बालीमा पर्दछ । कतिपय मानिस घरबस्ती छोडेर खानाको खोजीमा अन्यत्रै सरेका छन् । 

आफ्ना बालबच्चालाई पिठियुँमा राखेर भाँडा बोक्दै खाली पेट पानीको खोजीमा घण्टौँ हिँड्न खडेरीले आमालाई बाध्य बनाएको छ । कुराकानीका क्रममा ग्रामीण क्षेत्रकी एउटी आमाले स्कुल छोड्ने धेरै विद्यार्थी काम खोज्न नजिकको बजार क्षेत्र गएको र कतिपयले बाँच्नका लागि वेश्यावृत्तिको सहारा लिइरहेको व्यथा सुनाइन् । 

अधिकांश मानिसले आफ्नो परिवारका लागि पानीको खोजीमा अधिक समय व्यतित गर्दा रहेछन् । पानीको खोजीमा टाढा जाँदा  बुट्यान, झाडी र जङ्गल उनीहरूको टाउको दुःखाइको विषय हुने गर्छ । 

किसानले आफ्नो बाली त गुमाए नै बाँच्नका लागि आफ्ना गाईवस्तुसमेत बेचिरहेका छन् । खानेपानीको मुहान सुक्दै गएकाले कतिपय परिवारले खानेपानी लिन १५ किलोमिटरसम्म हिँड्नुपर्ने बाध्यता देखिएको छ । खान नपाएका बालबालिका कुपोषणको शिकार हुन थालेका छन् । यस्तोमा पिठोमा एक चम्चा नुन र चिनी हालेर बनाइएको परिकार बालबालिकाको आहार बनेको छ । 

खडेरीले नदीमा पानीको तह कम भइदिँदा देशको बिजुली आपूर्तिसमेत कम भएको छ । दिनमा झन्डै १० देखि १८ घण्टासम्म बिजुली बन्द हुने गरेको छ । विद्युत्का लागि जेनेरेटर चलाउनु पर्दा सामानको भाउ बढेको छ । यसले गर्दा जनताको क्रय शक्तिमा नराम्रोसँग प्रभाव परेको छ । 

खडेरीसँग जुध्न जाम्बियाको सरकारले राष्ट्रिय विपत्ति घोषणा गरेको छ तर सरकारसँग पर्याप्त स्रोत नहुँदा समस्या थपिँदो छ । खडेरीले यहाँका ११६ जिल्लामध्ये ८४ जिल्लाका ९८ लाख मानिस प्रभावित भएका छन् भने ६६ लाख मानिसलाई सहयोगको खाँचो छ ।  

–युवामञ्च    

Author

श्रीराम केसी