दैलेख समाचारदाता
दैलेख, माघ ८ गते । जिल्लाका स्थानीय तहको विकास बजेट खर्च निराशाजनक देखिएको छ । जिल्लाका ११ स्थानीय तहले चालु आर्थिक वर्ष २०८०/८१ को साउनदेखि पुस मसान्तको बजेट खर्च कम भएको पाइएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालय दैलेखले जानकारी दिए अनुसार जिल्लाका ११ स्थानीय तहको बिकास बजेट तथा पुँजीगत खर्च २६.२४ प्रतिशत रहेको छ ।
कार्यालयका लेखापाल छत्रमान सुवेदीले ११ स्थानीय तहको कुल बजेट पुँजीगत ९८ करोड ३३ लाख ३४ हजारमा २५ करोड ८० लाख ८० हजार खर्च भएको जानकारी दिनुभयो । उहाँले स्थानीय तहमा हालसम्म निकासा गएको बजेटको प्रतिशत २६.२४ प्रतिशत देखिए पनि स्थानीय तहले कति बजेट खर्च गर्यो भन्ने कोष तथा लेखा नियन्त्रण कार्यालयमा जानकारी नुहने बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले गाउँपालिका तथा नगरपालिकाले पहिला लगेको बजेट खर्च गरेका आधारमा बजेट दिने व्यवस्थाबमोजिम बजेट निकासा दिने गरेका छौँ ।”
स्थानीय सरकारले समयमै योजना सम्झौता गर्ने गरे पनि असार मसान्तमा भुक्तानी लिने समस्याले बजेट खर्च नदेखिने गरेको छ । भगवतीमाई गाउँपालिका अध्यक्ष गणेशबहादुर थापाले गाउँपालिकाले हरेक योजना समयमै सम्पन्न गर्न प्रयत्न गरेको भए पनि उपभोक्ता तथा ठेकेदारको ढिलासुस्तीका कारण समयमै बजेट खर्च नहुने समस्या रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “योजना सम्झौता समयमै हुने भए पनि काममा ढिलाइ गर्ने र काम सम्पन्न भए पनि भुक्तानी समयमै लिन नआउने समस्याले बजेट खर्च नदेखिएको हो ।”
विकास बजेट खर्च कम हुनुले दैलेखका स्थानीय तह असारे विकासको मानसिकताबाट अझै मुक्त हुन नसकेको पुष्टि हुन्छ । एक वर्षभित्र सम्पन्न गर्नुपर्ने योजनाको समयमै सम्झौता, काम सम्पन्न र भुक्तानी दिन यहाँका स्थानीय तह अझै गम्भीर बन्न सकेका छैनन् । महालेखाको आव २०७९/८० को प्रतिवेदनमा उल्लेख गरिए अनुसार जिल्लाका स्थानीय तहले आवको असार महिनामा बजेट धेरै खर्च गर्ने गरेको उल्लेख गरेका छन् ।
नारायण नगरपालिकाले कुल पुँजीगत खर्च १७ करोड ८२ लाख भएकोमा पहिलो चौमासिकमा ८५ लाख ८८ हजार र दोस्रो चौमासिकमा एक करोड १० लाख २५ हजार खर्च गरेको छ । तेस्रो चौमासिकमा चार करोड ३१ लाख ५५ हजार र चौथौ त्रैमासिकमा ११ करोड ५५ लाख १० हजार तथा असार महिनामा मात्रै सात करोड १० लाख ६७ हजार खर्च गरेको छ । दुल्लु नगरपालिकाको कुल पुँजीगत खर्च २६ करोड २० लाख ९९ हजार भएकोमा प्रथम चौमासिकमा दुई करोड ४४ लाख ३८ हजार र दोस्रो चौमासिकमा पाँच करोड १६ लाख दुई हजार खर्च भएको छ । तेस्रो चौमासिकमा १८ करोड ६० लाख ५९ हजार र असार महिनामा मात्रै १० करोड सात हजार खर्च गरेको छ ।
चामुण्डा बिन्द्रासैनी नगरपालिका कुल पुँजीगत खर्च १४ करोड ५४ लाख ३१ हजार भएकोमा पहिलो चौमासिकमा ६३ लाख ५८ हजार र दोस्रो चौमासिकमा एक करोड ६३ लाख ५८ हजार खर्च भएको छ । तेस्रो चौमासिकमा दुई करोड १३ लाख ५८ हजार, चौथो त्रैमासिकमा १० करोड १३ लाख ५७ हजार र असार महिनामा मात्र सात करोड ९० लाख तीन हजार रहेको छ । आठबिस नगरपालिका कुल पुँजीगत खर्च १७ करोड ११ लाख २४ हजार भएकोमा पहिलो चौमासिकमा दुई करोड ४० लाख ८३ हजार र दोस्रो चौमासिकमा तीन करोड १६ लाख ९३ हजार खर्च भएको छ । तेस्रो चौमासिकमा ११ करोड ५३ लाख ४७ हजार र असार महिनामा मात्र पाँच करोड ६५ लाख ६३ हजार खर्च भएको छ । अन्य स्थानीय तहको अवस्था पनि यस्तै छ ।