मुसीकोट समाचारदाता
रुकुमपश्चिम, माघ ८ गते । भूकम्पले घरसँगै खानेपानी र शौचालयमा क्षति गरेपछि समस्यामा रहेका जाजरकोटको नलगाड नगरवासीको घर घरमा खानेपानी र शौचालय सुविधा पुगेको छ । नगरपालिकाले वडा नं. १, २, ३, ६, ७, ८, ११ र १२ मा १४ वटा खानेपानी आयोजना र एक हजार १७ वटा शौचालय निर्माण गरेको हो ।
भूकम्पपछि विभिन्न निकायबाट राहत र अस्थायी आवास निर्माणमा सहयोग भए पनि खानेपानी र सरसफाइको क्षेत्रमा समस्या देखिएको थियो । विपत् प्रभावित समुदाय र विद्यालयमा थप जोखिम हुन नदिन खानेपानी, सरसफाइ र स्वच्छतासम्बन्धी कार्यक्रम सञ्चालन गरेर प्रभावितलाई सेवा प्रदान गरिएको हो । बेलायत सरकारको सहयोगमा सञ्चालित एकीकृत भूकम्प पुनर्लाभ कार्ययोजना अन्तर्गत युनिसेफ र सोसेक नेपालको प्राविधिक सहयोगमा नलगाड नगरपालिकाको आठ वटा वडामा सात हजार ६९० लाभग्राहीको घरमा खानेपानीसहितको धारा निर्माण गरिएको हो ।
सोसेक नेपालका सामाजिक व्यवहार परिवर्तन तथा तालिम अधिकृत सृष्टि बाँठामगरका अनुसार भूकम्प प्रभावितका घर घरमा खानेपानीसहितको धारा र शौचालय निर्माण गरिएको छ । उहाँले एक हजार वटा शौचालयबाट पाँच हजार एक सय भूकम्प प्रभावित र १७ वटा अपाङ्गतामैत्री शौचालयबाट २० जना अपाङ्गता भएका व्यक्ति लाभान्वित भएको बताउनुभयो । समुदायसँगै यहाँका नौ वटा विभिन्न विद्यालयमा बालमैत्री धारा र शौचालय निर्माण गरिएको छ । विद्यालयमा स्वच्छता सुविधासहितको पानी आपूर्ति प्रणाली जडान गरिएको छ भने बास प्रवर्धनका गतिविधिसमेत गरिएको छ । यसबाट दुई हजार ४७ जना विद्यार्थी लाभान्वित भएका छन् । वडा नं. १ ठुलाबगरका धर्मराज पुनले गाउँमा लक्ष्मीपाखा ठुलाबगर खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न भएर टोलका ३९ वटै घरमा खानेपानीसहितको धारा र भाँडा राख्ने स्थान, २८ वटा शौचालय निर्माण तथा नौ वटा मर्मत र दुई वटा अपाङ्गतामैत्री शौचालय निर्माण भएको बताउनुभयो । उहाँका अनुसार यसै टोलको लक्ष्मीपाखा प्राविमा खानेपानीसहितको बालमैत्री धारा र हात धुने स्थान बनाइएको छ । यसबाट समुदाय र विद्यालयस्तरमा प्रत्यक्ष सहयोग पुगेको छ । यसअघि गाउँमा खानेपानीका धारा थिएनन् । यहाँका स्थानीयले भेरीनदी र आधाघण्टा टाढाको मुहानबाट पानी बोकेर उपयोग गर्ने गर्दथे ।
सोही वडाको कल्पतका जनक नेपालीले टोलका १३८ वटा घरमा खानेपानी र धारा उपलब्ध गराइएको जानकारी दिनुभयो । यसबाट ७२१ जना लाभान्वित भएका छन् भने १२५ घरमा नयाँ र एउटा अपाङ्गतामैत्री शौचालय बनाइएको छ । गाउँभन्दा तीन किलोमिटर टाढाको भेरीखोलाबाट एक इन्टेक र दुई पानी ट्याङ्की निर्माण गरेर घर घरमा खानेपानीको सुविधा पु¥याइएको नेपालीले उल्लेख गर्नुभयो । घर घरमै खानेपानीको धारा र शौचालय बनेपछि यहाँका भूकम्पपीडित खुसी भएका छन् ।