• ८ माघ २०८१, मङ्गलबार

राष्ट्रपति रनिङ शिल्डको उपाधि रेसुङ्गालाई

blog

रमेश विश्वकर्मा 

गुल्मी, माघ ७ गते । गुल्मीको रेसुङ्गा नगरपालिकाको आयोजनामा भएको छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता रेसुङ्गा माध्यमिक विद्यालयले जितेको छ। गत शुक्रबारदेखि चिदिचौर खेलमैदान भएको प्रतियोगितामा १२ स्वर्ण, १० रजत र चार काँस्य गरी कुल २६ पदक हात पार्दै रेसुङ्गा माध्यमिक विद्यालयले उपाधि जितेको हो।

रेसुङ्गा नगरपालिकाको पहिलो र पाँचौ राष्ट्रपति रनिङ शिल्डको उपाधि महेन्द्र माध्यामिक विद्यालयले जितेको थियो। द्रोस्रो, तेस्रो र चौथो राष्ट्रपति रनिङ शिल्डको उपाधि सिद्धबाबा माध्यमिक विद्यालयले जितेको थियो। गतवर्ष र यसवर्षको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सिद्धबाबा माध्यमिक विद्यालय दोस्रो भएको छ। यस वर्षको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा यस विद्यालयले ११ स्वर्ण, पाँच रजत र पाँच काँस्य गरी कुल २१ पदक प्राप्त गरेको छ। तेस्रो भएको महेन्द्र माध्यमिक विद्यालयले आठ स्वर्ण, सात रजत र १३ काँस्य गरी कुल २८ पदक प्राप्त गरेको हो।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद, सबैका लागि खेलकुद’ भन्ने नाराका साथ रेसुङ्गा नगरपालिकाले सुरु गरेको स्थानीय तहस्तरीय अन्तरविद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा १७ विद्यालयले सहभागिता जनाएका थिए। छात्र र छात्र दौड, छात्र र छात्राबीच कबड्डी, सटफुट, ज्यावलिन–थ्रो, हाइजम्प, भलिबल छात्र र छात्रा, लमजम्प, त्रिपल जम्प, मार्सलआर्ट लगायतका खेलमा प्रतिस्पर्धा भएको थियो। उपाधि जितेको रेसुङ्गा माध्यमिक विद्यालयले १८ हजार रुपियाँ, दोस्रो भएको सिद्धबाबा माध्यमिक विद्यालयले १३ हजार रुपियाँ र तेस्रो भएको महेन्द्र माध्यमिक विद्यालयले नौ हजार रुपियाँ नगद प्राप्त गरेका छन्।

१७ विधामा भएका खेलमा उत्कृष्ट बन्नुभएका छात्र र छात्रा खेलाडीलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ। प्रतियोगितामा विजेता विद्यालय र खेलाडीलाई जिल्ला समन्वय समिति प्रमुख द्रोण खत्री, नगरप्रमुख खिलध्वज पन्थी, प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, जिल्लास्थित सुरक्षा निकायका प्रमुख, रेसुङ्गा नगरपालिकाभित्रका वडा अध्यक्ष, कार्यपालिका सदस्य लगायतले सम्मानसहित ट्रफी, पदक र प्रमाणपत्र प्रदान गर्नुभयो।