प्रेमराज सिम्खडा
कालीकोट, माघ ७ गते । साबिकको कर्णालीका जिल्लामा विद्युत् आपुर्ति गर्न समस्या भएको छ । सदुरपश्चिमबाट कर्णालीका कालीकोट, जुम्ला मुगुका लागि आपुर्ति गर्ने भनेको विद्युत् लाइन विस्तारमा स्थानीयले अवरोध गरेपछि समस्या भएको हो ।
अछामको कमलबजारदेखि दैलेखको साइखोलासम्म ९ किलोमिटर दूरीको ३३ केभी प्रसारण लाइन विस्तारमा स्थानीयले अवरोध गर्दा कर्णालीका तीन जिल्लाको विद्युत् विस्तार योजना केही ढिलो हुने भएको छ ।
अछामको पञ्चदेवल विनायक नगरपालिका ४ टोड्केसालका स्थानीयले आफ्नो खेतमा पोल गाडेर बिजुलीको लाइन तान्ने हो भने आफूहरूलाई बिजुली उपलब्ध गराउनुपर्ने माग राख्दै अवरोध गरेको बताएका छन् । आफ्नो घर खेत हुँदै लाइन लैजाँदा पनि बत्ती बाल्न नपाउने भएपछि काममा अवरोध गरिएको स्थानीय छत्रबहादुर विष्टले बताउनुभयो ।
"खेतबाट पोल गाडेर बिजुली लाइन लैजाने तर हामी नै अँध्यारोमा बस्नुपर्ने यस्तो अन्याय सहन सकिँदैन", बिस्टले भन्नुभयो, "हाम्रो गाउँलाई बत्ती नदिएसम्म लाइन तान्न दिँदैनौं ।" पञ्चदेवल विनायक नगरपालिका वडा नं ३ बेल्खेत सयन गाउँका ५३ र वडा नं ४ टोड्केसालका ९३ गरी १ सय ४६ घरधुरी अँध्यारोमा छन् ।
कमलबजार प्रसारण लाइनबाट बिजुली उपलब्ध गराउने आश्वासन एक वर्षदेखि पूरा नगरेकाले बाध्य भएर आफ्नो खेतबारीबाट कालीकोट जुम्ला जाने विद्युत् लाइन रोकेको स्थानीयको भनाइ छ । स्थानीयको अवरोधपछि विद्युत् वितरण केन्द्र कालीकोट, अछाम र दैलेखका प्रमुखसहितले टोड्केसाल र सयन गाउँलाई विद्युत् दिने प्रतिबद्धता भने गरेका छन् । कोहलपुर–सुर्खेत–दैलेख हुँदै कालीकोट, जुम्ला र मुगुसम्म पुगेको राष्ट्रिय प्रसारण लाइनको भोल्टेज नपुगेर विद्युतीकरण भएका कालीकोट, जुम्ला र मुगुका १९ हजार घरधुरी अँध्यारोमा बस्न बाध्य छन् ।
"बिजुली जडान भएको छ भन्ने मात्र छ । चाहिएका बेला बत्ती नै हुँदैन", कालीकोटको खाँडाचक्र नगरपालिका वडा नं ३ का तुलाराज पाण्डेले गुनासो गर्नुभयो । बेलुकी बिजुली आवश्यक पर्ने बेलामा भोल्टेज नपुगेर अँध्यारो हुने गरेको छ ।
बाँकेको कोहलपुरबाट सुर्खेत हुँदै दैलेखबाट आएको राष्ट्रिय प्रसारण लाइनको भोल्टेज कम भएकाले जाडो सिजनमा बत्ती नपुग्ने समस्या समाधान गर्न गत असार १२ मा कालीकोट वितरण केन्द्रले कमलबजार–साइखोला ९ किलोमिटरमा ३३ केभी प्रसारण लाइन विस्तारका लागि पुस १२ मा काम सक्ने गरी १ करोड ८८ लाखको टेन्डर गरी काम थालेको थियो ।
कालीकोट वितरण केन्द्र प्रमुख हरेन्द्रराय यादवले कमलबजारबाट साइखोलासम्मको ९ किमीमध्ये कर्णाली नदीपारिबाट करिब १ सय मिटर मात्र तार तान्न बाँकी रहेको अवस्थामा काममा स्थानीयले अवरोध गरेको जानकारी दिनुभयो । "त्यहाँका स्थानीयको पनि माग त जाहेज नै हो । केही समय पर्खिनुभन्दा पनि मान्नु भएन त्यसैले तत्कालन समस्या समाधान गर्न विद्युत् आपुर्ति गरिदिने योजनामा छौं", उहाँले भन्नुभयो ।
टोड्केसाल र बेल्खेतका बासिन्दालाई कालीकोट वितरण केन्द्रले बिजुली दिन नमिल्ने भएकाले अछामबाटै लाइन विस्तारको काम भइरहेको छ । उक्त गाउँमा विद्युतीकरण गर्न आफ्नातर्फबाट २५ वटा पोल पनि दिएको कालीकोट वितरण केन्द्रको भनाइ छ ।
कर्णालीको सुर्खेतमा बढी विद्युत् खपत हुने भएकाले हालको प्रसारण लाइनबाट भोल्टेज नपुगेर कालीकोट वितरण केन्द्रले डडेलधुराबाट अत्तरिया हुँदै कमलबजार आएको ३३ केभी लाइनबाट कालीकोट, जुम्ला हुँदै मुगुसम्म लाइन जानेछ । डडेलधुरा–अत्तरिया हुँदै चमेलिया जलविद्युतकाे १९ मेगावाट, बझाङ कलंगा खोलाको ६५ मेगावाट र अपी हाइड्रोको ५ मेगावाट लगायत करिब १०० मेगावाट विद्युत् आयात हुने गरेको छ ।