तानसेन समाचारदाता
तानसेन, माघ ७ गते । पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग बढ्दै गएको छ । सामाजिक सञ्जालको दुरुपयोग गरेर साइबर अपराध क्रम बढेको हो । सामाजिक सञ्जाल फेसबुक, टेलिग्राम, म्यासेन्जर, भाइबर, ह्वाट्सएपको प्रयोगबाट ठगी गर्ने क्रम बढेको छ । स्वदेश तथा विदेशमा भएका विभिन्न व्यक्तिको खातामा रकम राख्ने, चिट्ठा, रोजगारी दिने नाममा फस्ने क्रम बढेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार पछिल्लो ११ महिनाको अवधिमा साइबर अपराधसम्बन्धी ५३ वटा मुद्दा दर्ता भएका छन् । त्यसमध्ये अनलाइन फ्रड (ठगी) गरेका ३७ वटा उजुरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिनुभयो ।
यस्तै १६ वटा फेसबुक जस्ता सामाजिक सञ्जाल ह्याक गरी विभिन्न अश्लील गतिविधि गरेको भन्दै उजुरी प्रहरीमा आएको उहाँले जानकारी दिनुभयो । यस्तै मोबाइल हराएर फेसबुक, ट्विटर जस्ता सामाजिक सञ्जाल ह्याक भएका उजुरी प्रहरीमा आएका छन् । साइबार अपराधसम्बन्धी ५३ वटा मुद्दा दर्ता भएकामध्ये हालसम्म १७ वटाको मुद्दा फस्र्योट भएका छन् । सामाजिक सञ्जाल तथा अनलाइन ठगीको उजुरी टुङ्ग्याउन प्रहरीको केन्द्रीय तह र बैङ्कसँग समेत समन्वय गर्नुपर्ने भएकाले मुद्दा फस्र्योटमा ढिलाइ भएको प्रहरी उपरीक्षक चन्दको भनाइ छ ।
बैङ्किङ अपराध बढ्दै
पछिल्लो समय बैङ्किङ कसुरका उजुरी पनि प्रहरीमा आउने क्रम बढेको छ । प्रहरीले ११ महिनाको अवधिमा बैङ्किङ कसुर अन्तर्गत चेक बाउन्स, लेनदेनसम्बन्धी २४ वटा मुद्दा दर्ता गरेको छ । घरायसी लेनदेन, संस्थागत लेनदेन तथा व्यवसाय लेनदेनका चेक बाउन्स भएको प्रहरी निरीक्षक सन्दीप बेल्बासेले जानकारी दिनुभयो ।
२४ वटा मुद्दामध्ये १९ वटा मुद्दा फस्र्योट भएका छन् । यो मुद्दा अन्तर्गत १३ जनालाई पक्राउ गरिएको बेल्बासेले बताउनुभयो । विगतमा बैङ्किङ कसुरसम्बन्धी मुद्दा कम आउने गरेकोमा पछिल्लो समय दिनहुँ जसो यस्ता मुद्दा प्रहरीसम्म आउने गरेको छ । यस्ता घटनामा नजिकका साथी, आफन्तसमेत जोडिएका प्रहरीले जनाएको छ ।