• ८ वैशाख २०८२, सोमबार

प्रदेश सभाको बैठक

प्रभावकारी कार्य गर्न सरकारलाई निर्देशन

blog

देउखुरीमा रहेको लुम्बिनी प्रदेश सभा भवन ।

देउखुरी समाचारदाता

देउखुरी, माघ ७ गते । लुम्बिनी प्रदेश सभाको पाँचौँ अधिवेशनको तेस्रो बैठक आइतबार सम्पन्न भएको छ । बैठकमा विशेष समयमा प्रदेश सभा सदस्यहरूले समसामयिक विषयको उठान गर्दै सरकारलाई ठोस कदम चाल्न सुझाव दिएका छन् । 

बैठकमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि काठमाडौँ जिल्ला अदालतको न्यायालयअगाडि भएको कुटपिटको विषय प्रमुख रूपमा उठ्यो । प्रदेश सभा सदस्य चन्द्रकेश गुप्ताले उक्त घटनाले देशमा न्यायको अवस्था खस्किँदै गएको प्रस्ट्याएको बताउनुभयो । उहाँले दोषीलाई कडा कारबाही गर्न सङ्घीय सरकारको ध्यानाकर्षण गराउनुभयो । 

अर्का प्रदेश सभा सदस्य रामजीप्रसाद घिमिरेले देशमा अराजकता बढ्दै गइरहेको उल्लेख गर्दै राजनीतिक दलको आडमा कानुन व्यवसायीमाथि आक्रमण हुनु गम्भीर समस्या भएको बताउनुभयो । 

प्रदेश सभा सदस्य भगवती अधिकारीले विद्यालयमा हाल पनि डरत्रासमा पढाइ भइरहेको भन्दै आफ्नो निर्वाचन क्षेत्रको उदाहरण प्रस्तुत गर्नुभयो । उहाँले शिक्षा क्षेत्रको सुधारका लागि प्रभावकारी नीति आवश्यक भएको बताउनुभयो । 

त्यस्तै सदस्यहरूले प्रदेशमा सुशासन ऐन कार्यान्वयनमा भएको फितलो अवस्था सुधार्न ध्यानाकर्षण गराएका छन् । सदस्य निमा गिरीले कार्यालयहरूको अनुगमनका क्रममा सुशासनको अनुभूति हुन नसकेको बताउँदै ऐन कार्यान्वयनका लागि बजेट छुट्याउनुपर्ने माग गर्नुभयो । साथै उहाँले विकास योजनाको कार्यान्वयन गति तीव्र बनाउनुपर्ने सुझाव दिनुभयो । 

नवराज लामिछानेले वाणगङ्गा नदी नियन्त्रणका लागि सरकारले गरेको कामबारे सदनमा स्पष्ट जानकारी दिन माग गर्नुभयो । बैठकमा प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि पनि विस्तृत छलफल भएको छ । 

बैठकमा पाँचौँ अधिवेशनबाट पारित भई प्रदेश प्रमुखबाट प्रमाणीकरण गरिएका विधेयकहरूलाई सभामुख तुलाराम घर्तीमगरले पढेर सुनाउनुभएको थियो । बैठकमा उठाइएका विषयले प्रदेश सरकारको सुशासन र विकास योजनाको प्रभावकारितामा प्रश्न खडा गर्दै सङ्घीय सरकारको ध्यानाकर्षण गराइएको छ ।