• १८ माघ २०८१, शुक्रबार

कार्यविधि नहुँदा थुप्रियो साढे दुई अर्ब

blog

काठमाडौँ, माघ ७ गते । वन विकास, संरक्षण र संवर्धन गर्न स्थापना गरिएको वन विकास कोषमा जम्मा भएको रकम कार्यविधि नहुँदा बैङ्कमै थुप्रिएको छ । विगत चार वर्षदेखि गत असार मसान्तसम्म कोषमा कुल दुई अर्ब ३४ करोड २१ लाख रुपियाँ खर्च नभएरै जम्मा भएको हो । 

वन तथा वातावरण मन्त्रालयका सहसचिव दीपक ज्ञवालीले वन विकास कोषमा जम्मा भएको कुल दुई अर्ब ३४ करोड २१ लाख रुपियाँ कार्यविधि नहुँदा खर्च नभएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “वन मन्त्रालयका सचिवको अध्यक्षमा वन तथा भूसंरक्षण विभागका महानिर्देशक, अर्थ मन्त्रालय र महालेखा परीक्षकको कार्यालयका सहसचिव सदस्य रहेको समितिले बैठक बसेर कार्यविधि टुङ्गो लगाउने हो । कार्यविधि वन तथा भूसंरक्षण विभाग र मन्त्रालयको समन्वयमा विज्ञसमेतको सहभागितामा कार्यविधि टुङ्गो लागिसकेको छ । अब बैठक बसेर टुङ्गो लगाउन बाँकी छ ।” 

वन क्षेत्र अन्य प्रयोजनका लागि प्रयोग गर्न दिएबापत त्यसबाट प्राप्त भएको रकम वन विकास कोषमा जम्मा गर्नुपर्ने वन विकास कोष वन ऐन, २०७६ को दफा ४५ मा व्यवस्था छ । पूर्वाधारजन्य संरचना निर्माण गर्दा नष्ट भएको जङ्गल तथा बोटबिरुवाको सट्टाभरण गरी वनको क्षेत्रफलमा कमी नआउने गरी व्यवस्थापन गर्नुपर्ने कानुनमा व्यवस्था छ । सहसचिव ज्ञवालीले सम्बन्धित आयोजना निर्माण गर्दा त्यसले ओगटेको क्षेत्रफलको रकम, रुख काट्दा सट्टामा गर्ने वृक्षरोपणको रकम र रुख काटेर जम्मा भएको रकम एकमुस्ट रूपमा बैङ्कमा जम्मा भएको बताउनुभयो । उहाँले भन्नुभयो, “हाइड्रोपावर, सडक, सुरुङमार्ग, रेललगायत विकास निर्माण गर्दा जग्गा दिनुपर्ने व्यवस्था छ । वन क्षेत्रफल प्रयोग गरेबापत जग्गा दिनु पर्छ । कारणवश जग्गाा दिन नसक्ने भए सोबापत सरकारलाई क्षतिपूर्ति सरह रकम दिनुपर्ने कानुनमा व्यवस्था छ । सोेही रकम यही कोषमा जम्मा गर्नुपर्ने हुन्छ । यसै गरी वन क्षेत्रमा एउटा रुख काटेबापत एक बराबर १० वटा वृक्षरोपण गर्नु पर्छ । वृक्षरोपण गर्न नसकेमा त्यसबापत रकम कोषमा जम्मा गर्नु पर्छ । अरू रुख काट्दाको जम्मा गरेको रकम हो ।”

कार्बन व्यापारमार्फत रेड कार्यान्वयन केन्द्रलाई प्राप्त भएको बजेटसमेत कोषमार्फत खर्च गर्ने योजना बनाइएको छ तर कोषको रकम खर्च गर्न कार्यविधि नहुँदा कार्बन व्यापारबाट प्राप्त हुने झन्डै दुई अर्ब रुपियाँ खर्च गर्नसमेत अप्ठ्यारो हुने देखिएको छ । वन तथा भूसंरक्षण विभागले चार वर्षदेखि कार्यविधि बनाउन नसक्दा कोषको रकम खर्च गर्न नसक्दा वन संरक्षण र संवर्धनमा खर्च हुन सकेको छैन । 

तर, वन तथा भूसंरक्षण विभागका सूचना अधिकारी सबनम पाठकले कोषको बजेट खर्च गर्न कार्यविधि नबनेकाले खर्च गर्न नसकिएको स्वीकार गर्नुभयो । उहाँले भन्नुभयो, “कोषको रकम खर्च गर्न कार्यविधि हुनुपर्ने ऐनमा व्यवस्था छ । विभागले कार्यविधि बनाउँदै छ । यो बजेट वृक्षरोपणलगायत वन संरक्षण र संवर्धनमै खर्च गर्नुपर्ने छ । अन्य शीर्षकमा खर्च गर्न पाइँदैन ।” 

   

Author
वीरेन्द्र ओली

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।