• ६ माघ २०८१, आइतबार

झोँछेमा मायालु भेटघाट

blog

एक समय आयो झोँछे गल्ली फ्रिकस्ट्रिट नामले चर्चित भयो । हिप्पीहरूको जमघटले यो सानो गल्ली अन्तर्राष्ट्रियस्तरमै चिनिन थाल्यो । समयले कोल्टे फेर्‍यो र यो गल्ली फेरि पुरानै नामले परिचित भयो । काठमाडौँ महानगरपालिका–२३ मा पर्ने झोँछे सन् १९६० देखि १९८० को दशकमा हिप्पीहरूको अखडा हुन्थ्यो ।

भियतनाम युद्धका कारण असन्तुष्ट अमेरिकी युवाले शान्ति, सद्भाव र प्रेम खोज्दै विभिन्न देश हुँदै वसन्तपुरको झोँछेमा पुगेर आश्रय लिएको इतिहास पाइन्छ । अमेरिकीहरूसँग पछि युरोपेलीसमेत जोडिए । यसलाई हिप्पी संस्कृति भन्ने गरिन्छ । 

हिप्पीहरू बस्ने भएकाले झोँछे क्षेत्र तत्कालीन अवस्थामा विश्वभर ‘फ्रिकस्ट्रिट’ का रूपमा परिचित थियो । अचेल पनि झोँछेका कतिपय पसल तथा सटरबाहिर फ्रिकस्ट्रिट लेखेको देखिन्छ । हिप्पीहरू पलायन भएसँगै सुस्ताएको झोँछे गल्ली अहिले बेग्लै पहिचान बोकेर आएको छ, डेटिङ स्पट ।

शहरभित्रको शहर भने जस्तै साँघुरो गल्लीभित्रको झोँछेमा यतिबेला गोरो छाला भएकाहरू होइनन्, डेटिङ गर्ने नेपाली युवकयुवतीको बाक्लो जमघट देख्न सकिन्छ । प्रायः काठमाडौँको मुख्य बस्ती क्षेत्रभन्दा बाहिरका युवकयुवती ‘मायालु’ भेटघाटमा झोँछे पुग्ने गरेका छन् ।

२०७२ सालको भूकम्पपछि यस गल्लीमा धेरै रेस्टुरेन्ट र होटेल, लज खुलेका छन् । २३ नम्बर वडा कार्यालयका अनुसार करिब सय रेस्टुरेन्ट, होटेल, लज र गेस्टहाउस यहाँ सञ्चालनमा रहेका छन् । 

मामाको चिया पसलदेखि आधुनिक चिया अड्डा, रेस्टुरेन्ट तथा बबल्टीदेखि बेकरीसम्म, हिमालय जाभा अनि ममचा व्यवसाय यस क्षेत्रमा सञ्चालनमा रहेको देखिन्छ । सस्तो मूल्यको आलुचप खाने तथा धुमपान गर्ने र हुक्का तान्न युवकयुवती यहाँ आउने गरेको व्यवसायी बताउँछन् । 

कामपा–२३ का वडाध्यक्ष मचाराजा महर्जनका अनुसार यतिबेला झोँछे नेपाली युवकयुवतीको ‘डेटिङ हब’ बन्दै गएको छ । होटेल तथा रेस्टुरेन्टको छतमा समेत बस्ने व्यवस्था भएकाले काठमाडौँभित्रको उकुसमुकुस वातावरणमा गुम्सिएका र एकान्तप्रिय स्थलको खोजमा युवकयुवती डेट गर्न यहाँ आउँछन् । 

हिप्पीको बेला जस्तो खुला रूपमा ‘ह्यासिस’ तान्न नपाए पनि रेस्टुरेन्टको छत तथा एकान्तमा गाँजा–चरेस भरेर चुरोट तान्ने, हुक्का तान्ने र मदिरा पिउने जमात झोँछेमा बढ्दो छ । पाको उमेर र सपरिवार होइन ‘गर्लफ्रेन्ड’ र ‘ब्वायफ्रेन्ड’ मिलन तथा साथीभाइ जमघटका लागि झोँछे पहिलो रोजाइमा पर्ने गरेको छ । 

त्यस्तै हिप्पी शैलीको स्वरूप र पहिरन नभए पनि छोटा लुगा लगाएर आउनेहरू धेरै देखिन्छन् । युवकयुवतीको जतिको भीड लाग्छ सो अनुपातमा व्यापार भने छैन । एक रेस्टुरेन्ट व्यवसायी भन्छन्, “धेरैजसो त पाँच सयको व्यापार गरेर पाँच घण्टा बिताउने गरी आउँछन् । कुनामा बसेर चुरोट तान्छन्, एकआपसमा गफिँदै घण्टौँ बिताउँछन् ।”

रेस्टुरेन्टको टेबुल खाली पनि हुँदैन र व्यापार भएको छैन भन्न पनि मिल्दैन । रेस्टुरेन्ट सञ्चालक सनी शाहीको भनाइमा कलेज पढ्दै गरेका युवकयुवती धेरै आउने भएकाले अपेक्षा गरे अनुरूप व्यापार हुँदैन । 

झोँछे क्षेत्रमा एकअर्काको देखासिकीमा समान प्रकृतिको व्यवसाय गर्नेबीचको प्रतिस्पर्धा पनि त्यत्तिकै छ । यहाँ भाडा त्यस्तै महँगो छ र पार्किङ छैन । कतिपय त व्यवसाय सञ्चालन गरेको वर्ष दिन नपुग्दै पसल बिक्री गरेर हिँड्छन् । 

सडक तथा रेस्टुरेन्टमा ग्राहकको भीड देखिन्छ तर व्यापार छैन । थोरै लगानीमा धेरै कमाउन खोज्ने, एकअर्काको रिस गर्ने, एउटाको व्यवसाय चलेको देखेमा सोही प्रकृतिको व्यवसाय अर्कोले पनि खोल्नै पर्ने जस्ता प्रतिस्पर्धाले गर्दा झोँछेको व्यापार फस्टाउन नसकेको देखिन्छ । 

सानो गल्लीमा धेरै व्यवसाय, त्यसमाथि कडा प्रतिस्पर्धा, भाडा तिर्न नसकेर पसलमा ताला लगाएर सञ्चालक फरार हुने गरेको वडाध्यक्ष महर्जन बताउँछन् । यहाँ घरधनीहरू बस्दैनन्, झोँछेलाई आन्तरिक तथा बाह्य पर्यटकको केन्द्र बनाउने योजना अगाडि नसारिएको होइन तर स्थानीयको सहयोग नभएको जनप्रतिनिधिको गुनासो छ । 

घरधनीलाई भाडा आए पुग्छ, व्यवसायीलाई जसरी पनि आम्दानी गरे हुन्छ तर झोँछेलाई  साँच्चिकै पर्यटकीय केन्द्र वा विगतको जस्तो इतिहास लेखाउन समस्या छ । झोँछेमा सन् १९६० को दशकमा विदेशी पर्यटक आउन थालेपछि होटेल र रेस्टुरेन्ट खुल्न थालेका थिए र ती रेस्टुरेन्टमा खुलमखुला गाँजा, चरेस बिक्री हुन्थ्यो । रेस्टुरेन्टको मेनुमै ‘ह्यासिस’ समावेश गरी गाँजा र चरेसको बिक्री हुने गथ्र्यो । अहिले त्यस्तै अवस्था नदेखिए पनि चुरोटमा गाँजा भरेर तान्ने र हुक्का तान्ने, एकान्तमा युवकयुवती रमाएर घण्टौँसम्म बस्ने गर्छन् । 

नेपाल भाषामा झोँछेको अर्थ ‘एकै किसिमको लहरे घर’ हुन्छ । झोँछे गल्लीको दायाँबायाँ एकै किसिमको लामा घर भएकाले यसलाई नेवारी समुदायले झोँछे भनेको स्मरण गर्छन् समाजसेवी रमेश मुनिकार । 

–देवबहादुर कुँवर   

–युवामञ्च