• ६ माघ २०८१, आइतबार

पार्किन्सन सुँघ्ने महिला

blog

मानिसलाई नराम्रोसँग अपाङ्ग बनाउने रोगका रूपमा पार्किन्सन रोग परिचित छ । यस रोगको असरले पीडित व्यक्तिको आफ्नो शरीरमा नियन्त्रण नरहने, काम्ने मात्र होइन निद्रा, हिँडडुल, खानपिनलगायत शरीरको सम्पूर्ण प्रणाली विकृत बन्दछ । प्रख्यात बक्सिङ खेलाडी मोहम्मद अली यसै रोगबाट पीडित थिए । विश्वमा लाखौँ मानिसलाई यो रोग लागेको छ र यसको सबैभन्दा खराब पक्ष भनेको उपचार नहुनु हो ।    

यस्तो डरलाग्दो रोगबाट कुन बेला प्रभावित भइने हो वा रोगले कदम चालिसकेको सुइँको समेत प्रभावित मानिसले सुरुमा थाहै पाउँदैन तर जोय मेलसँग यस्तो चमत्कारी शक्ति छ उनले सुँघेरै पार्किन्सन रोग लाग्न सुरु भएको थाहा पाइहाल्छिन् ।   

सन् १९९५ मा जोयका पति लेस मेलमा पार्किन्सन रोग लाग्न सुरु भयो । उनले त्यो थाहा पाएका थिएनन् तर जोयले तुरुन्तै केही गडबडी हुन लागेको चाल पाइहालिन् । जोयले आफ्नो पति लेसको शरीरबाट अलि फरक खालको गन्ध आउन लागेको थाहा पाइन् । जब लेसमा चिकित्सकले जाँचपश्चात् पार्किन्सन रोग निदान गरे र उनलाई पार्किन्सन सहायता केन्द्रमा लगियो, जोयले त्यहाँ रहेका पार्किन्सनका अन्य रोगीबाट समेत सोही खालको गन्ध आइरहेको थाहा पाइन् । 

अचम्मको कुरा त के भने यस्तो विचित्रको सुँघ्ने क्षमता अरू कसैमा थिएन, जोयमा मात्र थियो । अनि जोयलाई एउटा अनुसन्धानमा सहभागी गराइयो । जसमा सहभागी भएर उनले सुँघेरै पार्किन्सन रोग सटिक पत्ता लगाइन् । सुरुकै अवस्थामा सुँघेर रोगको सङ्केत थाहा पाउने क्षमता पार्किन्सन रोगीका लागि ठूलो सफलता थियो ।

लामो समयदेखि जोयसँग यस्तो शक्ति रहेछ जसका बारेमा उनलाई थाहासमेत थिएन । जुन शक्तिको जानकारी जोयले दुर्भाग्यपूर्ण तरिकाले पाइन्, आफ्नो पति लेसलाई पार्किन्सन रोग लाग्दा ।  

त्यस दिनलाई सम्झँदै जोयले भनेकी छन्, “उनमा सधैँ भाले कस्तुरीको जस्तो मनमोहक सुगन्ध आउँथ्यो तर अचानक एक दिन परिवर्तन आयो । उनको मनमोहक सुगन्ध एक खालको ढुसीको गन्धमा परिवर्तन भयो ।”

जोयले एकछिन त सोचिन् आफ्नो पति लेस जुन अस्पतालमा काम गर्छन् त्यहीँको गन्ध उनको शरीरबाट आएको होला । उनले लेसलाई नुहाउन लगाइन् तर पनि नौलो गन्ध हटेन । 

हप्ता, महिना, वर्ष बिते लेसमा दुर्गन्ध आउन बन्द भएन । लेसको शरीरबाट आइरहने गन्धका कारण उनीहरूको दाम्पत्य जीवनमा पनि खटपट बढ्न थाल्यो । साथसाथै जोयले लेसको व्यवहारमा समेत परिवर्तन आइरहेको देखिन् । जसले उनलाई थप चिन्तित बनायो ।

जोय भन्छिन्, “उनको आफ्नो व्यक्तित्व थियो, चरित्र थियो । उनी परिवर्तन हुन थाले । उनी बढी चिढचिढे र असहिष्णु भए ।”

लेसले पूर्णतया असामान्य व्यवहार देखाउँदा उनीहरूको दाम्पत्य जीवनमा बिग्रह भयो । एक दिन लेस मध्यरातमा ब्युँझिए र जोयलाई धक्का दिँदै आक्रमण गर्न थाले । उनलाई थाहा थिएन आफूले के गरिरहेको छु । जोयले लेसलाई भनिन्, “तपाईंलाई रेखदेख आवश्यक छ ।” आफ्नो जाँच गराउन लेसलाई जोयले अनुरोध गरिन् । जोयले सोचेकी थिइन् लेसलाई सकभर ‘ब्रेन ट्युमर’ भएको छ । 

जोयको अनुरोधमा लेस राजी भए र चिकित्सककहाँ उनको जाँच गरियो । चिकित्सले जाँचको नतिजा सुनाए, लेसलाई पार्किन्सन रोग लागेको छ । 

त्यसको केही समयपछि जोय र लेस पार्किन्सन सहायता केन्द्रमा गए । त्यहाँ पार्किन्सन लागेका अन्य रोगी पनि थिए । त्यहाँ पनि जोयले आफ्ना पति लेसको शरीरबाट आउने जस्तै गन्ध महसुस गरिन् ।    

जोयले ठानिन् यस गन्धमा विशेष खालको सङ्केत छ र यदि यो प्रमाणित भयो भने पार्किन्सन रोग निदानमा यो एक महत्वपूर्ण सफलता हुने छ । पार्किन्सन रोगलाई पूर्णतया निको गर्न नसकिने भए पनि यदि यो रोग चाँडै थाहा भयो भने यसको उपचार सम्भव छ र यसको प्रभावलाई कमजोर पार्न सकिन्छ । 

आफूले थाहा पाएको कुरा जोयले बेलायतको चेरिटी पार्किन्सन युकेको मेडिकल टोलीलाई साझा गरेपछि एडिनबर्ग विश्वविद्यालयले उनलाई उनको असाधारण क्षमताको जाँचका लागि बोलायो । जोयको शक्ति जाँचका लागि एडिनबर्गको टोलीले १२ जना रोगी चयन गर्‍यो । जसमा छ जना पार्किन्सनका रोगी थिए र छ जनालाई सो रोग लागेको थिएन ।      

जोयले जुन नतिजा एडिनबर्गको टोलीलाई दिइन् त्यो अचम्भित पार्ने थियो । १२ जनामध्ये ११ जनाको अवस्था जोयले सही बताइन् । जोयको निष्कर्ष धेरै प्रभावशाली थियो । अध्ययन टोलीले जुन एक जनालाई पार्किन्सन नभएको समूहमा सूचीकृत गरेको थियो त्यसलाई समेत पार्किन्सन भएको निष्कर्षमा जोय थिइन् तर अध्ययन टोली त्यसलाई स्वीकार्न तयार भएन । 

अन्ततः जोय आफ्नो निष्कर्षमा सही भइन् । आठ महिनापछि ती व्यक्तिमा पार्किन्सन रोग चिकित्सकले निदान गरे । अन्त्यमा जोयको पक्षमा शतप्रतिशत नतिजा आयो ।

वैज्ञानिकहरूको भनाइ अनुसार पार्किन्सनको सुरुको अवस्थामा पीडितको छालामा परिवर्तन आउन थाल्छ । जसले गर्दा शरीरबाट दुर्गन्ध आउने हो । यस्तो परिवर्तनलाई सामान्य मानिसले थाहा पाउन सक्दैन । विशेष क्षमता भएको मानिसले यस्तो परिवर्तित गन्ध सुँघ्न सक्छ र त्यो मानिस हुन् जोय । 

–युवामञ्च