• १२ माघ २०८१, शनिबार

खो खो विश्वकप : नेपाली टिम पुग्यो फाइनलमा

blog

तस्बिर : खो खो विश्वकप फेसबुक पेज

काठमाडौँ, माघ ६ गते । नेपालको खो खो खेलाडीले शनिबार नेपाली खेलकुदको इतिहासमा गौरवशाली अध्याय कोरेको छ । नेपालको पुरुष र महिला टिमले खो खो विश्वकप प्रतियोगिताको फाइनलमा स्थान बनाएर इतिहास बनाएका हुन् । 

भारतको इन्दिरा गान्धी इन्डोर रङ्गशालामा महिलातर्फको पहिलो सेमिफाइनलमा नेपालले युगान्डालाई ८९–१८ ले सहजै हरायो । यो नतिजाले नेपाली खेल क्षेत्रमा इतिहास निर्माण गरेको छ । नेपालले कुनै पनि खेलमा यसअघि विश्वकपको उपाधि भिडन्तमा स्थान बनाएको छैन । महिला टिमले उपलब्धि हासिल गरेको केही घन्टापछि नै नेपालको पुरुष टिमले पनि इरानलाई ७२–२० ले हराएर उपाधि भिडन्तमा स्थान बनाई नेपाली खेल समर्थकलाई दोहोरो खुसी प्रदान गर्‍यो ।

नेपाली महिला टिम अपराजित रहँदै फाइनलमा पुगेको हो । नेपालले भुटानलाई ९३–२४, जर्मनीलाई ७३–३४, श्रीलङ्कालाई ११०–१० र बङ्गलादेशलाई ८४–२४ ले हराएर समूह सी विजेताका रूपमा क्वाटरफाइनलमा स्थान बनाएको थियो । त्यसपछि नेपालले अन्तिम आठमा इरानलाई पनि एकपक्षीय खेलमा १०३–८ ले हरायो ।

नेपालको महिला टिमले युगान्डाविरुद्ध पहिलो डिफेन्स गर्ने निर्णय गरेको थियो । तीन ड्रिम अङ्कसहित नेपालले इरानलाई पहिलो ‘टर्न’ मा १२–३ मा सीमित पार्‍यो । दोस्रो ‘टर्न’ मा अट्याकको पालोमा नेपालले ३६ अङ्क जोडेको थियो । दोस्रो ‘टर्न’ सकिँदा नै ३९–१२ स्कोरसहित नेपाल जितनजिक पुगिसकेको थियो । तेस्रो ‘टर्न’ मा नेपालले उत्कृष्ट डिफेन्स गर्दै थप आठ अङ्क जोड्यो भने अट्याक गर्ने युगान्डलाई मात्र छ अङ्क बनाउन दिएको थियो । त्यसपछि चौथो ‘टर्न’ मा नेपालले निरिह बनिसकेको युगान्डाविरुद्ध थप ५० अङ्क थपेको थियो ।

सो खेलमा वजिरको भूमिकामा रहेकी नेपाली खेलाडी पूजा ओड सर्वश्रेष्ठ खेलाडी घोषित हुनुभयो । यसै गरी नेपालकै दीपा विके उत्कृष्ट डिफेन्डर चुनिनुभयो । पुरुषतर्फ पहिलो सेमिफाइनलमा यस प्रतियोगितामा अपराजित इरानलाई सजिलै हराएर सबैलाई आश्चर्यमा पार्‍यो । नेपालको पुरुष टिमले प्रतियोगिताको सुरुवात हारबाट गरेको थियो । उद्घाटन खेलमा भारतसँग प्रतिस्पर्धात्मक स्कोरमा ४२–३७ ले पराजित नेपालले त्यसपछि पेरु, ब्राजिल, भुटान र बङ्गलादेशलाई हराएर अन्तिम चारमा स्थान बनाएको हो । 

टस जितेर पहिलो टर्नमा डिफेन्स गर्ने निर्णय गरेको नेपालले इरानलाई आठ अङ्कमा रोक्यो भने आफूले तीन ड्रिम रन अङ्क प्राप्त गरेको थियो । त्यसपछि दोस्रो ‘टर्न’ मा नेपालले इरानलाई आठ अङ्कमै रोकेर आफ्नो स्कोर ३५ पुर्‍याएको थियो । तेस्रो टर्नमा इरानले अट्याकमा केही सुधारिएको प्रदर्शन गरी १२ अङ्क जोड्यो । नेपालले सो टर्नमा पनि एक ड्रिम रन बनाएको थियो । तेस्रो टर्न सकिँदा नेपालले ३६–२० ले फराकिलो अग्रता बनाइसकेको थियो । अन्तिम टर्न आफूले अट्याक गर्ने पालो हुँदा नेपालको जित पक्का भइसकेको थियो । नेपालले चौथो टर्नमा इरानका थकित खेलाडीलाई थप निरिह पार्दै थप ३६ रन थप्यो । इरानले खेलभरि एक ड्रिम रन पनि बनाउन सकेन । नेपालले रनिङ टचबाट मात्र ३४ स्कोर गरेको थियो । यसै गरी नेपालले स्काई डाइभबाट १८ र पोस्ट डाइभबाट चार अङ्क बटुलेको थियो ।

सो खेलमा नेपालका जनक चन्द सर्वश्रेष्ठ खेलाडी र सुरज पुजारा उत्कृष्ट डिफेन्डर चुनिनुभयो ।