• ५ माघ २०८१, शनिबार

हिमपातले नाग्म –गमगढी लोकमार्ग अवरुद्ध

blog

हरिकृष्ण ऐडी 

मुगु, माघ ४ गते । हिमाली जिल्ला मुगुमा पहिलो पटक परेको भारी हिमपातले कर्णाली लोकमार्ग अन्तर्गत नाग्म–गमगढी सडक अवरुद्ध भएको छ । बिहीबार परेको भारी हिमपातले नाग्म–गमगढी सडक अन्तरगत घुच्चीलेकमा हिमपात हुँदा सडक अवरुद्ध भएको हो ।

सडक अवरुद्ध भएसँगै जनजीवन प्रभावित भएको छ । यातायात व्यवसायी  कमल रोकायाले घुच्चीलेकमा हिउँ जमेकोले मालवाहक र यात्रुवाहक दर्जनौँ गाडीहरू घुच्चीलेकमै अलपत्र परेको जानकारी दिनुभयो । उहाँका अनुसार घुच्चीदेखि  वाँदखोलासम्म सडकमा झन्डै एक फिटभन्दा बढी हिउँ जमेको छ।

हिमपातले अलपत्र परेका यात्रु दिनेश बुढाका अनुसार  बुलबुले र घुच्ची लेकमा  बाक्लो हिउँ जमेकोले गमगढी पुग्न नसकेको बताउनुहुन्छ । जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख सरोज गिरीका अनुसार सडक डिभिजन कार्यालय जुम्लासँग एक्स्काभेटरबाट जमेको  हिउँ पन्छाउनलाई समन्वय भएको छ  तर मौसम अझै सुधार नहुँदा गाह्रो परेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘मौसम सुधार हुनासाथ हिउँ पन्छाउने काम हुन्छ, व्यवसायी र यात्रुलाई धैर्यका साथ सुरक्षित बस्न आग्रह गर्छु ।’