• २ माघ २०८१, बुधबार

२७ औं भूकम्प दिवस

‘भूकम्प प्रतिरोधी संरचनासँगै नागरिकमा सचेतना’

blog

२७ औं भूकम्प दिवसका अवसरमा घोराहीमा निकालिएको सचेतना र्‍यालीमा सहभागी । तस्बिर : लीलाधर वली

लीलाधर वली 

घोराही, माघ २ गते । भूकम्पीय जोखिम कम गर्नका लागि भूकम्प प्रतिरोधी संरचना निर्माणसँगै नागरिकमा सचेतना आवश्यक रहेको कार्यक्रमका सहभागीले बताएका छन् । 

२७ औं भूकम्प दिवसका अवसरमा बुधवार घोराहीमा आयोजना गरिएको कार्यक्रममा बोल्ने वक्ताहरुले भूकम्प प्रतिरोधी संरचना निर्माणका लागि जनतामा सचेतनासँगै भवन निर्माण भएनभएको बुझ्नका लागि अनुगमन हुन आवश्यक रहेको बताएका थिए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले विज्ञहरुका अनुसार पश्चिम नेपाल भूकम्पको जोखिममा रहेको सूचनाहरु आइरहने भएकाले विगतमा भएका भूकम्पबाट पाठ सिकेर घरलगायतका अन्य पूर्वाधार बनाउँदा नागरिकले ध्यान दिनुपर्ने बताउनुभयो । आवास सुरक्षित भए सवै कुरा सुरक्षित राख्न सकिने भन्दै प्रमुख जिल्ला अधिकारी लम्सालले भन्नुभयो,‘नागरिकको पहिलो चासो सुरक्षित आवास निर्माण अर्थात् भूकम्प प्रतिरोधी घर निर्माण हुनुपर्छ ।’ 

घर निर्माणसँगै हरेक संरक्षणहरु निर्माण गर्दा सुरक्षित महसुस हुने गरी बनाउन आग्रह गर्दै प्रमुख जिल्ला अधिकारी लम्सालले राष्ट्रिय भवन निर्माण आचारसंहिता पालना गरेर घर निर्माण गर्न नागरिकलाई जोड दिनुभएको थियो । 

कार्यक्रममा सङ्घीय सहरी विकास तथा भवन निर्माण कार्यालय दाङका प्रमुख प्रवीण शाहले भूकम्पबाट सुरक्षित रहन सुदृढ पूर्व तयारी आवश्यक रहेकाले र प्रत्येक नागरिकलगायत अन्य भौतिक संरचना बलियो बनाउनुपर्ने बताउनुभयो । भूकम्पीय जोखिमबाट हुने क्षति न्यूनीकरणका लागि गर्न सकिने प्रयासका बारेमा जानकारी गराउँदै प्रमुख शाहले प्रत्येक नागरिकले राष्ट्रिय भवन निर्माण आचारसंहिता पालना गरेर मात्र घरसँगै अन्य पूर्वाधार निर्माण गर्नुपर्ने बताउनुभयो । उहाँले अहिले खर्च कम गर्ने बाहनामा अहिले भूकम्प प्रतिरोधी घर नबनाउँदा पछि पछुताउनुपर्ने अवस्था आउने भएकाले समयमै भूकम्प प्रतिरोधी घर निर्माणका लागि नागरिकमा सचेतना आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा घोराही उपमहानगरपालिका सहरी विकास, पूर्वाधार तथा मापदण्ड कार्यान्वयन महाशाखा प्रमुख इन्जिनियर युवराज पौडेलले घोराहीमा भवन निर्माण गर्दा राष्ट्रिय भवन निर्माण आचारसंहिता अनिवार्य गरिएको बताउनुभयो । उहाँले आचारसंहिता पालना गर्दै घोराहीमा दश हजार बढी भूकम्प प्रतिरोधी घरहरु निर्माण भएको बताउनुभयो । 

भूकम्पको सम्भावित जोखिमबाट कसरी बच्न सकिन्छ भन्ने विषयमा व्यापक जनचेतना अभिवृद्धि गराउने, विगतमा भएका प्रयासका मूल्याङ्कन गर्दै कमीकमजोरीलाई सुधार गर्ने लक्ष्यका साथ आइरहेको उनको भनाइ छ । 

कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले भूकम्पको सम्भावित जोखिमबाट कसरी बच्न सकिन्छ भन्ने विषयमा व्यापक जनचेतना अभिवृद्धिसँगै  विगतमा भएका प्रयासको मूल्याङ्कन गर्दै कमीकमजोरीलाई सुधार गर्दै कडाइका साथ भूकम्प प्रतिरोधी संरचना निर्माण जोड दिनुपर्ने बताएका थिए । 

‘भूकम्पले सिकाएको पाठ, बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ’ भन्ने मूल नारामा घोराहीमा प्रभातफेरीको आयोजना गरिएको थियो । प्रभातफेरी कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनालगायत कर्मचारीलगायत स्थानीयको सहभागिता थियो ।