• २ माघ २०८१, बुधबार

‘भिजिबिलिटी’ कमजोर हुँदा आन्तरिक हवाई उडान प्रभावित

blog

हवाई उडान नहुँदा सुनसान देखिएको नेपालगन्ज विमानस्थल । तस्बिर : सिराज खान

सिराज खान
नेपालगन्ज, माघ २ गते ।
बाक्लो शीतलहर तथा कुहिरोका कारण भिजिबिलिटी अत्यन्त कम हुँदा नेपालगन्जबाट हुँदै आएका हवाई उडान दुई दिनदेखि बन्द भएको छ ।

मङ्गलबार बिहानैबाट चलेको शीतलहर तथा हुस्सु कुहिरोका कारण भिजिबिलिटी नपुग्दा मङ्गलबार कुनै पनि हवाई उडान हुन सकेन भने आज (बुधबार) पनि विमानस्थल बन्द रहेको नेपाल नागरिक उडयन प्राधिकरण नेपालगन्जले जनाएको छ ।

यो समाचार तयार पार्दासम्म बुधबार बिहान एक हजार भिजिबिलिटी भएकाले श्री एयरलाइन्सले मात्र उडन भरेको छ ।

नेपालगन्ज विमानस्थलको टावरले दिएको जानकारी अनुसार जहाज उडाउन एक हजार भिजिबिलिटी हुनुपर्ने र जहाज उतार्नका लागि एक हजार ६०० भिजिबिलिटी हुनुपर्नेमा मङ्गलबार पाँच सयभन्दा बढी भिजिबिलेटी नभएकाले कुनै पनि उडान हुन नसकेको हो ।

तर, जहाज आउनका लागि एक हजार ६०० भिजिबिलिटी आवश्यक पर्ने हुँदा त्यति नपुगेसम्म कुनै पनि जहाज नआउने टावरले जनाएको छ । यसैगरी, पहाडी जिल्लामा हुने उडानहरु बुधबार पनि सबै बन्द छन् ।

नेपालगन्जबाट काठमाडौंका लागि श्री एयरलाइन्सले चार, बुद्ध एयरलाइन्सले चार र यति एयरलाइन्सले दुईवटा नियमित उडान दैनिक गर्दै आएको थियो । भिजिबिलिटी कम भएका कारण दुई दिनदेखि उडान हुन नसकेको सो कार्यालयले जनाएको छ ।

सोही प्रकारले नेपालगन्जबाट पहाडी जिल्लाहरुमा बिहान हुने गरेका उडानहरू पनि मङ्गलबारदेखि नै हुन नसकेको जनाइएको छ ।

दुई दिनदेखि हवाई उडान नहुँदा नेपालगन्ज विमानस्थलबाट काठमाडौं र पहाडी जिल्लामा यात्रा गर्न टिकट लिएर बस्नुभएका यात्रुहरुलाई ठुलो समस्या भएको आरएस ट्राभल्सका सञ्चालक रवि गिरीले बताउनुभयो ।