• २ माघ २०८१, बुधबार

मुन्धुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय उद्घाटन

blog

मुन्धुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय अवलोकन गर्नुहुँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे ।

खोटाङ समाचारदाता

खोटाङ, माघ २ गते । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्धुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालयको स्थापना गरेको छ । दिक्तेलमा स्थापना गरिएको सङ्ग्रहालयको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले उद्घाटन गर्नुभएको छ । 

गत वर्ष दिक्तेलमा मुन्धुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा प्रदर्शनी आयोजना गरिएको थियो । नगरपालिकाले २०८० असोज १७ देखि २० गतेसम्म दिक्तेलमा मुन्धुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा प्रदर्शनी आयोजना गरेको थियो । उक्त कार्यशाला तथा प्रदर्शनीमा सहभागी नेपालसहित १४ देशका ४३ चित्रकारले १०६ थान चित्र तयार पारेका थिए । त्यही चित्रकला कार्यशाला तथा प्रदर्शनीमा सहभागी कलाकारले बनाएको तथा अन्य चित्रकारले तयार पारेको क्यानभासलाई दिक्तेलमा सङ्ग्रहालय बनाएर राखिएको हो । 

नगरपालिकाले २०८० फागुन ५ देखि १७ गतेसम्म नेपाल कला परिषद्, बबरमहल, काठमाडौँमा चित्रकला प्रदर्शनीसमेत आयोजना गरेको थियो । दिक्तेलमा तयार पारेर काठमाडौँमा लगेर प्रदर्शनमा राखिएपछि पुनः दिक्तेलमा ल्याइएका क्यानभासलाई राखेर मुन्धुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय स्थापना गरिएको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले बताउनुभयो । 

हाललाई चिल्ड्रेनपार्क तथा सपिङ कम्प्लेक्सको पाँच वटा कोठामा १८२ थान चित्र राखेर कला सङ्ग्रहालय स्थापना गरिएको हो । जिल्लाको पर्यटन प्रवर्धनसँगै कला, साहित्य र मौलिक संस्कृतिको जगेर्ना गर्नका लागि कला सङ्ग्रहालय स्थापना गरिएको प्रमुख भट्टराईले बताउनुभयो । 

कला सङ्ग्रहालयको उद्घाटन गर्दै मन्त्री पाण्डेले नेपालमा भएका पर्यटकीय ठाउँ अरूलाई देखाएर नेपाली बाँच्न सक्ने बताउनुभएको छ । उहाँले भन्नुभयो, “त्यसैले प्रकृति र संस्कृति पस्किन सिक्नुपर्ने छ । यसको विकासका लागि नेपालका तिनै तहका सरकार समन्वय गरेर अगाडि बढ्नु पर्छ ।”

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले कला र संस्कृतिको क्षेत्रमा गरेको काम प्रशंसनीय रहेको मन्त्री पाण्डेले बताउनुभएको छ ।