काठमाडौँ, माघ २ गते । इजरायल र प्यालेस्टाइनबिच युद्धविराम तथा बन्धकमुक्त गर्ने सम्झौताको अन्तिम तयारी चल्दै गर्दा हमास समूहले नियन्त्रणमा लिएका नेपाली नागरिक विपिन जोशीको रिहाइका लागि नेपाल सरकारले पहल तीव्र पारेको छ । सरकारका तर्फबाट परराष्ट्र मन्त्रालयले कूटनीतिक पहल तीव्र पारेको हो । अबको केही दिनभित्रै युद्धविराम सम्झौता हुने कार्य अन्तिम चरणमा पुगेको शक्ति राष्ट्र अमेरिका र मध्यस्थकर्ता मुलुकले जनाएका छन् ।
हमास समूहले आफ्नो नियन्त्रणमा रहेकामध्ये करिब ३४ जनालाई मुक्त गर्ने पुष्टि भएसँगै परराष्ट्रमन्त्री डा. आरजु राणाले कूटनीतिक पहललाई थप तीव्रता दिनुभएको छ । परराष्ट्रमन्त्री राणाले हमाससँग सम्पर्कमा रहेका तथा युद्धविरामका लागि मध्यस्थता गरिरहेका मुलुकका उच्च अधिकारी तथा कूटनीतिज्ञहरूलाई जोशीको रिहाइका लागि थप पहल गरिदिन अपिल गरिरहनुभएको छ ।
यसक्रममा मन्त्री राणाले मङ्गलबार कतारका विदेश राज्यमन्त्री डा. मोहम्मद बिन अब्दुलाजिज अल–खुलाइफीसँग फोनवार्तामार्फत जोशीको रिहाइका लागि अपिल गर्नुभएको छ । राज्यमन्त्री खुलाइफी कतार सरकारका तर्फबाट हमाससँगको शान्तिवार्ताका लागि प्रमुख वार्ताकार एवं मध्यस्थकर्ता हुनुहुन्छ ।
परराष्ट्रमन्त्री राणाले खुलाइफीसँगको फोनवार्तामा नेपालको सदैव हितैषी मित्रराष्ट्र रहेको प्रसङ्ग औँल्याउँदै कतार सरकारले हमाससँगको सम्पर्कमा रहेर शान्तिवार्ताका लागि युद्धविराम गराउन विशेष पहल गरिरहेकोमा सोको प्रशंसा गर्नुभयो । त्यसक्रममा नेपाली युवा विपिन जोशीको रिहाइका लागि पनि विशेष पहल आवश्यक रहेको स्पष्ट पार्दै त्यो पहल कतारका तर्फबाट हुन सक्ने परराष्ट्रमन्त्री राणाले बताउनुभयो । टेलिफोन वार्ताका क्रममा कतारका विदेश राज्यमन्त्री खुलाइफीले हमासलाई इजरायलसँग युद्धविराममा ल्याउने विषय सकारात्मक रूपमा अगाडि बढिरहेको जानकारी गराउनुभयो । साथै उहाँले हमासको अपहरणमा रहेकाको मुक्तिका लागि कतार सरकारले सक्दो पहल गरिरहेको बताउनुभयो ।
राज्यमन्त्री खुलाइफीले नेपाली नागरिक विपिनको रिहाइलाई अपिल गर्ने कुरा पनि आफूहरूले प्राथमिकतामा राखेको जानकारी गराउँदै पहिलो चरणमा उनीहरूले केही बन्दी रिहा गर्ने सूचना दिएकाले सकेसम्म पहिलो चरणमै र त्यो सम्भव नभएमा बाँकीको रिहाइका क्रममा विपिन अपहरणमुक्त हुनेमा आफू विश्वस्त रहेको परराष्ट्रमन्त्री राणासमक्ष बताउनुभयो ।
विपिन जोशीको रिहाइका लागि परराष्ट्रमन्त्री डा. आरजु राणाले मङ्गलबार साँझ इजरायलका विदेशमन्त्री गिडियन सारसँग पनि फोनवार्ता गर्नुभएको छ । फोनवार्तामा मन्त्री डा. राणाले इजरायल सरकारले जोशीसहित सबै बन्दीका पक्षमा निर्वाह गरिरहेको भूमिकाका लागि धन्यवाद दिँदै जोशीलाई मुक्त गराउन विशेष आग्रह गर्नुभएको थियो ।
त्यस अवसरमा मन्त्री सारले विपिनको सकुशल रिहाइका लागि इजरायल सरकारले अधिकतम प्रयास गरिरहेको जानकारी दिनुभएको बताइएको छ ।
मन्त्री राणाले गत साता नेपालका लागि इजिप्ट र कतारका राजदूतमार्फत दुवै देशसँग विपिनको रिहाइका लागि विशेष पहल गरिदिनका लागि आग्रह गर्नुभएको थियो । गत हप्तै नेपालका लागि इजरायली राजदूत समुलिक एरी बासमार्फत इजरायल सरकारसँग पनि उहाँले सो आग्रह गर्नुभएको थियो ।
राजदूत बासले मन्त्री डा. राणासँग हमास समूहले ३४ जनालाई रिहा गर्न लागेको र त्यसमा वृद्धवृद्धा, महिला, बालबालिका र नाजुक स्वास्थ्य अवस्थाका व्यक्ति रहेका समाचार इजरायल सरकारले प्राप्त गरेको जानकारी गराउनुभएको थियो ।
संयुक्त राष्ट्रसङ्घ, विभिन्न अन्तर्राष्ट्रिय एवं क्षेत्रीय मञ्चहरूका साथै द्विपक्षीय एवं बहुपक्षीय बैठकहरूमा समेत परराष्ट्रमन्त्री डा. राणाले विपिन रिहाइका लागि पहल गरिदिन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गर्दै आउनुभएको छ ।
सन् २०२३ को अक्टोबरमा प्यालेस्टाइनी हमास समूहले इजरायली भूमिमा आक्रमण गर्दा १० जना नेपालीसहित एक हजार दुई सय नागरिकको मृत्यु भएको थियो । त्यसलगत्तै हमासले २५१ जनालाई बन्धक बनाई लगेकामा विपिन जोशी पनि रहेका छन् । तीमध्ये १५७ जनालाई छाडिसकेको र अझै ९४ जना बन्धक रहेको अनुमान छ । तीमध्ये ३४ जनाको मृत्यु भइसकेको अनुमान छ ।
सम्झौता अन्तिम चरणमा
यसै बिच, गाजामा तत्काल युद्धविराम र हमास नियन्त्रणमा रहेका बन्धक रिहाइका लागि हुने सम्झौताका सर्तको मसौदा अन्तिम चरणमा रहेको प्यालेस्टिनी उच्च अधिकारीले जनाएका छन् । अमेरिकाका राष्ट्रपति जो बाइडेनले पनि युद्धविरामसहितको सो सम्झौता सफल हुने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले आइतबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र मध्यस्थकर्ता कतारका शेख तमिम बिन हमाद अल थानीसँग यस विषयमा कुराकानी गर्नुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सम्झौताको अन्तिम तयारीलाई थप पुष्टि गर्दै इजरायली उच्च अधिकारीले पनि एक/दुई दिनभित्र वा केही दिनभित्र सम्झौता हुने जानकारी दिनुभएको छ ।