• २ माघ २०८१, बुधबार

नेपालमा खेल पर्यटनलाई प्रवर्धन गरेर लैजानुपर्छः अध्यक्ष प्रचण्ड

blog

सिन्धुपाञ्चोकको सुकुटेमा मंगलबारदेखि सुरु भएको सातौं महिला तथा आठौं पुरुष राष्ट्रिय बिच भलिबल प्रतियोगिताको उद्घाटन समारोहमा सहभागी पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत ।

सिन्धुपाल्चोक, माघ १ गते। पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा खेल पर्यटनको राम्रो सम्भावना भएकाले यसलाई प्रवर्द्धन गरेर लैजानुपर्ने बताउनुभएको छ।

सिन्धुपाञ्चोकको सुकुटेमा मंगलबारदेखि सुरु भएको सातौं महिला तथा आठौं पुरुष राष्ट्रिय बिच भलिबल प्रतियोगिताको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो।

नेपाल प्राकृतिक र सांस्कृतिक रुपमा पर्यटन विकासका लागि विश्वकै आकर्षक गन्तव्य भएको उल्लेख गर्दै उहाँले यसमा खेलकुदलाई जोडेर लैजान सक्नु थप महत्वपूर्ण काम हुने बताउनुभयो। 

पर्यटकीय क्षेत्र सुकुटेमा राष्ट्रिय भलिबल सुरु हुनु खेल पर्यटनका लागि राम्रो अवसर भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अन्य पर्यटकीयस्थलहरुमा पनि जहाँ जे संभावना हुन्छ, त्यसलाई अघि बढाएर लैजानुपर्ने बताउनुभयो। 

अध्यक्ष प्रचण्डले राष्ट्रिय एकता प्रवर्धन गर्न र अन्तर्राष्ट्रिय सम्बन्ध स्थापित गर्न पनि खेल क्षेत्रको महत्वपूर्ण भूमिका हुने बताउनुभयो। 

आफूले क्रिकेट, फुटबल, कराँते लगायतका विभिन्न विधाका खेलको प्रवर्धनलाई महत्वका साथ लिएको उल्लेख गर्दै दोस्रो पटक प्रधानमन्त्री भएको बेलामा भलिबललाई राष्ट्रिय खेलको रुपमा घोषणा गराएको स्मरण गराउनुभयो। 


आफूले यस क्षेत्रको विकासका लागि केही न केही भूमिका निर्वाह गर्ने अवसर पाएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले हिजो मात्रै आफू सुकुटे पुगेपछि पनि पार्टीका स्थानीय नेता र जनप्रतिनिधिले बाढीपहिरोबाट क्षतिग्रस्त सडक मर्मतमा सरकारको चासो नदिएको गुनासो गरेपछि भौतिक पूर्वाधार मन्त्रालयका सचिवलाई फोन गरेर ध्यानाकर्षण गराएको र अब सडक बन्नेतिर अघि बढेको बताउनुभयो। 

कार्यक्रमका अन्य वक्ताले सिन्धुपाल्चोकको सुकुटेलाई पर्यटकीय क्षेत्र स्थापित गर्न अध्यक्ष प्रचण्डले ऐतिहासिक भूमिका निर्वाह गरेको भन्दै खुसी व्यक्त गरेका थिए।