• १ माघ २०८१, मङ्गलबार

नेपाल–भारत वाणिज्य सचिवस्तरीय बैठक : हट्यो भारवहन सीमा

blog

सहमतिपत्र आदानप्रदान गर्नुहुँदै उद्योग, वाणिज्य सचिव गोविन्दबहादुर कार्की र भारतीय समकक्षी सुनिल बर्थवाल । तस्बिर : उद्योग वाणिज्य तथा अपूर्ति मन्त्रालय

काठमाडौँ, माघ १ गते । काँकडभिट्टा–फूलबारी–बङ्गलाबन्ध हुँदै आवतजावत गर्ने नेपाली मालवाहक सवारीसाधनमा लगाइएको भारवहन सीमा हटाइएको छ । यसअघि उक्त मार्गमा मालवाहक सवारी अनुसार १८ टन र २४ टनको भारवहन सीमा लगाइएकोमा त्यसलाई हटाउन भारत सहमत भएको छ । 

शुक्रबार र शनिबार काठमाडौँमा सम्पन्न नेपाल–भारत वाणिज्य सचिवस्तरीय अन्तरसरकारी समितिको बैठकमा भारवहन सीमा हटाउन भारतीय पक्ष सहमत भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता बाबुराम अधिकारीले जानकारी दिनुभयो ।

“उक्त मार्गमा अब नेपाली मालवाहक सवारीलाई भारतीय मालवाहक सवारी सरह आवतजावत गर्न दिन बैठकमा भारतीय पक्षले सहमति जनाएको छ,” उहाँले भन्नुभयो । बैठकले नेपाल र भारतबिचको व्यापार सन्धि बृहत् रूपमा पुनरवलोकनका लागि सहमति जुटाएको प्रवक्ता अधिकारीले जानकारी दिनुभयो । “यस विषयमा छिट्टै बैठक आह्वान गर्ने र दुई देशबिचका पछिल्ला व्यापार समस्या समाधान गर्ने विषयमा दुवै पक्ष सहमत भएका छन्,” उहाँले भन्नुभयो । नेपाल–भारत पारवहन सन्धि नवीकरण तथा रेल सेवा सम्झौताको संशोधनमा पनि दुवै पक्ष सहमत भएको उहाँले बताउनुभयो । मन्त्रालयका अनुसार बैठकमा कोलकाता विमानस्थल प्रयोग गरेर नेपाललाई तेस्रो मुलुकसम्म व्यापार गर्न दिन भारत सहमत भएको छ । भारतले उक्त विमानस्थलबाट नेपाललाई तेस्रो मुलुकसम्म आयात निर्यात गर्न पाउने विषयसँग सम्बन्धित ‘लेटर अफ एक्सचेन्ज’ लाई छिटो टुङ्ग्याउन सहमत भएको हो । 

भारतले तेस्रो मुलुकसँगको व्यापारका लागि भारतको उडिसामा रहेको धाम्रा र गुजरातमा रहेको मुन्द्रा बन्दरगाह प्रयोग गर्न दिने विषयसँग सम्बन्धित प्रक्रियालाई पनि टुङ्ग्याउन सहमति पनि जनाएको छ । त्यस्तै तोकिएको मार्गमा समस्या उत्पन्न हुँदा सहज रूपमा पारवहन मार्ग प्रयोग गर्न पाउने विषयसँग सम्बन्धित लेटर अफ एक्सचेन्जलाई पनि तत्काल टुङ्ग्याउन सहमति बनेको छ । 

नेपालबाट निर्यात हुने जुत्ता, प्लाइउड, यार्न, सेनेटरी प्याड, सिमेन्ट, जस्तापाता र स्टिलजन्य वस्तुको सहज निकासीका लागि प्राथमिकताका आधारमा बिआइएस प्रमाणपत्र जारी गर्ने र नवीकरण गर्ने प्रक्रियालाई तीव्रता दिन पनि भारतीय पक्ष सहमत भएको छ । त्यस्तै नेपाल र भारतबिचको पारवहन सन्धि संशोधन गरी विराटनगर तथा भैरहवाबाट रेलमार्फत सबै किसिमका कार्गो ढुवानी गर्न पाउने व्यवस्थाका लागि नेपालले पठाएको लेटर अफ एक्सचेन्ज छिटो टुङ्ग्याउने विषयमा पनि बैठकमा सहमति जुटेको छ । 

तेस्रो मुलुकबाट आयातका क्रममा रेलमा लागु भइरहेको इलेक्ट्रोनिक कार्गो ट्र्याकिङ सिस्टमलाई सस्तो एवं प्रभावकारी बनाउने विषयमा पनि सहमति जुटेको छ । सडकमार्गबाट हुने ढुवानीमा समेत उक्त प्रणाली जडान गरी ट्रान्सिपमेन्ट लागु गर्ने र त्यस्तो प्रणालीको सेवाप्रदायकको छनोट पारदर्शी र प्रतिस्पर्धी बनाउन सहमति भएको छ । 

नेपाल–भारत नाकाको नेपालगन्ज एकीकृत जाँचचौकी, काँकडभिट्टास्थित आइसिडी र निर्माण हुने क्रममा रहेको दोधारा–चाँदनी एकीकृत जाँचचौकीसम्म रेल सेवा विस्तार गर्न बैठकका क्रममा नेपालले गरेको अनुरोधमा भारतले आवश्यक सर्वेक्षण गर्ने प्रतिबद्धता जनाएको छ । बैठकमा भन्सारसम्बन्धी २१ औँ महानिर्देशकस्तरीय बैठक आगामी फेबु्रअरीमा बस्न दुवै पक्ष सहमत भएको मन्त्रालयले जनाएको छ । त्यस्तै भारतको प्लान्ट क्वारेन्टाइन आदेश सूचीमा नेपालका थप फलफूल तरकारी र जडीबुटी समावेश गरिदिन नेपाली पक्षले गरेको अनुरोधमा भारतीय पक्ष सकारात्मक देखिएको छ । त्यस्तै अन्तरसरकारी समितिको आगामी बैठक भारतमा गर्ने सहमति पनि बैठकले जुटाएको छ । बैठकमा सहमति जुटेका विषयको माइन्युट नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्ने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गोविन्दबहादुर कार्की र भारतीय प्रतिनिधिमण्डलको नेतृत्व गर्ने वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव सुनील बर्थवालले हस्ताक्षरसहित आदानप्रदान गर्नुभएको थियो ।