• २७ पुस २०८१, शनिबार

लक्ष्मीनियाँ गाउँपालिकामा हुलाक सेवा सुचारु

blog

हुलाक कार्यालयको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष भोगेन्द्र मिश्र । तस्बिर : विजयकुमार साह

विजयकुमार साह
ढल्केबर, पुस २७ गते ।
नेपाल सरकारको “एक पालिका, एक हुलाक’’ अवधारणालाई कार्यान्वयन गर्दै धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–७, लक्ष्मीनियाँ बजारमा हुलाक कार्यालयको उद्घाटन भएको छ ।

उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष भोगेन्द्र मिश्रले हुलाक कार्यालयले सेवा सुचारु गर्दा गाउँपालिकाका जनताले सुलभ र प्रभावकारी हुलाक सेवा प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो । सरकारी सेवाहरू गाउँगाउँसम्म पुर्‍याउन सरकारको यस प्रयासलाई प्रशंसा गर्दै हुलाक कार्यालयले डिजिटल युगमा पनि महत्त्व राख्ने बताउनुभयो ।

कार्यक्रममा हुलाक निर्देशनालय जनकपुरका निमित्त हुलाक निर्देशक लाल झाले हुलाक सेवाको ऐतिहासिक महत्त्व र ग्रामीण क्षेत्रमा यसको पहुँचका फाइदाहरूबारे जानकारी गराउँदै यस कार्यालयबाट स्थानीय तहमा सरकारी तथा व्यक्तिगत पत्राचार र अन्य सन्देश सेवा सहज रूपमा सञ्चालन गरिने उल्लेख गर्नुभयो ।

हुलाक कार्यालय सुचारु भएपछि पत्राचार, पार्सल सेवा, सरकारी सूचना आदानप्रदान लगायतका सुविधा प्रदान गर्नेछ । यो सेवा ग्रामीण क्षेत्रमा सरकारी सेवाहरूको पहुँच विस्तार गर्ने सरकारको महत्त्वपूर्ण कदमका रूपमा लिइएको छ ।