बुढी’ शब्द सुन्नासाथ हामीले सधैँ मिठो मुस्कान, मायालु स्वभाव अनि बलियो सहयात्रीको कल्पना गर्छौं तर कहिलेकाहीँ ती कल्पना ‘थोरै धेरै’ फरक परेर व्यङ्ग्यको मसला बन्न पुग्छन् ।
बुढी अर्थात् श्रीमती, धर्मपत्नी, अर्धाङ्गिनी, जीवनसाथी, प्राणप्यारी अनि अरू के के, थुप्रै नाम उपनाम बोकेकी हुन्छे बुढीले । तरुनी भए पनि बिहेलगत्तै बुढी हुने हाम्रो चलनमा उसले पनि तरुनो लोग्नेलाई बुढो बनाइदिन्छे, समय खर्चिन्न । बुढीबिना जीवनको ‘मजाको मसला’ नै सकिन्छ भन्छन् यिनै बुढाहरू अनि कसैलाई बुढी साँच्चिकै ‘अद्भुत पात्र’ झैँ लाग्छ । केही भने आफ्नोबाहेक अरू सबैको बुढी राम्रो भन्न हिचकिचाउँदैनन् । आफ्नो बुढीमा खोट निकाल्न आतुर रहने यी बुढाहरू अरूको बुढीलाई र्याल काढेर हेर्दा स्वर्गीय आनन्दको अनुभूति हुने कुरा दुई पेग लगाउनासाथ ओकल्न थाल्छन् । यो हुनुको कारण बुढी स्वयम् हुन् भन्ने यी बुढाहरूको एकोहोरो उत्तर सुनिन्छ सधैँ, जसलाई उनीहरू विभिन्न उदाहरण दिई प्रमाणित गर्न पछि पर्दैनन् । उनीहरू थप्छन्, “बुढीहरूको विशिष्ट क्षमता भनेकै आफ्नो बुढोलाई कहिल्यै आराममा बस्न नदिनु हो ।” राति सपनामा आफू कुनै फौजी कमान्डर भएको देखे पनि यथार्थमा सबैको भनाइ एउटै हुन्छ, “यार, फौजी कमान्डर त घरमै रहिछ । अन्तर यत्ति हो, बाहिर शत्रु देखेर गोली हान्न पाइन्छ, यहाँ देख्नै नपाई गोली खानु पर्छ ।”
बुढीहरूका केही ‘जादुई नियम’ पनि हुन्छन् । जस्तै :
हजुरले भनेको गर्छु भनेको सुन्दा बुढाहरूले खुसीले ढुक्क महसुस गर्छन् तर १० मिनेटपछि सोध्छिन्, “अनि मेरो कुरामा किन ध्यान नदिएको ?”
–झगडा गर्दा आफैँ बोल्छन् तर बुढोले बिचमै केही बोले भने म बोल्दै छु, अलि सुनेर बस्न सक्दैनौ ? भनेर झम्टन्छन् ।
–कुनै गल्ती गरेदेखि अन्त्यमा बुढोले माफी माग्नै पर्छ । यो सार्वभौम नियम हो । बिहेअगाडि बुढी छान्ने परम्परामा अल्झेका बुढाहरू बिहे भएको दुई महिनामा नै बुढीमा कमी भेट्न थाल्छन् । कुरा कहाँ बिग्रिन्छ, कसैलाई केही पत्तो हुँदैन । सबै आफैँ ठिक भन्ने मानसिकतामा रुमलिएको हाम्रो समाज बुढी छान्ने प्रक्रियामा जति समय बिताए पनि कहिले बुढा ठिक त कहिले बुढी ठिक भन्दै चियोचर्चो गर्दैमा व्यस्त रहन्छ । आखिर बुढी नै किन छान्नु पर्यो त ? प्रश्न जटिल छ अनि कस्तोलाई छान्ने, त्यो पनि जटिल छ । आउनुहोस् केहीबेर यसैमा चर्चा गरौँ ।
‘बुढी’ छनोट
संसारका मान्छेले बुढीको छनोट गर्ने ढङ्ग कति फरक होला तर हामीकहाँ यो विषय भने परम्परा, मजाक र ‘छिमेकीले के भन्छ’ को त्रिकोणमा अड्किएको छ । मान्छेहरू प्रायः ‘बुढी’ छनोटको कुरामा अलि गम्भीर हुन्छन् तर यहाँ भने यो विषयले उही पुरानो ‘धुलो पुछ्ने मोजा’ भन्दा बढी महìव पाउँदैन । ‘बुढी’ बन्ने र बनाउने प्रक्रियामा मान्छेका सोचाइ यति विविध छन् कि त्यसलाई समेट्न खोज्दा हाँसो रोक्न सकिँदैन । आउनूस्, यो बुढी छनोटको विषयलाई हाँसोको रङ्गीन चस्माबाट हेर्ने प्रयास गरौँ ।
‘राम्री बुढी’
यो वर्गका युवा आफूलाई ‘प्रिन्स चार्मिङ’ ठान्छन् । आफ्नै अनुहार ऐनामा हेर्दा जोकर जस्तो लागे पनि बुढी चाहिँ हिरोइन चाहिन्छ रे ! यसो गर्दा साथीहरूको गजबको सुझाव आइलाग्छन्, “भाइ, यस्तै सोच्ने हो भने अन्ततः तिमीलाई राम्री त के, आइमाई पाउन पनि
गाह्रो !” यस्ता मान्छेले बुढीलाई ‘फेसबुक प्रोफाइल फोटो’ को सौन्दर्यले मात्र जाँच गर्छन् तर ‘घरको चुलोचौको कसरी हेर्छे’ भन्ने कुरामा पटक्कै सोच्दैनन् । राम्री बुढी भनेको त्यस्तो चिज हो, जुन संसारका अधिकांश पुरुषको सपना मात्रै हो । सपना र यथार्थमा आकाश पातालको फरक छ । राम्री बुढी पाउने धुनमा धेरैको हालत साह्रै खराब हुन्छ । राम्री केटीसँग बिहे हुनु भनेको चिट्ठा परे झैँ हो भन्छन् सबै तर समस्या कहाँबाट सुरु हुन्छ भने राम्री बुढीलाई राम्री बनाएर राखिराख्न लाग्ने प्रयास अनि खल्तीको अवस्था । राम्री हुनु भनेको ‘अलिकति बढी ध्यान’ आवश्यक पर्नु रहेछ । बिहानै उठेर शृङ्गार कक्षमा पस्नु । ‘चिया बनाएर ल्याऊ’ भन्दा ‘पहिला आँखामा मस्कारा लाउनु पर्छ नि’ भन्ने जवाफ आउनु । भान्सामा अन्नको कन्टेनर खाली हुँदै गर्दा पनि बुढीको प्राथमिकता आइलाइनरलाई सही राख्नु । अनि अरू थुप्रै, जुन कुराको छेउटुप्पो बुढाले बुझ्दै बुझ्दैनन् ।
राम्री बुढीको प्रशंसा गर्ने टोली नै तयार हुनु पनि समस्या नै हो, जसले बुढी र बुढोको जोडी कहिले मिलेको देख्दैनन् । जोडी मिलाउन खोज्दा खल्ती रित्तिएपछि यी बुढा राम्री बुढी हुनु पनि अभिशाप हो भन्दै हिँड्न थालेका भेटिन्छन् । यिनीहरू भन्ने गर्छन्, “राम्री बुढी पाउनु भनेको बाइकमा पेट्रोलबिना रेसिङ गर्नु सरह हो । गाडी राम्रो लाग्छ तर चलाउँदा कहिल्यै सहज हुँदैन ।”
‘धनी बुढी’
बुढी धनी छिन् । चुलोचौकोदेखि फुर्सद पाएर फेसबुकमा ‘फिटनेस टिप्स’ पोस्ट गर्छिन् । डाक्टरले फलफूल खानू भन्छन्, उनी मलेसियाबाट आयात गरिएको ड्र्यागन फ्रुट अर्डर गर्छिन् । बिहान पार्कमा कुद्दा
‘ब्रान्ड न्यु’ जुत्ता लगाएर स्टोरी अपलोड नगर्दासम्म एक्सरसाइज अधुरो मान्छिन् । उनलाई आइफोनको लेटेस्ट डिजाइन चाहिन्छ । उनी कतै हिँडेर जाँदिनन्, सधैँ कार चाहिन्छ । सपिङ रेगुलर गर्नु उनको आदत हो । यस्तो धनी बुढीको चाहना राख्ने सोचले भने ‘लभ’ भन्ने कुरा तातो पकवान जस्तै बनाउँछ । यिनका लागि बुढीको सुन्दरता उसको बैङ्क ब्यालेन्समा हुन्छ । भन्छन्, “बुढी राम्री नभए पनि हुन्छ, पैसाले राम्री बनाइन्छ ।” यिनीहरू आफ्नो जीवन ‘गाडी, बङ्गला र घुमघाम’ मा बिताउन चाहन्छन् । यस्ता सोच राख्नेले बुढीलाई अटोमेटिक पैसा छाप्ने मेसिनभन्दा बढी नदेख्लान् जस्तो लाग्छ ।
‘पढेलेखेकी बुढी’
हाम्रो त शिक्षित परिवार हो भन्ने लाइन सुनाउँदै यिनीहरू बुढीको गुणलाई ‘डिग्री’ बाट मापन गर्छन् । यिनीहरूले बुढीले कस्तो व्यवहार गर्छिन् भनेर हेर्ने त परको कुरा, बुढीको ‘एमबिए’ वा ‘पिएचडी’ हेरेर ठेगाना लगाउँछन् । घरमा पढेलेखेको बुढी हुनु भनेको एउटै छतमा दुई वटा बुद्धिजीवीबिचको शीतयुद्ध पनि हो । बुढीलाई थाहा छ कि ऊ केवल बुढी मात्र होइन, हरेक विषयमा ‘सिनियर अफिसर’ हो ।
राति आफैँले कपडा धोएर सुकाउँदा पनि उनी भन्छिन्, “तिमीले यो राम्रो गरेको छैन, मैले एचआरमा थेसिस गर्दा यस्ता ‘इफिसियन्सी मेथड्स’ सिकेको थिएँ ।” काम गर्न खोज्दा पनि ज्ञानको सुनामी आउन थाल्छ । खानामा नुन अलि कम भयो भने भन्छिन्, “तिमीलाई थाहा छ, ‘सस्टेनेबल फुड प्रिपेरेसन’ को सिद्धान्तले यस्तो भन्दैन ।” अनि फेसबुकमा पोस्ट गरिदिन्छिन्, “मेरो श्रीमान्ले आज ‘हेल्दी डाइट’ अपनाउनुभएको छ ।” बुढालाई फेसबुककै ‘गिनी पिग’ जस्तो लाग्छ ।
घरको बजेटबारे कुरा गर्न खोज्दा उनी एमबिएका नोट्स झिक्न थाल्छिन् अनि भन्छिन्, “कैफियतमा ‘डेबिट’ को यो ट्रान्जेक्सन ठिक छैन ।” बुढा केवल ‘डाइरेक्ट डेबिट’ मात्रै जस्तो हुन पुग्छ ।
‘विदेशी बुढी’
यिनीहरूको सोच अनुसार बुढी जर्मनी, अस्ट्रेलिया वा अमेरिका जाने भिसा जस्तो हुनु पर्छ । यस्ता बुढाहरू ‘बुढीको माया’ कम,
‘प्रायोजनमा जाने गेट’ धेरै खोज्छन् । भन्छन्, “उनीलाई माया गर्दै गरूँला; पहिला वर्क पर्मिट त निकालौँ ।” यो सोचले प्रेमलाई पासपोर्ट जस्तो बनाउँछ । हरेक गाउँका चिया पसलदेखि सहरी क्याफेसम्म ‘विदेशी बुढी’ को गफ हिजोआज प्रमुख विषय हो । बुढाहरूको हुलमा चल्ने गफ यस्ता हुन्छन्, “मेरो पनि विदेशी बुढी ल्याउने प्लान छ, जिन्दगी आफैँ सुन्दर भइहाल्छ । अनि विदेशी बिहे त फेसन नै भइसक्यो । अङ्ग्रेजी बोल्ने बुढी पाएपछि आफ्नै इज्जत बढ्छ !”
यो ‘विदेशी बुढी’ को मोहलाई के भन्ने ? फुच्चेहरूले त कतै फेसबुक र इन्स्टाग्राममा गोरो स्किन भएका केटीहरूलाई एड गर्दै ‘हेलो’ पठाउन थालेका छन् । कत्तिको अङ्ग्रेजी आउँछ कुन्नि तर ‘हाय’ भनेर म्यासेज पठाउनमा त पूरा आत्मविश्वास ! अनि केटा साथीले खुब साथ दिन्छन्, “भाइ, यो सही केटी हो । अमेरिकन हो ।”
तर के यो ‘विदेशी बुढी’ लाई ल्याउनु साँच्चिकै स्वर्ग जस्तो जीवन हो त ? अचम्म ! हाम्रो छोरो जो बिहान उठेर आमाको हातको चिया नखाई बस्न सक्दैन, ऊ त्यो विदेशी दुलहीको ‘ब्ल्याक कफी’ खाएर सन्तोष पाउँछ त ? सबैभन्दा रमाइलो कुरा त बुढी मात्र होइन, विदेशी बुहारीले परिवारलाई के के गर्छिन् भन्ने सपना हाम्रा काकाहरूले पनि देखिसकेका छन् । ‘विदेशी बुहारी आयो भने हाम्रो गाउँकै इज्जत बढ्छ । घरमा इङ्ग्लिस बोलिने हुन्छ । अनि सबैले भन्लान्, “कस्तो आधुनिक परिवार !” यो बुहारीले गाउँको धुलो सहन्छे त ?
त्यसो त विदेशी बिहे गर्न गाह्रो छैन । एजेन्सी र दलाल यही काममा व्यस्त छन् । ‘विदेशी श्रीमतीका लागि केवल ५० लाख !’ भन्दै विज्ञापन पनि छापिएको देख्न पाइन्छ अक्सर दैनिक अखबारमा ।
‘केयरटेकर बुढी’
यो भने ‘१० औँ क्लासको प्रेमपत्र’ जस्तो सुनिन्छ । यिनीहरू बुढीलाई साथीभन्दा बढी केयरटेकर भन्ठान्छन् । यिनको सोच यस्तो हुन्छ, बुढीले मेरो खुट्टामा मोजा लगाइदिनु पर्छ, हरेक दिन मेरो खाजा बनाइदिनु पर्छ अनि बोकिदिनु पर्छ । सोचविपरीत बुढीको व्यवहार चाहिँ फरक देखिन्छ । उनी बिहान सबेरै उठ्छिन्, बुढालाई हप्काएर उठाउँछिन् अनि कामको लिस्ट हातमा थमाउँछिन् ।
केयरटेकर बुढी भनेको घरको एउटा यस्तो महत्वपूर्ण अंश हो, जो तपाईंको स्वतन्त्रताको ‘चाबीको गुच्छा’ बोक्छिन् । उनीहरू नभएको दिन घर बेतालको बन्छ तर उनीहरू भएको दिन तपाईं आफ्नै घरमा ‘किरायादार’ बन्न बाध्य हुनुहुन्छ ।
यस्तो लाग्छ, केयरटेकर बुढी भनेको घरको सरकार हो । हरेक निर्णयको ठेकेदार उनै । “यो किन किन्नुभएको ? यो किन
ल्याउनुभएको ?” सबै प्रश्नको उत्तर दिनु पर्छ । रमाइलो कुरा के छ भने निर्णय बुढाहरू लिन्छन्, कार्य उनीहरू गराउँछन् अनि अन्त्यमा भन्छन्, “तपाईं केही गर्नु हुँदैन, सबै म गर्छु ।”
केयरटेकर बुढीको कथा यत्तिकै चलिरहनेछ, जहाँ मालिक बुढा हुन्छन् तर शासन सधैँ बुढीकै ।
अब तपाईं कस्तो बुढी छान्नुहुन्छ, त्यो तपाईंकै जिम्मा !