रवीन्द्र उप्रेती
बर्दीबास, पुस २६ गते । मधेश प्रदेशमा यो वर्ष धान उत्पादनमा वृद्धि भएको छ । आर्थिक वर्ष ०८१-८२ मा धान खेतको क्षेत्रफल घटे पनि गत आवको तुलनामा उत्पादन भने १० प्रतिशतभन्दा बढी भएको मधेश प्रदेश कृषि निर्देशनालयको तथ्याङ्क छ ।
निर्देशनालयका अनुसार यो आर्थिक वर्षमा प्रदेशभर चौध लाख ८० हजार ८३० मेट्रिक टन धान उत्पादन भएको छ । यो गत आव ०८०-८१ को तुलनामा १०.७० प्रतिशतले बढी हो । गत वर्ष मधेश प्रदेशमा तेहृ लाख ३७ हजार ६७२ मेट्रिक टन धान उत्पादन भएको थियो ।
उत्पादन बढे पनि धान खेतको क्षेत्रफल भने घटेको छ । निर्देशनालयका बाली संरक्षण अधिकृत सुदीप चौधरीका अनुसार गत आवको तुलनामा यो वर्ष धान खेतको क्षेत्रफल ९ हजार ६७ हेक्टर कम भएको छ । यो क्षेत्रफल गत वर्षको तुलनामा २.३७ प्रतिशतले कम हो । गत वर्ष मधेश प्रदेशमा तीन लाख ८३ हजार १८३ हेक्टर क्षेत्रफलमा धानखेती गरिएको थियो । उत्पादन वृद्धिसँगै धानको उत्पादकत्व पनि शून्य दशमलव ४७ प्रतिसतले बढेको चौधरीले बताउनुभयो ।
गत वर्ष मधेशमा धानको प्रतिहेक्टर उत्पादकत्व ३ दशमलव ४९ मेट्रिक टन थियो । यो वर्ष भने बढेर ३ दशमलव ९६ प्रतिसत पुगेको उहाँले बताउनुभयो । बाली संरक्षण अधिकृत चौधरीका अनुसार किसानहरु तरकारी र नगदे बालीतर्फ आकर्षित भएकाले धान खेतको क्षेत्रफल घटेको हो । तथापि पर्याप्त वर्षा, उन्नत प्रजातिका बिउ, समयमै मल तथा कृषि विद्युतीकरण र सिचाई बोरिङका कारण धान उत्पादन बढेको उहाँको भनाइ छ ।
चालु आवमा सबैभन्दा बढी धान सप्तरी जिल्लामा उत्पादन भएको छ । निर्देशनालयका अनुसार सप्तरीमा यो वर्ष सत्तरी हजार १०० हेक्टर क्षेत्रफलमा दुई लाख ४० हजार ८६० मेटन धान उत्पादन भएको हो ।
त्यस्तै महोत्तरीमा पनि धान उत्पादनमा वृद्धि भएको छ । महोत्तरीमा यो वर्ष बयालीस हजार ५०० हेक्टरमा धान खेती भएकोमा एक लाख ५९ हजार ८०० मेटन उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । यो उत्पादन गत वर्षको तुलनामा सैंतीस हजार १०० मेट्रिक टनले बढी हो ।
ज्ञान केन्द्र प्रमुख मनीष पालका अनुसार गत वर्ष महोत्तरीमा उन्चालीस हजार ८७० हेक्टरमा क्षत्रेफलमा धान खेती हुदा उत्पादन भने १ लाख २२ हजार ७०० मेटन उत्पादन भएको थियो ।
महोत्तरीमा धान उत्पादन बढेपनि बासमती, कमोद लगायतका मसिनो धानको उत्पादन, क्षेत्रफल र उत्पादकत्वमा हृास आएको छ । यस वर्ष महोत्तरीमा चार हजार २५० हेक्टर क्षेत्रफलमा मात्र मसिनो धान लगाइएको थियो । उत्पादन भने दश हजार ६२५ मेट्रिक टनमा सीमित भएको उहाँले जनाउनुभयो ।
ज्ञान केन्द्र प्रमुख पालका अनुसार महोत्तरीमा मोटा धानको उत्पादकत्व प्रति हेक्टर ३ दशमलल ७६ मेट्रिक टन भए पनि उत्तिकै क्षेत्रफलमा मसिनो धानको उत्पादकत्व २ दशमलव ५ मेट्रिक टन मात्र छ । उत्पादकत्वमा देखिएको हृासले मसिनो धानको खेतीतर्फ किसानको मोहभङ्ग हुँदै गएको ज्ञान केन्द्र प्रमुख पालले बताउनुभयो ।