• २६ पुस २०८१, शुक्रबार

काम लागेको उपदेश (कथा)

blog

आरुषि सापकोटा 

कक्षाः ८, पाठशाला नेपाल फाउन्डेसन 

काठमाडौँ

 “यस पटक त खेती राम्रो भएन । कमाइ पनि खास भएको छैन । भर्खरै चाडपर्वमा त्यत्रो खर्च भयो । कसरी मिलाउने होला ?” मायाका बुवाले चिन्ता मान्दै भने । 

माया बुवा सत्य र आमा निर्मलाकी एक्ली छोरी हुन् । उनका बुवा किसान हुन् र आमा गृहिणी हुन् । उनको घरको आर्थिक अवस्था त्यति राम्रो छैन । आमा र बुवा घरखर्चका बारेमा कुरा गर्दैछन् । “जे भए पनि मिठो खानु पर्छ राम्रो लगाउनु पर्छ । यस पटकको बाढीले दसैँतिहारमा कतै जान पाइएन । अब मङ्सिरमा माइती पुगेर आउँछु । छोरीलाई पनि लैजान्छु । घुमघाम त गर्नु पर्‍यो नि । कति घरमा मात्र बसिरहने ?” निर्मलाले सत्यसँग भनिन् । 

सत्य भन्छन्, “तर के हाम्रो आर्थिक अवस्थाले अनावश्यक घुम्न जानु वा धेरै खर्च गर्नु राम्रो हो र ? तैपनि केही व्यवस्था गरौँला । मायालाई खाना खुवाएर सुताइदेऊ ।” 

बिहानपख सत्य मालिककहाँ ऋण माग्न जान्छन् । “मालिक १० हजार रुपियाँ दिनुस् न, अर्काे महिना फिर्ता दिने छु,” सत्यले भने ।

“अस्ति भर्खर तलब दिएको हैन ?” मालिकले झर्को मान्दै भने । “भर्खरै सबै चाडपर्व सकिएको छ । दसैँमा नै हो अलि मिठो खाने । नयाँ लुगा पनि किन्नै पर्‍यो । तिहारमा पनि रमाइलो गर्नै पर्‍यो । त्यसैले तलबले मात्र कसरी पुग्थ्यो र ?” सत्यले भने ।

मालिकले जवाफ दिए, “महिना भर्खर सुरु भएको छ । मसँग पनि कहाँ धेरै पैसा छ र ? चार हजार रुपियाँले काम चल्ने भए लैजाउ ।”

“हुन्छ मालिक, त्यति भए पनि दिनुस्” सत्यले अनुरोध गर्दै रकम लिएर पनि गए । घर पुगेपछि निर्मलाले रित्तो सन्दुस देखाउँदै भनिन्, “ल हेर्नुस्, एक रुपियाँ पनि छैन । मलाई माइती जान पनि पैसा चाहियो । यति रुपियाँले घर कसरी चल्छ ? अरू साहुहरूकहाँ मागेर वा बैङ्कबाट भए पनि ल्याउनूस् ।” 

निर्मलाको कुरा सुनेर सत्यलाई रिस पनि उठ्छ । आपत् परेका बेलामा चाहिएला भनेर सत्यले बैङ्कमा थोरै रकम जम्मा गरेका थिए । जथाभाबी खर्च गर्नु पर्छ भन्ने कुरामा सत्यले असहमति व्यक्त गर्छन् । निर्मलाले झर्किंदै भन्छिन्, “कस्तो कुरा गरेको ? पैसा त खर्च गर्नका लागि त हो नि । यस्ता नाथे पैसा फेरि पनि कमाइन्छ ।” निर्मलालाई सम्झाउन सकेनन् । सत्यको कुरा निर्मलालाई उपदेश जस्तो लाग्छ । उनी उपदेश सुन्न चाहँदिनन् । सत्य बैङ्कमा गएर पाँच हजार रुपियाँ निकाल्छन् । अब उनको खातामा जम्मा तीन हजार रुपियाँ मात्र बाँकी छ । निर्मलाले बजारबाट बासमती चामल, खसीको मासु आदि ल्याउँछिन् ।    

भोलिपल्ट माया खुसी हुँदै विद्यालय जान्छिन् । निर्मला घरको काममा व्यस्त हुन्छिन् । सत्य पनि खेततर्फ लाग्छन् । दिउँसो २ बजे निर्मलालाई मायाको विद्यालयबाट खबर आउँछ । माया भर्‍याङबाट लडेकी हुन्छिन् । निर्मला हतारिएर सत्यकहाँ जान्छिन् । दुवै जना अत्तालिँदै मायाको विद्यालयमा जान्छन् र त्यहाँ छोरीलाई बेहोस अवस्थामा देख्छन् ।

मायालाई अस्पताल लगिन्छ । टाउकोमा चोटपटक त लागेको छैन भनेर एमआरआई गर्नुपर्ने भयो । उपचारमा १५ हजार रुपियाँ खर्च हुने भयो । सत्य अपुग रकमका लागि बैङ्क पुग्छन् । दुई हजार रुपियाँ झिक्छन् । केही उपाय नलागेपछि मालिककहाँ जान्छ पैसा माग्न । मालिक भन्छन्, “हिजो मात्रै चार हजार रुपियाँ दिएको होइन ? अब त अर्को महिनामा नै पैसा पाउँछौ ।”

कसैले पनि सहयोग गर्न मानेनन् । सबैले दसैँतिहारमा खर्च गरेकाले आफूहरूसँग रकम नभएको जवाफ दिए । अचानक निर्मला दौडिँदै घर जान्छिन् । आफूसँग भएका सबै गहना बेच्छिन् । बेचेर पाएको रकम लिएर अस्पताल पुग्छिन् । अस्पतालको बिल तिरेर छोरीलाई घर लिएर जान्छन् । सत्यले भन्छन्, “कल्पना नै नगरिएको समस्या आई पर्छ र त्योबेला खर्च गर्नु पर्छ भनेर पैसा जम्मा गर, फजुल खर्च नगर भनेर कराइरहन्छु । तिमीहरूलाई यो कुरा उपदेश दिएको जस्तो लाग्छ । आज कस्तो समस्या पर्‍यो ? मैले भनेको मानेको भए गहना बेच्नुपर्ने अवस्था नै आउँदैन थियो ।” 

मुना