‘उद्देश्य के लिनु ? उडी छुनु चन्द्र एक’ महाकवि लक्ष्मीप्रसाद देवकोटाले मानव पाइला चन्द्रमामा नपर्नुअघि नै प्रश्नोत्तरी कवितामा यो उद्गार लेख्नुभएको थियो । पृथ्वीभन्दा हजारौँ कोस टाढाको चन्द्रमामा पुग्न सहज त थिएन तर उहाँले त्यहाँ पुग्नका लागि मानिसलाई आशा जगाइदिनुभएको थियो ।
नेपालीका लागि कविताले देखाएको सपना शब्दमै सीमित रह्यो । तत्कालीन सोभियत सङ्घ (रुस) भने साँच्चै चन्द्रमामा पुग्न सफल भयो । रुसको लुना–२ यान सन् १९५९ सेप्टेम्बर १३ तारिखका दिन पहिलो पटक चन्द्रमामा पुगेको थियो । त्यसपछि सन् १९६९ मा अमेरिकाले अपोलो यान चन्द्रमामा पठाएको थियो । चन्द्रमामा पाइला टेक्ने नील आर्मस्ट्रङसहित १० जना अमेरिकी थिए । अमेरिकाबाहेक अन्य देशले चन्द्रमामा मानिस पठाउन सकेको छैन ।
रुसको लुना, अमेरिकाको अपोलो, चीनको चाङ्ग–फोर र भारतको चन्द्रयान रकेट चन्द्रमामा सफल अवतरण भइसकेका छन् । हालसम्म चन्द्रमामा १२ वटा यान अवतरण भएका छन् । तीमध्ये अमेरिकाको आठ, रुसको दुई, भारतको एक र चीनको एक गरी १२ वटा छन् ।
रकेट मानवनिर्मित पुच्छ«ेतारा अथवा एक किसिमको यान हो । पृथ्वीभन्दा बाहिरी भू–भागको खोज तथा अनुसन्धानमा प्रयोग गरिन्छ । प्रज्वलनशील तथा विस्फोटक वस्तु प्रयोग गरी त्यसैको शक्तिले हुत्याएर एक स्थानबाट अर्को स्थानमा लैजाने भएकाले यसलाई क्षेप्यास्त्र भन्ने गरिन्छ ।
सुरु सुरुमा रकेटलाई अन्तरिक्ष वा आकाशको अध्ययनमा प्रयोग गरिएको थियो । यो यान मानवसहित र मानवरहित हुन्छ । यसको गति उच्चतम हुने भएकाले आकाशमा उड्दा अगाडिको भाग अलि लामो र पछाडिको भागमा आगोको ज्वाला देखिन्छ ।
पृथ्वी, चन्द्रमा र मङ्गलग्रहको अध्ययन तथा अनुसन्धानमा यिनै यानको प्रयोग भइरहेको छ । यतिबेला अमेरिका, रुस, चीन, भारत, जापान, इजरायल, युरोपका विभिन्न देशले चन्द्रमामा रकेट पठाउन प्रतिस्पर्धा गरिरहेका छन् ।
रकेटको इतिहास
१० औँ शताब्दीमा चीनमा रकेट बनाएर आतसबाजी गरेको इतिहास पाइन्छ । १८ औँ शताब्दीमा भारतमा हिडर अली नाम गरेका व्यक्तिले लडाइँमा प्रयोग गर्न रकेट बनाएका थिए । त्यो विस्फोटक वस्तु भरिएको क्षेप्यास्त्र थियो ।
सन् १९२६ मा अमेरिकी नागरिक रोबर्ट गोडार्डले ३.५ मिटर लामो आधुनिक रकेट बनाएर परीक्षण गरेका थिए तर रकेट उडाउन प्रयोग हुने मिसाइल (विस्फोटक) पदार्थ बेर्नहरभान ब्राउनले आविष्कार गरेका थिए ।
दोस्रो विश्व युद्धमा जर्मनले मानिस मार्न यसको प्रयोग गरेको थियो । युद्ध समाप्तिपछि वैज्ञानिक बेर्नहर भान ब्राउनलाई अमेरिका झिकाई त्यहाँको सरकारले ‘स्पेस प्रोग्राम’ मा सघाउन लगाई अन्तरिक्षमा रकेट प्रक्षेपण गरेको थियो । रकेटलाई पृथ्वीको गुरुत्व क्षेत्रबाट बाहिरिन प्रतिघण्टा ४० हजार किलोमिटरको गतिमा उड्नुपर्ने हुन्छ । यसका लागि मिसाइल आवश्यक हुन्छ । रकेटको क्षमता र उड्ने दूरी अनुसार विस्फोटक पदार्थ प्रयोग गर्नुपर्ने हुन्छ ।
नेपालमा सम्भव छ ?
रकेट निर्माण गरी अन्तरिक्षमा प्रक्षेपण गर्न नेपालका लागि सम्भव छ । महाकवि देवकोटाले भन्नुभए जस्तै उद्देश्य लिनु पर्छ, अनि सम्भव हुन्छ । स्पेस एक्स र ब्लु ओरिजिनलगायतका निजी लगानीका कम्पनीले व्यावसायिक उडानका लागि रकेट बनाउने गरेका छन् ।
नासालगायतका संस्थाले पनि निजी कम्पनीबाट रकेट तथा उपकरण खरिद गरी अन्तरिक्षमा पठाउने गरेका छन् । भारतको इसरो, चीनको एयर स्पेस, न्युजिल्यान्डको रकेट ल्याब, युरोपको इएसए र रुसको रोसकास्मोसले खोज अनुसन्धान तथा अध्ययनका लागि रकेट बनाई अन्तरिक्षमा पठाउने गरेका छन् ।
रकेट निर्माण गर्न एक करोडदेखि छ अर्ब अमेरिकी डलर रकम खर्च हुन्छ । नेपाल सरकारले स्पेसएक्स, जेफ बेजोस, एयरबस, बोइङलगायत विभिन्न कम्पनीसँग रकेट खरिद गरेर प्रक्षेपण गर्न सक्छ तर त्यसका लागि चन्द्रमा पुग्ने सपना र दृढ सकल्प चाहिन्छ ।