• २६ पुस २०८१, शुक्रबार

स्वाइन फिभरबाट ३५ बङ्गुर मरे

blog

कैलालीको कृषकले फर्ममा पालेका बङ्गुर । तस्बिरः अविनाश चौधरी

अविनाश चौधरी

धनगढी, पुस २५ गते । कैलालीमा अफ्रिकन स्वाइन फिभरबाट एक किसानका ३५ बङ्गुर मरेका छन् । घोडाघोडी नगरपालिका –९ का कृषक प्रशु चौधरीले पालेका बङ्गुर अफ्रिकन स्वाइन फिभर लागेर मरेका हुन । 

कृषक चौधरीको फर्ममा रहेका बङ्गुर पुस १४ देखि १९ गतेसम्म मरेको पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीले जानकारी दिएको छ । मरेको बङ्गुरको नमूना परीक्षण गर्दा अफ्रिकन स्वाइन फिभर पुष्टि भएको प्रयोशालाका प्रमुख डा. नरेशप्रसाद जोशीले बताउनुभयो । 

उहाँले थारु समुदायको माघ पर्व आइरहेको बेला बङ्गुरमा अफ्रिकन स्वाइन फिभर देखिनु चिन्ताको विषय भएको बताउनुभयो । चाडपर्वमा बङ्गुर मारेर खाने चलन रहेकाले रोग फैलिन नदिन बढी सतर्कता अपनाउन आवश्यक रहेको उहाँको भनाइ छ । 

कैलालीसहित सुदूरपश्चिमका चार जिल्लामा दुई वर्षअघि अफ्रिकन स्वाइन फिभर फैलिँदा ४१५ बङ्गुर मरेका थिए । बङ्गुरबाट सो रोग शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको बँदेलमा सरेको थियो । निकुञ्जमा मरेको बँदेलको नमूना परीक्षण गर्दा अफ्रिकन स्वाइन फिभर पुष्टि भएको थियो ।  

सुङ्गुर र बँदेलमा मात्र लाग्ने यो रोग अझ फैलिने खतरा रहेकाले रोकथामका उपाय अपनाउन आवश्यक रहेको डा. जोशीको भनाइ छ । उहाँले यो रोगको कुनै औषधी र  खोप नबनेकाले सुरक्षाका लागि जैविक उपाय अपनाउनु पर्ने बताउनुभयो । 

अफ्रिकन स्वाइन फिभर फैलिन नदिन मरेका बङ्गुरलाई सावधानीपूर्वक जमिनमा गाड्न, एक ठाउँबाट अर्को ठाउँमा बङ्गुरको पाठा तत्काल नलैजान, फर्ममा स्प्रे गरेर निसङ्क्रमण बनाउन आग्रह गरिएको छ । यसैगरी, रोगबाट मरेका बङ्गुर काटेर नखान पनि डा. जोशीको सुझाव छ । यो रोग मान्छेमा सर्दैन । तर, मरेका बङ्गुर खाँदा रोग घर घरका बङ्गुर, सुङ्गुरमा पुग्ने खतरा रहने गरेको उहाँको भनाइ छ । 

अफ्रिकन स्वाइन फिभर लागेमा बङ्गुरमा उच्च ज्वरो आउने लगायतको लक्षण देखा पर्ने र एक दुई दिनभित्र मर्ने गरेको जनाइएको छ । अफ्रिकन स्वाइन फिभर फैलिएमा एकै पटक धेरै बङ्गुर मर्ने गरेकाले सतर्कता अपनाउन प्रयोगशालाले बङ्गुर पालक कृषकलाई आग्रह गरेको छ ।