• २५ पुस २०८१, बिहिबार

पत्रकारितामा ‘कपीपेष्ट’ प्रवृत्ति मौलायो : मन्त्री लेखी

blog

मधेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखी । तस्बिर : जनार्जन खत्री

जनार्जन खत्री

सर्लाही, पुस २५ गते । मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले पत्रकारिता क्षेत्रमा एकले अर्काको समाचार तथा समाचारजन्य सामग्री ‘कपीपेष्ट’ गर्ने प्रवृत्ति बढ्दै गएको बताउनुभएको छ । 

आमसञ्चार प्राधिकरण मधेश प्रदेशले बिहीबार सर्लाही सदरमुकाम मलङ्गवामा आयोजना गरेको साइबर सुरक्षा र ए.आइ. सम्बन्धी अभिमुखीकरण कार्यक्रमलाई सम्बाेधन गर्दै मन्त्री लेखीले देशैभर पत्रकारिता क्षेत्रमा कपीपेष्ट गर्ने परिपाटी बढेको बताउनुभएको हो । “अहिले सञ्चारकर्मी साथीहरु पनि अलिअलि अल्छी हुनुभाछ, तपाईंहरु चित्त नदुखाउनुहोला भन्दै मन्त्री लेखीले सञ्चारकर्मीसँग भन्नुभयो, “अहिले पत्रकारितामा कपीपेष्ट गर्ने परिपाटी धेरै नै भइरहेको छ ।”

मन्त्री लेखीले राजनीतिक विषयलाई मात्रै समाचार बनाउनुपर्छ भन्ने मान्यता त्याग्न सञ्चारकर्मीसँग आग्रह गर्नुभयो । उहाँले स्थानीय तह, प्रहरी, प्रशासन लगायतका निकायबाट सेवाग्राहीले के–कसरी सेवा पाइरहेका छन् भन्ने विषयको समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्न जोड दिनुभएको छ । 

विभिन्न निकाय र कार्यालयबाट सेवाग्राहीलाई सेवाको सट्टा असुविधा र हैरानी दिने काम भइरहेको भन्दै मन्त्री लेखीले समाजका हरेक विकृति, विसङ्गतिलाई बाहिर ल्याउने गरी कलम चलाउन अनुरोध गर्नुभएको छ । 

प्रदेश सरकारका गृह, सञ्चार तथा कानुन मन्त्री लेखीले प्रदेशभरका सञ्चारकर्मीको प्रोत्साहनका लागि प्रदेश सरकारका तर्फबाट तत्कालै सम्मान तथा प्रोत्साहनको कार्यक्रम ल्याउन लागिएको जानकारी दिनुभयो । 

यस्तै अभिमुखीकरणको उद्घाटन सत्रमा आमसञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्यामसुन्दर यादवले समाचार सामग्री कति पठनीय छन् भन्ने कुराको गम्भीर समीक्षा गर्ने समय आएको बताउनुभयो । उहाँले जीवनको उर्जावान समय सञ्चारकर्ममा खर्च गरेका सञ्चारकर्मीलाई रेडियो, टेलिभिजन, छापामाध्यम, अनलाइनलगायत सञ्चारका सबै क्षेत्रमा सङ्कट पैदा हुँदा निराश बनाइरहेको उल्लेख गर्नुभयो । 

कार्यक्रममा मधेश सरकारका श्रम तथा यातायात मन्त्री कौशलकिशोर राय, मधेश प्रदेशसभा सदस्य जङ्गीलाल रायलगायतको आतिथ्य थियो । मधेश प्रदेशका आठै जिल्लाका सञ्चारकर्मीलाई साइबर सुरक्षा र ए.आइ. का सम्बन्धमा जानकारी दिने उद्देश्यले यस प्रकारको अभिमुखीकरण कार्यक्रम आयोजना गरिरहेको आमसञ्चार प्राधिकरण मधेश प्रदेशले जनाएको छ ।