गोरखापत्र समाचारदाता
ललितपुर, पुस २४ गते । नेपाल कम्युनिस्ट पार्टी नेकपा (एमाले) केन्द्रीय कमिटीको बैठकले राष्ट्रिय, अन्तर्राष्ट्रिय तथा जनसरोकारका महत्त्वपूर्ण विषय समेटिएका १४ बुँदे समसामयिक प्रस्ताव पारित गरेको छ ।
बैठकले राष्ट्रिय हित र स्वाभिमानको रक्षा, लोकतन्त्रको सुदृढीकरण, राजनीतिक स्थायित्वको सुनिश्चितता र ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा परिपूर्ति र समाजवादको लक्ष्य हासिल गर्न पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्ने प्रण गरेको छ ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले बैठकलाई समापन सम्बोधन गर्नुहुँदै केन्द्रीय कमिटीका नेतालाई पार्टीमाथिको अभिभारा पूरा गर्न वैचारिक, राजनीतिक रूपमा सुस्पष्ट भएर पार्टीद्वारा
निर्णीत कार्ययोजना कार्यान्वयन गर्न कार्यक्षेत्रमा गएर काममा जुट्न निर्देशन दिनुभयो । अध्यक्ष ओलीले भन्नुभयो, “नेकपा (एमाले) अनुशासित लोकतान्त्रिक पार्टी हो, हामीलाई समाजवादमा जानु छ, ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउनु छ । पार्टीमा अराजकता र अनुशासनहीनता सह्य हुँदैन ।
अध्यक्ष ओलीले एमालेमाथि जति प्रहार गरे पनि दृढताका साथ दह्रो भएर सत्यको पक्षमा उभिने उल्लेख गर्नुभयो । “हामी विश्व शान्तिको पक्षमा सधैँ उभिन्छौँ । हामीमाथि जति नै प्रहार गरे पनि दृढताका साथ दरो भएर सत्यको पक्षमा हामी उभिन्छौँ । हामीमाथि आन्तरिक र बाह्य चौतर्फी हमला छ तर हामी निरन्तर अगाडि बढी नै रहने छौँ ।”
उहाँले एमालेको महान् कार्यको रिस डाह गर्नेहरू अनेक लाञ्छना लगाएर पार्टीलाई कमजोर बनाउने प्रयास गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हरेक अपराधी कुरा गरेर जनतालाई भ्रममा पारेर एमालेलाई आव्रmमण गर्ने काम भएको छ यी सबै षड्यन्त्र र आव्रmमणका विरुद्ध सबै पार्टी पङ्क्ति एक ढिक्का भएर लड्ने छौँ ।”
राष्ट्रियता, राष्ट्रिय स्वाभिमान, लोकतन्त्र मुलुकको विकास र समृद्धि एमालेको पहिलो प्राथमिकता भएको उहाँले स्पष्ट पार्नुभयो । “देश र जनताको निम्ति जति नै घेराबन्दी गरे पनि जति नै हामीमाथि षड्यन्त्र भए पनि हामी त्यसका विरुद्ध जुध्ने छौँ र जित्ने छौँ ।” उहाँले आफ्नो पार्टीमा गुट नभएको दाबी गर्नुभयो । उहाँले नेता तथा कार्यकर्तालाई आफ्ना विषयवस्तु पार्टीका बैठकमा राख्न आग्रह गर्नुभयो । सडकबाट जनमत बनाउने कुरा गलत भएको उहाँले स्पष्ट पार्नुभयो । “विचारधारात्मक, सङ्गठनात्मक गुट पार्टीमा छैन । विचार, सिद्धान्त, बाटो, नीतिमा हाम्रो कुनै मतभिन्नता छैन,” अध्यक्ष ओलीको भनाइ उद्धृत गर्दै प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भन्नुभयो ।
बैठकमा आफ्ना निम्ति स्वार्थ समूह बनाएर केही लागे पनि पार्टीमा गुट नभएको निष्कर्ष निकालेको छ । बैठकमा ओलीले पूर्वउपाध्यक्ष भीम रावललाई पार्टीबाट निकाल्नुको कारणको जानकारी गराउनुभएको थियो । “भीम रावलमाथिको कारबाहीबारे १० औँ महाधिवेशनपछि प्रस्तुत गरेको भूमिकाबारे फेहरिस्त प्रस्तुत गर्नुभयो । अब उहाँ निष्कासनमा पर्नुभयो । स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनालाई भने पटक पटक पार्टीविरुद्ध बोलेपछि ‘वार्निङ’ स्वरूप निलम्बन गरेको ओलीले बैठकलाई स्पष्ट पार्नुभएको थियो ।
बैठकमा पार्टीका केन्द्रीय सदस्य, पोलिटब्युरो सदस्य र स्थायी कमिटी सदस्य गरी १५३ जनाले राजनीतिक प्रतिवेदन र सङ्गठनात्मक कामको अवस्थामाथि आआफ्नो राय राख्नुभएको थियो ।
बैठकमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने महासचिव शङ्कर पोखरेलले सङ्गठनात्मक कामको सङ्क्षिप्त जानकारी गराउनुभएको थियो । मङ्गलबारको बैठकमा उपमहासचिव प्रदीप ज्ञवालीले समसामयिक प्रस्तावहरू प्रस्तुत गर्नुभएको थियो ।
महासचिव पोखरेलले साङ्गठनिक अवस्थाको सङ्क्षिप्त जानकारी गराउँदै केन्द्रीय कमिटीको सातौँ बैठकयता सङ्गठन निर्माण र परिचालनका सन्दर्भमा महŒवपूर्ण कामहरू भएको, नेकपा स्थापनाको हीरक महोत्सव र राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक भव्य रूपमा सम्पन्न भएको लगायत विषय प्रस्तुत गर्नुभएको थियो ।
बैठकपछि जारी गरिएको विज्ञप्तिमा बैठकले राष्ट्रिय हितको रक्षा, राजनीतिक स्थायित्व, अर्थतन्त्रमा गतिशीलता, सुशासन, विकास र समृद्धिको मुख्य उद्देश्य राखेर नेकपा (एमाले) र नेपाली कांग्रेस सम्मिलित संयुक्त सरकार गठन भएसँगै देशमा राजनीतिक स्थायित्वको आशा जागृत भएको उल्लेख गरेको छ ।नेकपा (एमाले) को नेतृत्वमा मात्रै विकास सम्भव भएको र यही मान्यतालाई मनन गर्दै निर्णायक राष्ट्रिय शक्ति निर्माणको यस अभियानलाई सफल बनाउन पार्टी विभाजनलगायत कारणले पार्टी बाहिर रहनुभएका र स्वतन्त्र ढङ्गले क्रियाशील रहनुभएकालाई नेकपा (एमाले) मा फर्कन बैठकले आह्वान गरेको छ ।