धर्बेन्द्र झा
जनकपुरधाम, पुस २४ गते । मधेश प्रदेशका गृह सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले संघीयता र संविधानको सफल कार्यान्वयनका लागि अति आवश्यक ऐन कानुन निर्माण गर्न ढिलाइ गर्न नहुने बताउनुभएको छ ।
नेपाल पत्रकार महासंघ धनुषाको समन्वय र आमसञ्चार प्राधिकरण मधेश प्रदेशको आयोजनामा बुधबार जनकपुरधाममा भएको साइबर सुरक्षा र एआइसम्बन्धी अभिमुखीकरण कार्यक्रम उहाँले सो कुरा बताउनुभएको हो ।
उहाँले प्रहरी समायोजनसहित संघीयता र संविधानको सफल कार्यान्वयन गर्ने कानुन अझै पनि निर्माण हुन नसकेका कारण प्रदेशले गर्ने धेरैजसो काम प्रभावित भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “जुन पार्टीहरुको अगुवाइमा संविधान बन्यो । संविधानको कार्यान्वयन गर्ने दायित्व पनि ती सबै पार्टीको हो । संघीयतालाई बलियो बनाउने काममा काँगेस, एमाले र माओवादीसहितका दल लाग्नुपर्छ ।”
मन्त्री लेखीले संविधान संशोधनको विषयमा चर्चा भए पनि खासै काम अघि नबढेको भन्दै संविधानमा कुन कुन विषयको संशोधन हुने हो त्यो यकिन हुनुपर्ने बताउनुभयो ।
उहाँले कार्यक्रमको उदघाटनसत्रमा आफू पत्रकार र सञ्चार विकासका लागि प्रतिबद्ध भई पत्रकारको स्वास्थ्य र दुर्घटना विमाको कामकाज अघि बढाएको बताउनुभयो । मन्त्री लेखीले पत्रकारले नकारात्मक कुरालाई बढी प्राथमिकता दिने गरेको भन्दै उहाँले अब नकारात्मकभन्दा सकारात्मक कुरालाई प्राथमिकता दिन पत्रकारलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा प्रदेशसभा सदस्य रामअशिष यादवले अहिलेको भौतिकवादी युगमा विज्ञानले विकास गरिरहेको भन्दै समयअनुसार पत्रकारले पनि आफूलाई परिमार्जित गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले वर्तमान समयमा साइबर सुरक्षा र एआइसम्बन्धी ज्ञान हुनु अति आवश्यक भएको भन्दै एआइको प्रयोग सकारात्मकताका लागि हुनु पर्नेमा जोड दिनुभयो ।
आमसञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्यामसुन्दर यादवको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रदेशसभा सदस्य रत्नेश्वर गोइत यादव, गृह सञ्चार तथा कानुन मन्त्रालय मधेश प्रदेशका सचिव उद्धव रिजाल, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य राजेश कर्ण, मिडिया काउन्सिल मधेश प्रदेशका कार्यवाहक अध्यक्ष कैलाश दास, मुख्यमन्त्रीका प्रेस सल्लाहकार अनिल कर्ण, नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष पुरन साह, उपाध्यक्ष अवधेश कामत, बरिष्ठ पत्रकार अजय झा सहितले धारणा राख्नुभयो ।
धनुषा पत्रकारको सहभागिता रहेको उक्त प्रशिक्षण कार्यक्रममा प्रशिक्षक जिवन भण्डारी र प्रकाश मैनालीले प्रशिक्षण दिनुभएको थियो ।