• २५ पुस २०८१, बिहिबार

खुम्बुमा निरन्तर भूकम्पको परकम्प

blog

सोलुखुम्बु, पुस २४ गते । सोलुखुम्बुको खुम्बु क्षेत्रमा पटक–पटक भूकम्पका परकम्प गएको छ । मङ्गलबार गएको ठूलो भूकम्पपछि खुम्बु क्षेत्रमा साना परकम्प निरन्तर गइरहेका छन् । 

आज बिहान ३ः३० बजे र ५ः३० बजे खुम्बु क्षेत्रको दिङबोचे क्षेत्रमा भूकम्पका परकम्प महसुस गरिएको छ । त्यसपछि बिहान ९ः३० बजे थाम्बुचे क्षेत्रमा र साँझ ५ः३० बजे लुक्ला तथा पैयाँ क्षेत्रमा पनि परकम्पका झट्का अनुभव गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । 

प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले परकम्पका कारण स्थानीय बासिन्दामा त्रास बढेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “खुम्बु क्षेत्र जहाँ मङ्गलबार गएको भूकम्पको केन्द्र तिब्बत्नजिक पर्छ, त्यहाँ धेरै परकम्प गइरहेको छ, जसले गर्दा स्थानीयवासीमा त्रास उत्पन्न गराएको छ । तर सम्भावित सहयोगका लागि हाम्रा प्रहरीहरू स्थानीयवासीसँगै छन् ।”

परकम्पले छिनछिनमा धक्का दिन थालेपछि स्थानीयवासी घरभित्र छिर्नसमेत डराइरहेको स्थानीय पासाङ शेर्पाले बताउनुभयो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मङ्गलबार बिहान ६ बजेर ५० मिनेट जाँदा नेपाल–चीन सीमा क्षेत्रमा पर्ने तिब्बतमा ७ म्याग्निच्युडको ठूलो भूकम्प गएको थियो ।

यस भूकम्पका परकम्प नै खुम्बु क्षेत्रमा महसुस भएको अनुमान गरिएको छ । खुम्बु तिब्बतनजिक पर्ने भएकाले त्यस क्षेत्रमा बढी परकम्पको धक्का महसुस गरिएको हुनसक्ने बताइएको छ । रासस