काठमाडौँ, पुस २२ गते । १७औँ संस्करणको धर्मश्री राष्ट्रिय शारिरिक सुगठन प्रतियोगिता आगामी चैतमा हुने भएको छ ।
आयोजक नेपाल व्यायाम मन्दिरले सोमबार धर्मश्री प्रतियोगितालाई निरन्तरता दिन धर्मश्री शारीरिक सुगठन, पूर्वमेयर पिएलसिंह मेन्स फिजिक्स एक सय ७० सिएम ओभर अन्डर राष्ट्रव्यापी शारीरिक सुगठन प्रतियोगिता तथा वुमेन्स वडिविल्डिङ ओपन र ५० वर्षभन्दा माथिका खुला मास्टर शारीरिक सुगठन प्रतियोगिता गर्न लागेको जानकारी दिएको हो।
प्रतियोगितामा देशभरबाट ६०० जना खेलाडीको सहभागिता रहने व्यायाम मन्दिरका अध्यक्ष नारायण प्रधानले जानकारी दिनुभयो । एक करोड रुपियाँ लगानीमा सञ्चालन हुने प्रतियोगितामा विभिन्न विधाका खेलाडीलाई पुरस्कार राशी मात्र ५२ लाख रुपियाँ राखिएको आयोजकले जनाएको छ ।
प्रतियोगिताका खेलहरू प्रज्ञाभवन कमलादीमा चैत ७, ८ र ९ गते हुनेछ । फाइनलमा धर्मश्री उपाधि विजेताले १२ लाख रुपियाँ पुरस्कार प्राप्त गर्नेछ । यस्तै उपविजेतालाई ६ लाख र तेस्रो हुनेलाई तीन लाख रुपियाँ प्रदान गरिनेछ ।
प्रत्येक विधामा शीर्ष ६ मा रहने खेलाडीलाई आकर्षक नगद पुरस्कार राखिएको छ । शहीद धर्मभक्त माथेमाको स्मृतिमा २०४२ साल देखि सञ्चालन हुँदै आएको धर्मश्री नेपालकै प्रतिष्ठित र कठिन शारीरिक सुगठन प्रतियोगिता हो ।