चरीकोट समाचारदाता
चरीकोट, पुस २२ गते । सडक निर्माणलाई प्राथमिकता दिएको वैतेश्वर गाउँपालिकाको कार्यालयलाई पक्की सडक सञ्जालले जोडेको छ । गाउँपालिकाको केन्द्र जोड्ने नाम्दु–पाँडुडाँडा तीन किलोमिटर पक्की सडक निर्माण भएसँगै गाउँपालिकालाई मुख्य राजमार्गसँग जोडिएको हो ।
लामुसाँघु–जिरी सडकखण्ड अन्तर्गतको नाम्दु बजारबाट गाउँपालिकाको कार्यालयको द्वारसम्म कालोपत्रे तथा ढलान गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । गाउँपालिकाको केन्द्र तोकिएपछि विस्तार सुरु गरिएको सो सडकखण्ड गाउँपालिका ओहोरदोहोर गर्ने मुख्य तथा छोटो मार्ग भएकाले पालिकाले प्राथमिकतामा राखेर निर्माण गरिरहेको वैतेश्वर गाउँपालिकाका अध्यक्ष छवि लामाले बताउनुभयो ।
पालिकाले पछिल्लो तीन वर्षको अवधिमा प्रत्येक वर्ष एक किलोमिटरको दरले कालोपत्रे तथा ढलान गर्न स्रोत जुटाएर ठेक्का तथा उपभोक्ता समितिमार्फत उक्त सडक निर्माण गरिँदै आएको अध्यक्ष लामाले बताउनुभयो । गाउँपालिकाले नाम्दुदेखि पिपलबोट चौतारासम्म कालोपत्रे गरेको छ भने त्यसयता पालिकाको कार्यालय गेटसम्म ढलान गरिएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षमा नाम्दु–पाँडुडाँडा सडकको ढलान सक्न एक करोड १० लाख रुपियाँ बजेट विनियोजन गरेको थियो ।
त्यसै गरी गाउँपालिकाले यस आवमै बुस्ती–फुतलिकाकाठ–मिर्गे सडक र गोपी गैरिमुदी–जोरमाने सडक ढलान गर्न ठेक्का लगाएको छ । गत वर्षजस्तै यस वर्ष पनि उक्त दुई वटा सडक ढलान गर्न चार करोड रुपियाँ बजेट विनियोजन गरेर काम सुरु गरिएको गाउँपालिकाले जनाएको छ । वैतेश्वर गाउँपालिकाले पालिकाभित्र दैनिक सवारी आवागमन गर्ने आठ वटा वडाकै मुख्य ग्रामीण सडकको कालोपत्रे तथा ढलान धमाधम गर्न लागेको पालिका अध्यक्ष लामाले बताउनुभयो । गाउँपालिकाको तथ्याङ्क अनुसार हालसम्म पछिल्लो सात वर्षमा २० किलोमिटर पक्की सडक निर्माण भएको छ । यस वर्ष थप पाँच किलोमिटर सडक ढलान तथा कालोपत्रे गर्ने गाउँपालिकाको योजना छ । ग्रामीण सडकसँगै २५ किलोमिटर पक्की गोरेटो बाटो निर्माण भएको गाउँपालिकाले जनाएको छ ।