• १४ असार २०८२, शनिबार

मदन जयन्तीमा पँचसय बिरुवा रोपिए

blog

नेपालगन्जस्थित आइसिपीमा बृक्षारोपण गरिदै । तस्बिरः सिराज खान

सिराज खान 

नेपालगन्ज, असार १४ गते । जननेता स्वर्गीय मदन भण्डारीको ७४ औं जन्मजयन्तीको अवसरमा शनिबार बाँकेमा नेकपा (एमाले) ले बृक्षारोपण गरेको छ । मदन भण्डारी फाउन्डेसन र नेपाल उद्योग तथा ब्यवसायी महासंघले नेपालगन्जको दुई स्थानमा ५०० बढी बिरुवा रोपेको हो । 

मदन भण्डारी फाउन्डेसन बाँकेका अध्यक्ष पदम धितालको अगुवाइमा नेकपा (एमाले) बाँकेको पार्टी कार्यालय परिसरमा तथा नेपाल उद्योग तथा ब्यवसायी महासंघ बाँकेका अध्यक्ष भिम रानाभाटको अगुवाइमा एकीकृत भन्सार जाँचचौकी परिसरमा बृक्षारोपण गरिएको हो । 

पार्टी कार्यालय परिसरमा गरिएको बृक्षारोपणमा नेकपा (एमाले) का केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज शान्ति ढकाल, केन्द्रीय सदस्य मोहमद हारुन, जिल्ला अध्यक्ष निरक गुरुङ, पार्टी पदाधिकारी एवम् जनवर्गीय संगठनका नेताहरुको सहभागिता रहेको मदन भण्डारी फाउन्डेसन बाँकेका अध्यक्ष पदम धितालले बताउनुभयो । 

त्यस्तै, नेपाल उद्योग तथा ब्यवसायी महासंघको अगुवाइमा एकीकृत भन्सार जाँचचौकी परिसरमा गरिएको बृक्षारोपण कार्यक्रममा एमाले केन्द्रीय सदस्य पशुपति दयाल मिश्र, पार्टी नेता तथा महासंघका केन्द्रीय सदस्य भाष्कर काफ्ले, प्रदेश सहसचिव सरोज चौधरी, नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, स्थानीय विभाग प्रमुख मीन मल्ल लगायतको सहभागिता रहेको महासंघ बाँकेका अध्यक्ष रानाभाटले बताउनुभयो । 

बृक्षारोपण कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्यहरुले नेपालको कम्युनिष्ट आन्दोलनमा स्वर्गिय मदन भण्डारीको देन र उहाँको बिचारका सम्बन्धमा आफ्नो धारणा राख्नुभयो । 

नेकपा (एमाले) बाँकेका सचिव बलराम भट्टराईले नेपालगन्ज लगायत कोहलपुर र खजुरामा पनि स्वर्गिय जननेता भण्डारीको स्मरणमा कार्यक्रम गरिएको बताउनुभयो ।