काठमाडौँ, पुस २१ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले राखेपका नवनियुक्त आठ जना सदस्यलाई आइतबार स्वागत गरेको छ ।
पुस ९ गतेको मन्त्री परिषद् निर्णयबाट सदस्यमा नियुक्त नन्दा बस्याल, सुवर्ण श्रेष्ठ, शान्तिकुमारी चौधरी, कमलबहादुर भट्टराई, भानबहादुर चन्द, आनन्दकुमार झा, जगतसिंह धामी र हिमालकुमार श्रेष्ठलाई त्रिपुरेश्वरस्थित राखेपमा आयोजित एक कार्यक्रमबिच स्वागत गरिएको हो । नन्दा र सुवर्ण सदस्यमा दोहोरिनुभएको हो ।
राखेपका सदस्य सचिव टंकलाल घिसिङले सदस्यहरूलाई स्वागत गर्दै सदस्यमा नियुक्त भएकोमा बधाई दिनुभयो । घिसिङले कर्णाली प्रदेशमा हुने १०औँ राष्ट्रिय खेलकुदको तयारीमा जुट्न सबैलाई आग्रह पनि गर्नुभयो ।