गोरखापत्र अनलाइन
काठमाडौं, पुस १९ गते । नेकपा (एमाले) का प्रमुख सचेतक महेशकुमार बर्तौलाले समाजलाई विभाजित हुने किसिमका अभिव्यक्ति राजनीतिक नेतृत्वले दिनु नहुने बताउनुभएको छ । शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेताहरुको अभिव्यक्ति, व्यवहार र कार्यशैली समाजलाई विभाजित गर्ने परिस्थितितर्फ उन्मुख भएको बताउनुभयो ।
उहाँले राजनीतिक नेतृत्वले समाजमा जहिले पनि सकारात्मक सन्देश सम्प्रेषण गर्न जरुरी रहेको बताउनुभयो । उहाँले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति लक्षित गर्दै भविष्यमा भेटै नहुनेगरी अभिव्यक्ति नदिन आग्रह गर्नुभयो । उहाँले पदहरु अस्थायी रहेकाले सहिष्णुता कायम गर्ने र मुलुक र जनतालाई केन्द्रमा राखेर अघि बढ्ने कुरा स्थायी हुने चर्चा गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘संसदीय राजनीतिमा हामी भर्खर नर्सरीका विद्यार्थी हौँ । यसो अहिले हेर्दा कहिले लाग्छ, नेताहरुको अभिव्यक्ति, नेताहरुले गरेका व्यवहार, कार्यशैलीले समाजलाई कता–कता विभाजित गर्ने परिस्थिति विकास हुन खोजेको हो कि भन्ने पनि लाग्छ । हामी भुइँ पुस्ताका युवाहरुको एउटा आग्रह छ– राजनीतिक नेतृत्वले समाजमा जहिले पनि सकारात्मक सन्देश सम्प्रेषण गर्नैपर्छ ।’
त्यो सूचना सप्रेषण गर्ने आज राजनीतिक दल र नेतृत्व पनि हो । त्यो ठाउँबाट हामीले ठिक ढङ्गको सन्देश सम्प्रेषण गर्ने प्रक्रिया आरम्भ गर्नुपर्छ । योबिचमा कता–कता त्यो तलवितल भएको हो कि भन्ने अनुभूति छ । आजको संसदको गणितले सरकार यस्तै तरिकाले बनिरहने, भत्किने, लोकतन्त्रमा यसलाई स्वाभाविक रुपमा लिनुपर्छ । पदहरु भनेको अस्थायी कुराहरु हुन् उहाँले भन्नुभयो ।
प्रमुख सचेतक बर्तौलाले राजनीतिक नेतृत्वबाट देशमा सकारात्मक सन्देश जाने गरी अभिव्यक्ति दिनुपर्ने बताउनुभयो । भविष्यमा भेट हुन्छ भन्ने स्मरण गरेर अघि बढ्न जरुरी रहेको उहाँले बताउनुभयो ।