चन्द्र पन्दाक
ताप्लेजुङ, पुस १९ गते । ताप्लेजुङस्थित पाथीभरा बहुमुखी क्याम्पस सञ्चालक समितिको अध्यक्ष पदका लागि चार जनाको उम्मेदवारी परेको छ । यही पुस २० गते शनिबार हुने निर्वाचनका लागि बिहीबार भएको मनोनयन दर्ताअनुसार अध्यक्ष पदमा चार जनाको उम्मेदवारी दिएका हुन् ।
निर्वाचन समितिका अनुसार अध्यक्ष पदका लागि फुङ्लिङ नगरपालिकाका प्रमुख समेत रहनुभएका अमिर मादेन, गजेन्द्रप्रसाद तुम्याहाङ, शिला इजम र कुमार मादेनले उम्मेदवारी दर्ता गराउनुभएको छ । तुम्याहाङ सञ्चालक समितिका निवर्तमान अध्यक्ष तथा नेपाली कांग्रेस ताप्लेजुङका सभापति हुनुहुन्छ ।
यस्तै, दुई जना शिक्षाप्रेमी महिला सदस्य पदका लागि सात जनाको उम्मेदवारी परेको छ । सो पदमा चित्रकुमारी चङ्सु, देउमाया ओझा, अञ्जना कडरिया, गीताकुमारी सेन्दाङ, मातृकादेवी प्रसाई, माला पालुङ्वा र मैया न्यौपानेले उम्मेदवारी दिनुभएको छ । समाजसेवी बुद्धिजीवी दलित सदस्य एकजनाको कोटामा तीन जनाले उम्मेदवारी परेको छ ।
उक्त पदका लागि सन्तोषकुमार सार्की, टिकेन्द्र नेपाली र तुलसीमाया विकले उम्मेदवारी दिनुभएको छ । त्यस्तै एकजना खसआर्य शिक्षाप्रेमी, बुद्धिजीवी सदस्यतर्फ भोलानाथ पौडेल, टेकनाथ अधिकारी, मातृकाप्रसाद नेपाल र अर्जुनप्रसाद तिवारीसमेत चारको उम्मेदवारी परेको छ ।
त्यसैगरी, शिक्षाप्रेमी, समाजसेवी, बुद्धिजीवी जनजाति सदस्य एक जनाका लागि सात जनाले उम्मेदवारी दिनुभएको छ । सो पदका लागि प्रजिन हाङ्बाङ, विश्वराज लिम्बू, धनेन्द्र मादेन, हिमकला गुरुङ, रामचन्द्र पोमु, तेजबहादुर राई र पृथ्वीप्रसाद मादेनको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।
चन्दादाता वा अक्षयकोषदाताका तर्फबाट प्रतिनिधित्व हुने एक जनाको कोटामा भने कसैको पनि उम्मेदवारी नपरेको निर्वाचन समितिले जनाएको छ । यता अध्यक्ष पदमा उम्मेदवारी परेकामध्ये तीन जनाविरुद्ध अध्यक्षकै उम्मेदवार शिला इजमले अयोग्यताको सवाल उठाउँदै दावीविरोध पेश गर्नुभएको पनि निर्वाचन समितिले जनाएको छ ।
निर्वाचन कार्यक्रम अनुसार शुक्रबार ५ बजेपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने छ । शनिबार दिनको १ देखि ३ बजेसम्म मतदान सञ्चालन हुने र क्याम्पस सञ्चालन समिति चयनका लागि मतदान गर्ने मतदाताको सङ्ख्या भने ३६ जना रहेका निर्वाचन समिति संयोजक अभिवक्ता रामकुमार थापाले जानकारी दिनुभयो ।