• २१ पुस २०८१, आइतबार

एमालेले जलविद्युत् नियमन गर्ने

blog

चरीकोट समाचारदाता 

चरीकोट, पुस १९ गते ।  नेपाल कम्युनिस्ट पार्टी (एमाले), दोलखाले पार्टी कार्यक्रम र बैठकलाई तीव्रता दिन थालेको छ । जिल्लामा राजनीतिक गतिविधि बढाएको दोलखा एमालेले गाउँ अभियान सुरु गर्ने भएको हो । 

विसं २०७९ को स्थानीय तहको निर्वाचनमा दुई नगरपालिका र सात गाउँपालिका गरी नौ स्थानीय तहमध्ये एमालेले तीन वटा स्थानीय तहमा मात्र सफलता पाएको थियो । स्थानीय, प्रदेश र सङ्घको निर्वाचनमा समेत राम्रो मत ल्याउन नसकेको एमालेले उपनिर्वाचनमा एक्लै चुनावी प्रतिस्पर्धा गरेर गौरीशङ्कर गाउँपालिकाको उपाध्यक्ष जितेपछि जिल्लामा चहलपहल बढाउन थालेको हो ।

एमाले दोलखाले हालै जिल्ला कमिटी बैठक बसेर १९ वटा निर्णय सार्वजनिक गरेको छ । सो निर्णयमा दोलखामा सञ्चालित र निर्माणाधीन जलविद्युत्विरुद्ध एमाले दोलखा आक्रामक देखिएको छ । हाइड्रोपावरले दोलखाली जनताको हितमा काम गर्न नसकेको र हाइड्रोपावरको अनियमितता बढ्दै गएको आरोप एमालेको छ ।

बैठकको निर्णय सार्वजनिक गर्दै एमाले दोलखाले तामाकोशी पाँचौँ जलविद्युत् आयोजना अप्पर तामाकोशी हाइड्रोपावर कम्पनी मातहत नै सञ्चालन हुनुपर्नेमा अर्को कम्पनी खडा गरी सञ्चालन गर्नु दोलखाली जनताको हितविपरीत रहेको बताउँदै हाल उक्त कम्पनीले पारदर्शी ढङ्गबाट काम नगरेको बताएको छ । सार्वजनिक सुनुवाइसमेत नगरी जनताको जान्न पाउने अधिकार कुण्ठित गराएको भन्दै जनताको स्वामित्व र सेयर सुनिश्चित गरेर स्थानीयवासीलाई रोजगारलगायत अन्य सेवासुविधा प्रदान गर्दै पारदर्शी ढङ्गले काम अगाडि बढाउन माग गरिएको छ ।

राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनालाई धराशायी बनाउन विभिन्न षड्यन्त्र भइरहेको, विभिन्न कारणले जनताको सेयर लगानी व्यर्थ गइरहेको भन्दै बैठकमा ध्यानाकर्षण भएको निर्णय गरिएको नेकपा (एमाले) दोलखाका अध्यक्ष नरबहादुर श्रेष्ठले पत्रकार सम्मेलनमार्फत जानकारी गराउनुभएको थियो । दुगड हाइड्रोपावरले तिब्बत नाका खोल्ने सरकारलाई चुनौती दिँदै बाटो खोल्ने नाममा माथिल्लो तामाकोशीको ड्याम साइडलाई ठुलो नोक्सान पुर्‍याइरहेकाप्रति ध्यानाकर्षण भएको जनाएको छ । 

जनताको माग र आवश्यकतालाई बेवास्ता गर्दै बिगु गाउँपालिकामा सञ्चालित हाइड्रोपावरले पर्यावरणलाई क्षति पुग्ने गरी सञ्चालन गरिरहेको जनगुनासो आएको भन्दै बैठकले सम्बन्धित हाइड्रोपावरलाई जनताको कुनै पनि विषयमा नोक्सान नपुग्ने गरी निर्माण कार्य अघि बढाउन सचेत गराउने निर्णय गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

बैठकले दोलखा जिल्लालाई ‘हाइड्रो हब’ का रूपमा विकास गर्दै ‘हाइड्रो टुरिजम’ को परिकल्पनामार्फत दोलखा र जनताको समृद्धिमा योगदान पुग्न सक्ने गरी लगानीमैत्री वातावरण बनाउनुपर्ने निर्णय गरेको छ । सो उद्देश्यविपरीत कतिपय परियोजना जनगुनासोलाई बेवास्ता गर्दै भ्रष्टाचार, अनियमितता र विकृतिको दलदलमा डुबिरहेका बैठकले निष्कर्ष निकालेको छ । 

राष्ट्रकै समुन्नतिमा विशेष योगदान दिन सक्ने बहुआयामिक परियोजनाका रूपमा रहेको र सम्भाव्यता अध्ययनसमेत भइसकेको तामाकोशी तेस्रो जलविद्युत् आयोजना हालसम्म सञ्चालन नगरी लाइसेन्स होल्ड गरेर राख्नुलाई बैठकले गम्भीरतापूर्वक लिएको छ । दोलखावासीको समृद्धिको भविष्यसँग गाँसिएको उक्त आयोजना पूर्णक्षमतामा सञ्चालन गर्न र नसके सो कम्पनीको लाइसेन्स रद्द गरी विकल्प खोज्न नेपाल सरकारसँग बैठकले माग गरेको छ । 

हाइड्रोपावरसँगै एमाले जिल्लाका समसामयिक विषय, राष्ट्रिय र प्रदेशका गौरवका आयोजना सञ्चालन गर्न पनि सरकारसमक्ष माग गरेको छ । बैठकले गौरीशङ्कर संरक्षण क्षेत्र आयोजनालाई हालसम्मको कार्यमूल्याङ्कन र समीक्षा गर्दै अघि बढ्न आह्वान गरेको छ । भीमेश्वर नगरपालिका–९ स्थित खरिढुङ्गा एसियाकै ठुलो मानिएको म्याग्नेसाइट उद्योग तथा खरी खानी र उत्तरी क्षेत्र बिगु गाउँपालिकास्थित आलम्पुमा रहेको स्लेट ढुङ्गा खानी सञ्चालन गर्न माग गर्ने निर्णय गरिएको एमालेले जनाएको छ । दोलखा भीमेश्वर, कालिञ्चोक मन्दिर, शैलुङ, बिगु तथा लप्ची गुम्बा, पवित्र गौरीशङ्कर र च्छोरोल्पा हिमतालसमेतलाई एकै कोरिडोरमा समेटी धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न बैठकले माग गरेको छ ।

एमाले दोलखाका अध्यक्ष श्रेष्ठले एमालेको मात्र नभएर सार्वजनिक महत्वका प्रस्ताव दोलखा जिल्लाको विकासका निम्ति साझा अवधारणाका रूपमा स्थापित गर्न सबै राजनीतिक दलसँग सहकार्य र समन्वय गरेर अघि बढ्ने बताउनुभयो ।