• २१ पुस २०८१, आइतबार

जापानमा नेपाली पुस्तकालय स्थापना

blog

कैलाश तामाङ

टोकियो, पुस १८ गते । विश्वकै चौथो ठुलो अर्थतन्त्र भएको देश जापानमा पहिलो पटक ‘नेपाल पुस्तकालय’ स्थापना गरिएको छ । नेपाल र जापानबिच जनस्तरको सम्बन्ध र शैक्षिक सांस्कृतिक, प्राज्ञिक तथा बौद्धिक सम्बन्ध अभिवृद्धि गर्ने उद्देश्यले पुस्तकालय स्थापना गरिएको हो ।

नागानो प्रान्तको कोमागाने शहरमा ७ नोभेम्बर २०२४ मा सञ्चालनमा आएको यो पुस्तकालयको स्थापना जापानी नागरिक डा. युकि इतोले गर्नुभयो । 

पुस्तकालयमा नेपालको प्रकृति, संस्कृति, कला, सङ्गीत, धर्म, संस्कार, पर्व र परम्परासँग सम्बन्धित नपाली, जापानी र अङ्ग्रेजी भाषाका पुस्तक सङ्कलित रहेको डा. इतोले जानकारी दिनुभयो । त्यसैगरी नेपालसँग सम्बन्धित स्तोत्रग्रन्थ र विश्वविद्यालयका पिएचडि र एमए तहका थेसिसहरु पनि सङ्कलित छन् ।

पुस्तकालयको उद्घाटन समारोहमा पुग्नुभएका जापानका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले नेपाली र अङ्ग्रेजी भाषाका पाँच सयभन्दा बढी पुस्तक प्रदान गर्नुभएको छ ।

कोमागाने शहरका नेपाली व्यवसायी तथा समाजसेवी केशर गिरीले उपलब्ध गराएको भवनमा स्थापना गरिएको नेपाल पुस्तकालयले नेपाली र जापानीहरुबिचको सम्बन्ध थप प्रगाढ बनाउने विश्वास गरिएको छ ।

नेपाल र नेपालीको बारेमा अध्ययन अनुसन्धान गर्न चाहनेहरुका लागि पुस्तकालयले स्रोतको रुपमा काम गर्ने डा. इतोले बताउनुभयो । साइतामा विश्वविद्यालयका प्रध्यापक डा. युकि इतो नेपालको मुलुकी ऐनमा पिएचडी गर्नुहुने पहिलो जापानी हुनुहुन्छ ।

१९९० को दशकमा नेपालस्थित जापानी राजदूतावासमा अनुसन्धान अधिकृतको रुपमा काम गरिसक्नुभएकी डा. इतो हिमाली गाउँ मुस्ताङको संस्कृति अध्ययन गर्ने पहिलो महिला हुनुहुन्छ ।