निशा राई
धरान, पुस १७ गते । नेपाली कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोइरालाले देशको परिवर्तनमा सञ्चार क्षेत्रको भूमिका अग्रणी रहेको बताउनुभएको छ ।
नेपाल पत्रकार महासङ्घ सुनसरी शाखाको पदस्थापन कार्यक्रमलाई धरानमा सम्बोधन गर्दै डा.कोइरालाले जनतामा आशा जगाउने गरी समाचार सम्प्रेषण गर्न पत्रकारहरूलाई आग्रह समेत गर्नुभयो । सामाजिक सञ्जाल हेर्याे । नकारात्मक र निराशा मात्र देखिन्छ तर देशमा राम्रा काम पनि भएका छन्, कम्तीमा हरेक मिडियाले गाउँ टोलमा भएका राम्रा कुराको पनि समाचार बनाइदिए समाजमा सकारात्मक सन्देश प्रवाह हुन्ने डा.कोइरालाले बताउनुभयो ।
मुलुकमा आर्थिकमन्दीका बिच पनि भौतिक संरचनाको विकासले गति लिएको छ । "देशमा केही नभएको होइन भइरहेको छ । राम्रो कामलाई नरात्मकताले थिचेको छ," डा.कोइरालाले भन्नुभयो, "नेपाली कांग्रेस र नेकपा एमाले गठबन्धनको सरकारबाट जनताले धेरै नै आशा गरेको छ र अहिलेकोे सरकार विशेष परिस्थिति र निश्चित लक्ष्य लिएर बनेको ।"
"यो सरकार असफल भयो भने देशमा अराजकता बढ्छ । लामो सङ्घर्ष र बलिदानबाट प्राप्त लोकतन्त्र खतरामा पर्छ । यो सरकारलाई असफल हुन छुट छैन," उहाँले भन्नुभयो । नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजीव कोइरालाले निष्पक्ष र सत्यतथ्यमा आधारित भएर कमल चलाउन पत्रकारहरुलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा धरान उपमहानगरपालिकाको पुर्व नगरप्रमुख तिलक राई, उपप्रमुख तथा एमालेकी केन्द्रीय सदस्य मञ्जु भण्डारी, धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रविक्रम बेघा, नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशका अध्यक्ष भरत खड्का, प्रेस युनियन कोशी प्रदेश अध्यक्ष मीनकुमार नवोदित, सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारी, अग्रज पत्रकार हर्ष सुब्बा, पत्रकार महासङ्घ पूर्वकेन्द्रीय सदस्य अमर खड्का, सुनसरीका निवर्तमान अध्यक्ष जनकऋषि राई, निवर्तमान सचिव ध्रुव ढकाल, सुनसरीको नवनिर्वाचित अध्यक्ष सन्तोष काफ्ले लगायतको उपस्थिति रहेको थियो ।