• १९ पुस २०८१, शुक्रबार

कान्छीमाया मार्ने बघिनी नियन्त्रणमा

blog

मकवानपुरको मनहरी गाउँपालिका ५ बाट नियन्त्रणमा लिएको बाघ ।

राममणि दाहाल

हेटौँडा, पुस १६ गते । मकवानपुरको मनहरी गाउँपालिका ५ मा एक वृद्धामाथि आक्रमण गरी मार्ने बघिनीलाई नियन्त्रणमा लिइएको छ ।

पर्सा वन्यजन्तु आरक्षणबाट खटिएको सुरक्षाकर्मीसहितको टोलीले मङ्गलबार साँझ बाघ नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मकवानपुरको मनहरी गाउँपालिका वडा नं ५ स्थित वसन्तपुरकी कान्छीमाया रुम्बाको आइतबार साँझ बाघको आक्रमणबाट मृत्यु भएको थियो । 

सोमबार दिउँसोबाट उक्त बाघको खोजतलासको लागि पर्सा वन्यजन्तु आरक्षणबाट खटिएका कर्मचारी, चितवन राष्ट्रिय निकुञ्जबाट खटिएको बाघ नियन्त्रण प्राविधिक टोलीका चारजना, निकुञ्ज सुरक्षार्थ मनहरी गाउँपालिका ३ लामिटार बेशबाट खटिएको नेपाली सेना र चार वटा हात्तीसहितको टोलीले बाघलाई मङ्गलबार साँझ नियन्त्रणमा लिएको मकवानपुरमा प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । 

उक्त बाघलाई खोजतलास गर्ने क्रममा मनहरी गाउँपालिका ५ वसन्तपुरस्थित सुकौरा खोलामा डार्ट प्रविधिबाट (एम्बुस थापी बन्दुकबाट लट्याउने सुई लगाई) नियन्त्रणमा लिएको हो । उक्त बघिनीलाई पर्सा राष्ट्रिय निकुञ्ज आधाभार लगिएको छ ।