• १९ पुस २०८१, शुक्रबार

हरियो खुर्साको बोराभित्र लागूऔषध

प्रहरीले ७६ लाख मूल्यका सामान किन समात्यो

blog

हरियो खुर्सानीको बोराभित्र लागूऔषध लुकाएर ल्याउने मिश्री रामलाई लागूऔषधसहित सार्वजनिक गर्दै सशस्त्र प्रहरी ।

दिपकप्रसाद गौतम 

वीरगञ्ज, पुस १६ गते । जिल्ला प्रहरी कार्यालय पर्साले बिल बिजकभन्दा बढी सामान बोकेर वीरगञ्जबाट धनुषातर्फ जाँदै गरेको ट्रकलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाएको छ । 

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक किशोर लम्सालका अनुसार वीरगञ्जबाट धनुषातर्फ जाँदै गरेको ना.८ ख ४१२४ नम्बरको उक्त मालबाहक ट्रकलाई बिल विजकभन्दा बढी सामान बोकेर गइरहेको आशङ्कामा गएराती नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि मङ्गलबार राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाएको हो । 

  सूचनाको आधारमा पुगेको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर २१ परवानीपुर हनुमान मन्दिर चोकमा चेकजाँच गर्दा बिलबिजक र सामानको परिमाण शङ्कास्पद देखेपछि नियन्त्रणमा लिई ट्रकमा लोड रहेको सामानको मूल्य ७६ लाख ७५ हजार ४५१ रुपैंया मूल्यांकन गरी राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक लम्सालले जानकारी दिनुभयो ।

नियन्त्रणमा लिईएको ट्रकमा खुद्रा तथा औषधीजन्य सामग्रीहरू लोड रहेको प्रहरी नायब उपरीक्षक लम्सालले बताउनुभयो । पर्सा प्रहरीले बिलबिजकभन्दा बढी सामान रहेको शङ्का लाग्ने बित्तिकै मालवाह सवारीसाधलाई सामानसहित आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाउने गरेको छ । 

हरियो खुर्साको बोराभित्र लागूऔषध

हरियो खुर्सानीको बोराभित्र लागूऔषध लुकाएर भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका एक व्यक्तिलाई सशस्त्र प्रहरी टोलीले भन्सार क्षेत्रबाट पक्राऊ गरेको छ ।

बहुदमाई गाउँपालिका वडा नम्बर ३ नगरदाहा बस्ने ३६ वर्षीय मिश्री राम हरियो खुर्सानीको बोराभित्र लागूऔषध लुकाएर भारतबाट नेपालतर्फ पैदल आउँदै गर्दा सशस्त्र प्रहरी टोलीले भन्सार क्षेत्रबाट पक्राऊ गरेको हो ।   

 सशस्त्र प्रहरी टोलीले हरियो खुर्सानी संगै लुकाएर ल्याउदै गरेको अवस्थामा उनको साथबाट डाइजेपाम ४९० एम्पुल, बुप्रेनोर्फिन ४९९ एम्पुल, नोफिन २९७ एम्पुल र प्रोमाथाजिन हाइड्रोक्लोराई इन्जेक्सन ४९७ एम्पुल बरामद गरेको जनाएको छ ।