काठमाडौं, पुस १६ गते । त्रिभुवन विश्वविद्यालय, द्वन्द्व, शान्ति र विकास अध्ययन विभागले यसै शैक्षिक वर्षदेखि नयाँ पाठ्यक्रम लागू गर्ने गरी तयारी थालेको छ ।
भर्खरैमात्र विभागबाट केन्द्रीय विभागमा स्तरोन्नति भएको सो विभागले मङ्गलबार आयोजना गरेको कार्यक्रममा मानविकी तथा सामाजिक शास्त्र सङ्कायका चार पूर्व डीनहरूले द्वन्द्व, शान्ति र विकास विषयको नयाँ पाठ्क्रमका बारेमा आ–आफ्नो धारणा राखेका छन् ।
विभागले आयोजना गरेको पाठ्यक्रम निर्माणसम्बन्धी परामर्श बैठकमा त्रि.वि.का पूर्व उपकुलपति एवम् मानविकी तथा सामाजिक शास्त्र सङ्कायका पूर्वडीन प्रा.डा. शिवलाल भुसाल, पूर्व डीनहरू प्रा.डा. रमेशराज कुँवर, प्रा.डा. नवराज कणेल र प्रा.डा. कुशुम शाक्यले स्थापनादेखि नै द्वन्द्व, शान्ति र विकास अध्ययन विभागको पाठ्यक्रम समयानुकुल र राष्ट्रिय र अन्तर्राष्ट्रिय परिवेश सुहाउँदो र अनुसन्धानमुखी रहेको बताउनुभयो ।
प्रा.डा. शिवलाल भुसालले भन्नुभयो, ‘‘विश्वविद्यालयले श्रम बजार केन्द्रित कार्यक्रम तर्जुमा गर्ने बेला आएको छ । अहिले द्वन्द्वका आयामहरू फेरिएका छन् । अब द्वन्द्व, शान्ति र विकास विषयको प्राज्ञिक पहिचान स्थापित गर्ने बेला आएको छ । दिगो विकासको अवधारणा सँगसँगै मौलिक ज्ञान प्रणालीको प्रयोग गर्दै अघि बढ्ने बेला आएको छ ।’’
प्रा. डा. नवराज कणेलको विचारमा उच्च शिक्षामा तीनवटा महत्त्वपूर्ण खम्बा छन् – अध्ययन, अध्यापन र अनुसन्धान । विद्यालय शिक्षा र विश्वविद्यालय शिक्षालाई ‘अनुसन्धान’ले छुट्याएको हुँदा अनुसन्धानको पाटोलाई जोड दिनुपर्दछ । नयाँ पाठ्यक्रम निर्माण गर्दा विश्वको परिवेश र नेपालको आवश्यकता दुवैलाई ध्यान दिनुपर्ने हुन्छ ।
यसैगरी, प्रा.डा. रमेशराज कुँवर भन्नुहुन्छ, ‘‘ज्ञान र प्रविधिको बिचमा रहेको खाडललाई पुर्ने खालको पाठ्यक्रम आजको आवश्यकता हो । अन्तर–विधात्मक विषयवस्तुलाई समेटेर प्रयोगात्मक विषयलाई जोड दिइनुपर्छ ।’’
प्रा.डा. कुशुम शाक्यको विचारमा सिक्दै कमाउँदैको अवधारणा लिएर अघि बढ्नुपर्छ । एम.ए. तहको पाठ्यक्रम दुई वर्ष समयावधिमै सकिने गरी पाठ्यक्रम निर्माण गर्नुपर्छ ।
द्वन्द्व, शान्ति र विकास अध्ययन विभागका प्रमुख डा. पिताम्बर भण्डारीले यस विभागले द्वन्द्व, शान्ति र विकासका बहुआयामिक पक्षहरू समेट्दै जलवायु न्याय, द्वन्द्व समाधान र कूटनीति, रणनीतिक अध्ययन र अन्तर्राष्ट्रिय सम्बन्ध एवं अर्थ–राजनीतिका सम्बन्धमा नयाँ विषयहरू स्नातकोत्तर तहमा अध्यापन हुने बताउनुभयो ।
कार्यक्रममा विभागका उपप्राध्यापकहरू चिरञ्जीवी भण्डारी, राजिव तिमल्सिना, विजया दाहाल, डा. मिबित दाहाल र रोशन पोखरेललगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।