अनिल पराजुली
हेटौँडा, पुस १६ गते । मकवानपुरमा रहेको सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै गएको छ । हेटौँडा-४ मा रहेको आधुनिक राष्ट्रिय माध्यमिक विद्यालय प्रविधिमैत्री बन्दै गएको हो।
तीन हजार बढी विद्यार्थी अध्ययन गर्ने यस विद्यालयमा अध्यापनका लागि शिक्षक शिक्षिकालाई प्रविधिमैत्री शिक्षण सामाग्री हस्तान्तरण गरिएको हो । विद्यालय व्यवस्थापन समितिले निर्णय गरेर विद्यालयमा अध्यापन गराउने ७० जना शिक्षक शिक्षिकालाई प्रविधिमैत्री शिक्षण सामाग्री प्रदान गरेको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समिम खान र विद्यालयका प्रधानाध्यापक रामसागर गुरागाईँले संयुक्त रूपमा स्थायी, राहत दरबन्दी र निजी स्रोतका शिक्षक शिक्षिकालाई भ्वाइस एम्पीफायर, हेडफोन, स्वीकरण हस्तान्तरण गर्नुभएको हाे ।
कक्षामा विद्यार्थीको सङ्ख्या धेरै भएकाले शिक्षक शिक्षिकाको आवाज हरेक विद्यार्थीसम्म सहज पुगोस् भन्ने उद्देश्यले प्रविधि हस्तान्तरण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समिम खानले बताउनुभयो । निरन्तर अध्यापन गराइरहँदा घाँटीमा समस्या आउने र बेलाबेलामा आवाजसमेत बन्द हुने गरेकाले विद्यालयले परिवारले उपलब्ध गराएको प्रविधिमैत्री शिक्षण सामग्री महत्त्वपूर्ण भएको विद्यालयका शिक्षक कृष्णगाेपाल श्रेष्ठले बताउनुभयो ।
यसअघि पनि ५५ जना शिक्षक शिक्षिकालाई विद्यार्थीलाई अध्यापन गराउन प्रतिव्यक्ति करिब ५० हजार मूल्य बराबरको ल्यापटप पनि हस्तान्तरण गरिएको थियो । नेपाली र अङ्ग्रेजी दुवै माध्यमामा अध्यापन हुने यस सामुदायिक विद्यालयमा ए देखि एच सम्म ८ वटा सेक्सन छ ।
विगत दुई दशकदेखि जिल्ला प्रथम हुँदै आएको जिल्लाकै उत्कृष्ट र गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको उत्कृष्ट सामुदायिक विद्यालय मध्य एक रहेको यस विद्यालयमा मकवानपुरसहित तराईका सर्लाही, बारा, पर्सा, रौतहटलगायतका जिल्लाका विद्यार्थी यहाँ अध्ययन गर्दै आएका छन् । निजी विद्यालयको तुलनामा यस सामुदायिक विद्यालयमा अभिभावकको विश्वास र विद्यार्थीको आकर्षणको केन्द्र बनेको छ । यस विद्यालयमा विज्ञान र व्यवस्थापन विषयमा कक्षा १२ सम्म अध्यापन हुँदै आएको छ ।