• १९ पुस २०८१, शुक्रबार

गणतन्त्रलाई अझ विश्वसनीय र सुदृढ बनाउनु आजको आवश्यकताः सभापति देउवा

blog

नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा

काठमाडौं, पुस १६ गते । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गणतन्त्रलाई अझ विश्वसनीय र सुदृढ बनाउनु आजको आवश्यकता भएको बताउनुभएको छ ।

मङ्गलबार काठमाडौंमा राष्ट्रिय मेलमिलाप दिवस एवम् सय दिने विशेष अभियान समापन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले गणतन्त्रलाई सफल पार्न अझ विश्वसनीय बनाउनुपर्ने बताउनुभयो ।

सभापति देउवाले अहिले राष्ट्रिय मेलमिलापको नीतिबाट एकताबद्ध रुपमा अघि बढिरहेको भन्दै सम्पूर्ण नेपालीलाई एक सूत्रमा एकताबद्ध गर्नुपर्ने जिकिर गर्नुभयो ।

सभापति देउवाले सम्पूर्ण नेपालीहरुको बिचमा एकता गर्नु आजको आवश्यकता भएको बतउनुभयो । सबै नेपालीलाई राष्ट्रिय एकताको एक सूत्रमा बाँध्न जरुरी रहेको औंल्याउनुभयो ।

‘‘आजको यो जुन गणतन्त्र छ, यसलाई सफल पार्न अझ विश्वसनीय बनाउनु हामी सबैको कर्तव्य छ । मलाई लाग्छ, यो गणतन्त्र स्थायी रहन्छ, अझै सुदृढ बनाउनुपर्छ । अझै प्रभावकारी बनाउनुपर्छ । राष्ट्रिय मेलमिलापको नीतिबाट एकताबद्ध रुपमा हामी अघि बढिरहेका छौँ, यसलाई अझ अघि बढाउनु पर्छ ।,’’ सभापति देउवाले भन्नुभयो, ‘‘मधेश, पहाड र हिमालका सम्पूर्ण नेपालीहरु बिच  एकता र मेलमिलाप हुनुपर्छ । सम्पूर्ण नेपालीहरुको बिचमा एकता गर्न आजको आवश्यकता हो । पूर्वका हुन् वा पश्चिमका हुन्, उनीहरुका विभिन्न चाहनाहरु होलान् तर त्यसको समन्वय गरेर एकताबद्ध भ एक सूत्रमा बाँकी राष्ट्रिय सूत्रमा बाँधिनुपर्छ ।’’

सभापति देउवाले कांग्रेसका लागि मात्रै नभइ देशभरका सबै नागरिकका लागि नै राष्ट्रिय मेलमिलाप अत्यावश्यक रहेको बताउनुभयो ।