• १९ पुस २०८१, शुक्रबार

देशको नीतिगत नेतृत्व कांग्रेसले गरिरहेको छः नेता सिटौला

blog

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला मङ्गलबार काठमाडौंमा राष्ट्रिय मेलमिलाप दिवस एवम् सय दिने विशेष अभियान समापन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै ।

काठमाडौं, पुस १६ गते । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले जनताका समस्या समाधान गरी बलियो नेपाल निर्माण गर्न आवश्यक रहेको बताउनुभएको छ ।

मङ्गलबार काठमाडौंमा राष्ट्रिय मेलमिलाप दिवस एवम् सय दिने विशेष अभियान समापन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले जनताको आर्थिक प्रगति अहिलेको आवश्यकता भएको बतउनुभयो । पछाडि परेका जनतालाई अगाडि ल्याउनुपर्ने, दलित, महिलाका समस्या समाधान गरेर आर्थिक प्रगतिको पक्षमा नेपाली कांग्रेस पार्टीले डोर्‍याउनुपर्ने आवश्यकता रहेको जिकिर गर्नुभयो ।

नेता सिटौलाले कांग्रेस र नेकपा एमाले मिलेर संयुक्त सरकार बनाएको र प्रधानमन्त्रीमा केपी शर्मा ओली रहनुभए पनि सरकारको नीतिगत नेतृत्व नेपाली कांग्रेसले गरिरहेको बताउनुभयो । नेपालको समग्रमा नेपाली जनतालाई अघि बढाउने नीतिगत नेतृत्व काँग्रेस पार्टीले गरिरहेको उहाँको दाबी छ ।

‘‘जनताका तमाम समस्यालाई समाधान गरेर बलियो नेपाल निर्माण गर्नुछ । गरिब जनताको आर्थिक प्रगति गर्नुछ । पछाडि परेका जनतालाई अगाडि ल्याउनुछ । दलित, महिला, पिछडिएका क्षेत्रका तमाम समस्याहरु समाधान गरेर आर्थिक प्रगतिको पक्षमा कांग्रेस पार्टीले डोर्‍याउनु छ, सिङ्गो नेपाललाई ।,’’ नेता सिटौलाले भन्नुभयो, ‘‘अहिले हामी संयुक्त सरकारमा छौँ । ठुला, ठुला पार्टीहरु कांग्रेस र एमाले मिलेर संयुक्त सरकार बनाएका छौँ । प्रधानमन्त्री केपी ओलीजी हुनुहुन्छ । तथापि हामी गर्वका साथ भन्छौँ, नीतिगत नेतृत्व कांग्रेसले गरिरहेको छ । राज्य सञ्चालनको नेतृत्व प्रधानमन्त्रीले गर्नुभएको होला तर नेपालको समग्रमा नेपाली जनतालाई अघि बढाउने नीतिगत नेतृत्व नेपाली कांग्रेस पार्टीले गरिरहेको छ ।’’

नेता सिटौलाले नेपालको अस्तित्वको रक्षाका लागि, नेपाली जनताको आर्थिक समृद्धि र प्रगतिको लागि नेपाली कांग्रेसले सबै राजनीतिक दलहरुलाई एकाकार गरेर राष्ट्रिय मेलमिलाप निर्माण गरी अघि बढ्ने बताउनुभयो ।