चितवन समाचारदाता
चितवन, पुस १६ गते । चितवनको सौराहामा जारी चितवन हात्ती तथा पर्यटन महोत्सव अन्तर्गत आइतबार हात्तीको स्वास्थ्य परीक्षण गरिएको छ । सौराहाको सफारी पर्यटनमा प्रयोग हुँदै आएका ४५ वटा निजी हात्तीको स्वास्थ्य परीक्षण गरिएको हो । नेपाल पर्यटन बोर्डसँगको सहकार्य तथा राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाको सहकार्यमा आयोजना गरिएको शिविरमा राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका पशु चिकित्सक डा. अमिर सडौला र पशु प्राविधिक किरण रिजालले सौराहाका हात्तीको स्वास्थ्य परीक्षण गर्नुभएको थियो ।
हात्तीको ज्वरो, खुट्टाको नङ व्यवस्थापन, शरीरमा रहेका घाउ र अन्य संवेदनशील अङ्गको परीक्षण गरी उपचार गरिएको हो । सफारीमा जाँदा काँडाले घोच्न सक्ने, घाउ चोटपटक लागेर असर गर्ने जस्ता समस्या हुने भएकाले स्वास्थ्य परीक्षण गरिएको डाक्टर सडौलाले जानकारी दिनुभयो ।
सौराहाका कुनै पनि हात्तीमा अहिले क्षयरोगको सङ्व्रmमण नरहेको र कालोपत्रे सडकमा हिँड्दा हात्तीको खुुरमा समस्या देखिने गरेको भन्दै डा. सडौलाले हात्तीको नङ व्यवस्थापनलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । महोत्सवको आयोजक संस्था क्षेत्रीय होटेल सङ्घ, चितवन सौराहाले हात्तीको पेनाल्टी सुट आउट, हात्ती सुन्दरी र हात्तीलाई मिष्ठान्न परिकारसहित वनभोज खुवाएको महोत्सवका संयोजक रामकुमार आर्यालले बताउनुभयो । हात्ती वनभोजमा ड्रागन फ्रुट, स्याउ, उखु, केरा, घाँस, खर्बुजा, भुइँकटहर, मकै, पाउरोटी, सुन्तला, भेलीमा पकाएको चामललगायतका खानेकुरा खुवाइएको थियो ।
नेपालमा १५० वटा हात्ती निजी स्तरमा पालिएका छन् । वनभोजमा हात्तीलाई मन पर्ने खानेकुरा दिइएको थियो । कलात्मक रूपमा सजिएका हात्तीले वनभोज खाँदै गरेको क्षण नजिक भएर सेल्फी खिच्नेको भिड लागेको थियो । हात्तीको वनभोज कार्यक्रम महोत्सवको आकर्षणका रूपमा रहँदै आएको छ ।
महोत्सव अन्तर्गत भएको डुङ्गा दौड प्रतियोगितामा भरतपुर महानगरपालिकाले प्रतिनिधित्व गरेको डुङ्गा प्रथम भएको छ । प्रतियोगितामा भरतपुर महानगरको तर्फ प्रतिनिधित्व गरेर राहुल चौधरीले निर्धारित दुरी १२ मिनेट ५१ सेकेन्डमा पार गर्दै डुङ्गा प्रथम भएको हो । सङ्घका उपाध्यक्ष ओम पाण्डेले उद्घाटन गर्नुभएको प्रतियोगितामा रत्ननगर नगरपालिका द्वितीय र कालिका नगरपालिका तृतीय भएको महोत्सवको आयोजक संस्था क्षेत्रीय होटेल सङ्घ सौराहाका अध्यक्ष गङ्गा गिरीले जानकारी दिनुभयो । रत्ननगर नगरपालिकाको तर्फबाट कानु बोटे र कालिका नगरपालिकाका तर्फबाट होमबहादुर कुमालले डुङ्गा चलाउनुभएको थियो । सौराहास्थित राप्ती नदीको दुई किलोमिटर क्षेत्रमा डुङ्गा दौड प्रतियोगिता गरिएको थियो । अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर महोत्सव आयोजना गरिएको हो ।