मकवानपुर समाचारदाता
हेटौँडा, पुस १६ गते । मकवानपुर र काठमाडौँ जोड्ने दुई वटा सडक एकतर्फी रूपमा मात्र सञ्चालन गरिने भएको छ । कुलेखानी–सिस्नेरी–छैमले–दक्षिणकाली सडक र फर्पिङ–टल्कु–हुमाने सडकखण्डमा एकतर्फी रूपमा सवारीसाधन सञ्चालन गरिने भएको हो ।
दक्षिणकाली नगरपालिकाका नगरप्रमुख मोहन बस्नेतले जिल्ला प्रशासन कार्यालय काठमाडौँ र जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई पत्राचार गर्दै दुवै सडकको निर्माण भइरहेकाले अर्को सूचना नभएसम्मका लागि एकतर्फी सवारीसाधन सञ्चालन गर्ने व्यवस्थाका लागि सहजीकरण गरिदिन आग्रह गर्नुभएको छ । राजधानी पूर्वाधार विकास विशेष आयोजना हेटौँडा अन्तर्गत कुलेखानी–सिस्नेरी–छैमले–दक्षिणकाली सडकको दक्षिणकाली–छैमले खण्डमा र फर्पिङ–टल्कु–हुमाने सडकखण्डको तेस्रो प्याकेज अन्तर्गत देवीदेखि दक्षिणकाली नगरपालिका–९ को कार्यालयसम्मको सडक निर्माण भइरहेको नगरपालिकाले जनाएको छ ।
आयोजनाका सूचना अधिकारी राजन गौतमले काठमाडौँतर्फ छैमले–दक्षिणकाली सडकमा काम भइरहेको बताउनुभयो । काठमाडौँतर्फ आउने सवारीसाधनलाई कुलेखानी–सिस्नेरी–छैमले–दक्षिणकाली–फर्पिङतर्फ एकतर्फी आउने मात्र र मकवानपुरतर्फ जाने सवारीसाधनलाई फर्पिङ–टल्कु–हुमाने हुँदै एकतर्फी रूपमा जाने गरी व्यवस्था गर्न सहजीकरणमा सहयोग गर्न दक्षिणकाली नगरपालिकाले जिल्ला प्रशासन कार्यालय काठमाडौँ र जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई पत्राचार गरेको छ ।