नेपाली यु–१९ महिला क्रिकेट टिमले यसपालि बेजोड प्रदर्शन गरेको छ । संयुक्त अरब इमिरेट्स (युएई) मा भएको आइसिसी यु–१९ महिला टी–२० विश्वकप छनोटमा शीर्ष स्थानमा रहँदै नेपाल पहिलो पटक विश्वकपमा छनोट भयो । यसअघिको संस्करणमा नेपाल तेस्रो भएको थियो ।
अन्तिम खेलमा घरेलु टिम युएईमाथि नेपालले आठ विकेटको शानदार जित हासिल गरेर छनोटको ढोका खेलेको थियो । यसपालि चार टिम सहभागी छनोट प्रतियोगितामा नेपाल पहिलो चरणमा युएईद्वारा १३ रनले पराजित भए पनि दोस्रो चरणमा भने युएईमाथि आठ विकेटले जित हासिल गर्यो, त्यो पनि मात्र १४.४ ओभरमा ।
नेपाल र युएईको समान १० अङ्क भए पनि रन रेटका आधारमा नेपाल माथि रहँदै विश्वकपमा छानिन सफल भयो । नेपालको रन रेट ३.९३५ रह्यो भने युएईको ३.७४० थियो ।
नेपालले पहिलो चरणमा थाइल्यान्डलाई ६७ रनले, कुवेतलाई १०८ रनले हराएको थियो । यु–१९ महिला टी–२० विश्वकप आगामी जनवरी १८ देखि फेब्रुअरी २ सम्म मलेसियामा आयोजना हुने छ । १६ देशले भाग लिने यस विश्वकपमा १५ देशको टुङ्गो यसअघि नै लागिसकेको थियो भने नेपाल विश्वकप खेल्ने १६ औँ देश बनेको छ । यस विश्वकपमा आयोजक मलेसिया, गत विश्वकप खेलेका १० देश र क्षेत्रीय छनोटबाट नेपालसहित पाँच देशले भाग लिँदै छन् ।
विगतको विश्वकप खेलेका अस्ट्रेलिया, बङ्गलादेश, इङ्ग्ल्यान्ड, भारत, आयरल्यान्ड, न्युजिल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलङ्का र वेस्ट इन्डिज तथा क्षेत्रीय छनोटबाट नेपालसहित नाइजेरिया, सामोआ, स्कटल्यान्ड र अमेरिका विश्वकपमा सहभागी हुने छन् । यस विश्वकप खेल्ने १६ टिमलाई चार समूहमा विभाजन गरिएको छ । जसमा नेपाल समूह ‘डी’ मा परेको छ । यस समूहमा अस्ट्रेलिया, बङ्गलादेश र स्कटल्यान्ड रहेका छन् ।
सन् २०२३ मा भएको पहिलो यु–१९ महिला टी–२० विश्वकप भारतले जितेको थियो ।
एसिया कपमा पनि नेपाल
नेपाल विश्वकप सँगसँगै पहिलो संस्करणको यु–१९ एसिया कपका लागि पनि छनोट भएको छ । एसियाली क्रिकेट परिषद् एसिसीको आयोजनामा डिसेम्बर १५ देखि मलेसियामै यु–१९ महिला एसिया कप हुने छ ।
यु–१९ एसिया कप क्रिकेटमा नेपालसँगै पाकिस्तान, भारत, श्रीलङ्का, बङ्गलादेश र मलेसिया सहभागी रहेका छन् । नेपालको समूहमा भारत र पाकिस्तान रहेका छन् । नेपालले पाकिस्तानविरुद्ध डिसेम्बर १६ मा र भारतविरुद्ध डिसेम्बर १७ मा खेल्ने छ ।
जनही साढे दुई लाख
पहिलो पटक विश्वकपमा छनोट भएको टिमका सदस्यलाई नेपाल क्रिकेट सङ्घ (क्यान) ले हौसला प्रदान गरेको छ । क्यानले खेलाडीलाई जनही साढे दुई लाख रुपियाँ दिने घोषणा गरेको छ ।
नाडालले र्याकेट बिसाए
टेनिसमा दिमाग मात्र होइन बलको पनि आवश्यकता पर्छ भन्ने सिद्धान्त स्थापित गरेका स्पेनी टेनिस खेलाडी रफाइल नाडालले खेलाडी जीवनबाट सन्न्यास लिएका छन् । पुरुष एकल विधामा धेरै ग्रान्डस्लाम टेनिस प्रतियोगिता जित्ने दोस्रो खेलाडी नाडाललाई विश्वको उत्कृष्ट खेलाडीमा गनिन्छ । ढल्कँदो उमेरसँगै उनी खेल जीवनबाट टाढिएका हुन् ।
डेभिस कपको फाइनलमा हार बेहोरेपछि ३८ वर्षीय नाडालले यो आफ्नो अन्तिम खेल भएको बताएर सन्न्यासको घोषणा गरे । २२ ग्रान्डस्लाम जितेका नाडालले खेलपछि आफूले देखेको सपनाभन्दा पनि धेरै सफलता हासिल गरेको बताएका छन् । नाडालले टेनिसमा आफ्ना प्रतिद्वन्द्वी सर्बियाका खेलाडी नोभाक जोकोभिचपछि दोस्रो धेरै ग्रान्डस्लाम जितेका छन् ।
नाडालको नाममा फ्रेन्च ओपनको १४ उपाधि रहेको छ । यो रेकर्ड हो । त्यस्तै नाडालले चार पटक युएस ओपन जितेका छन् भने अस्ट्रेलियन ओपन र विम्बल्डन समान दुई पटक जितेका छन् । उनले ओलम्पिकमा एकल र युगल स्पर्धामा स्वर्ण पदकसमेत जिते ।
सन् १९८६ जुन ३ मा स्पेनको मयोर्कामा जन्मेका नाडालको पूरा नाम रफाइल नाडाल परेरा हो । ६ फिट १ इन्च अग्ला नाडाल सन् २००१ देखि प्रो–टेनिस खेल्न थालेका हुन् । उनले करियरमा ९२ वटा एटिपीस्तरीय एकल उपाधि जितेका छन् । जुन टेनिस इतिहासको पाँचौँ ठूलो सफलता हो । क्लेकोर्ट स्पेसलिस्ट नाडालले सबैभन्दा बढी ६३ उपाधि क्लेकोर्टमै जितेका छन् । सो क्रममा उनले लगातार क्लेकोर्टमा ८१ खेलमा अपराजित रहेर कीर्तिमान पनि रचे । उनी विश्व नम्बर एकमा २०९ हप्तासम्म रहेका थिए ।