• १५ असार २०८२, आइतबार

पोल्ट्री व्यवसायलाई बेवास्ता गरेको आरोप

blog

भरतपुर समाचारदाता

चितवन, पुस १६ गते । निजी क्षेत्रको एक खर्ब ६० अर्ब रुपियाँभन्दा बढी लगानी भई आत्मनिर्भर रहेको कुखुरापालन (पोल्ट्री व्यवसाय) सङ्कटमा परेको गुनासो व्यवसायीले गरेका छन् । देशको कुल गार्हस्थ उत्पादनमा ३.५ प्रतिशत योगदान रहेको उक्त व्यवसायलाई बचाउन सरकारले बेवास्ता गरेको आरोप उनीहरूको छ ।

राष्ट्रिय पोल्ट्री दिवसको पूर्वसन्ध्यामा व्यवसायीले त्यस्तो आरोप लगाएका हुन् । २०१७ पुस १७ गते बाराको परवानीपुरमा सेन्ट्रल ह्याचरीको उद्घाटनपछि नेपालमा आधुनिक पोल्ट्रीको सुरुवात भएको मानिन्छ । सोही दिनको सम्झनामा राष्ट्रिय पोल्ट्री दिवस मनाउन सुरु गरिएको ११ वर्ष भएको छ ।  नेपाल कुखुरा व्यवसायी मञ्चका अध्यक्ष रघुनाथ भट्टका अनुसार नेपालको एक मात्र आत्मनिर्भर यो व्यवसायले चार लाख ५० हजार व्यक्तिलाई प्रत्यक्ष रोजगारी दिँदै आएको भए पनि पछिल्लो समय उत्पादनमा एक तिहाइ कमी आएको छ ।

प्रतिहप्ता ५० लाख गोटा ब्रोइलर चल्ला उत्पादन गर्ने गरेको यो व्यवसायमा यतिबेला मुस्किलले ३० लाख मात्र उत्पादन भइरहेको छ र पनि बजार अभाव छ । प्रतिहप्ता तीन लाख लेयर्स चल्ला उत्पादन हुने गरेकोमा यतिबेला एक लाखको हाराहारीमा मात्र उत्पादन छ । कलर ब्रोइलर पनि झन्डै पाँच लाखको हाराहारीमा उत्पादन हुने उक्त चल्ला हाल प्रतिहप्ता दुई लाखको हाराहारीमा मात्र उत्पादन हुने गरेको छ । उच्च उत्पादनका बेला प्रतिदिन ६० लाख गोटा अन्डा उत्पादन हुँदै आएकोमा अहिले २३ देखि २४ लाख गोटा मात्र उत्पादन छ । त्यस्तै प्रतिदिन १० हजार टन उत्पादन हुँदै आएको मासुको उत्पादन घटेर यतिबेला छ हजार टन मात्र मासु उत्पादन हुँदै आएको छ ।