गोरखापत्र समाचारदाता
काठमाडौँ, पुस १६ गते । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले च्याउको गुणस्तरीय बिउको समस्याका कारण उत्पादन र उत्पादकत्व कम भएको भन्दै अबको ध्यान स्वदेशमै च्याउको गुणस्तरीय बिउ उत्पादनतर्फ हुनुपर्ने बताउनुभएको छ ।
च्याउ उत्पादक किसान सङ्घले आयोजना गरेको च्याउ मेला तथा परिकार महोत्सवलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले नेपालीमा च्याउ खाने बानी बढेसँगै च्याउको बजार पनि बढ्दै गएकाले हाल देखिएका चुनौतीको समाधान गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले नेपाल च्याउमा आत्मनिर्भरतातर्फ उन्मुख रहेकाले बिस्तारै निर्याततर्फ लाग्ने गरी काम गर्न जोड दिनुपर्ने बताउनुभयो ।
च्याउको गुणस्तर वृद्धिका लागि मन्त्रालय मातहतका निकायले काम गरिरहेको उल्लेख गर्दै उहाँले बहुमूल्य र पौष्टिक जातको पनि अनुसन्धान सुरुवात गरी बिउ उत्पादनमा सफलता हात परेको जनाउनुभयो । पुस १५ गतेलाई राष्ट्रिय च्याउ दिवसका रूपमा मनाउन मन्त्रालयले आवश्यक गृहकार्य गर्ने जानकारी दिँदै मन्त्री अधिकारीले च्याउको उत्पादन विविधीकरणतर्फ जानु जरुरी रहेकोमा जोड दिनुभयो ।