• १९ पुस २०८१, शुक्रबार

काठमाडौँकै पुल समस्याग्रस्त

blog

टेकु र कालीमाटी जोड्ने विष्णुमती खोलामा निर्माण गरिएको अलपत्र अवस्थामा रहेको पुल । तस्बिर : गोरखापत्र

काठमाडौँ, पुस १६ गते । सङ्घीय राजधानी काठमाडौँमा पुल निर्माणको अवस्था कमजोर हुनुका साथै कतिपय निर्माण भएका पुलसमेत अलपत्र परेका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत निर्माण हुनुपर्ने पुल हुन् वा काठमाडौँ महानगरपालिकाद्वारा निर्माण गर्नुपर्ने पुल समस्याग्रस्त देखिएका छन् ।

प्रस्तावित कतिपय ठाउँमा काम नै सुरु हुन सकेको छैन भने कतिपय निर्माण भएका पुल पनि सञ्चालन हुन नसकी अलपत्र परेका छन् । टेकु र कालीमाटी जोड्ने विष्णुमती खोलामा निर्माण गरिएको पुल प्राविधिक कारण देखाउँदै बर्सौंदेखि अलपत्र छ । त्यसै गरी तीनकुनेस्थित बागमती नदीमा निर्माणाधीन पुल बर्सौंदेखि अलपत्र छ ।

२०७५ मा नै काम सम्पन्न भएको टेकुको पुल निर्माणमा त्रुटि रहेको भन्दै सडक विभागले सो पुल सञ्चालनमा आउन दिएको छैन । प्राविधिक समस्या भएकाले सो पुलमा अहिलेसम्म सवारीसाधन गुड्न पाएको छैन । सो पुलको निर्माण पप्पु कन्स्ट्रक्सनले गरेको थियो । निर्माण कम्पनीले अहिलेसम्म सो पुल सरकारलाई हस्तान्तरण गरेको छैन । अहिले सो पुल पार्किङ क्षेत्र बनेको छ । 

सडक विभाग अन्तर्गतको पुल महाशाखा प्रमुख ललिजन खनालका अनुसार यो पुल निर्माणका लागि कुल २२ करोड ६१ लाख ७४ हजार ९७४ रुपियाँको लागतमा २०७१ असार ९ गते ठेक्का सम्झौता भएको थियो । सडक विभागका पूर्वमहानिर्देशक इ. अर्जुनजङ्ग थापाले टेकुको पुलमा निर्माण कम्पनीले गुणस्तरहीन निर्माण सामग्री प्रयोग गरेकाले त्यसलाई सञ्चालनमा ल्याउँदा जुन बेला पनि मानवीय तथा सवारीसाधनको दुर्घटना हुन सक्ने भएकाले पुलमा सवारीसाधन गुडाउन अनुमति नदिएको बताउनुभयो । उहाँका अनुसार पुलमा न्यून गुणस्तरका तार, डन्डी र बालुवा प्रयोग भएको पाइएको छ । 

“पुलको सल्याब ढलानका क्रममा गुणस्तरहीन सामग्री प्रयोग भएको प्राविधिक परीक्षणले देखाएको छ । पुलको बिचको भाग जुन बेला पनि झर्न सक्छ । त्यसले सो पुल भत्काएर पुनर्निर्माण गर्नु पर्छ,” उहाँले भन्नुभयो, “पुल्चोक इन्जिनियरिङ क्याम्पसको प्राविधिक टोलीले गरेको अध्ययनले ६०/७० वर्ष आयु हुनुपर्ने सो पुल आठ/१० वर्षमै भत्किन सक्ने सम्भावना देखिएको छ ।”

त्यसै गरी निर्माण कम्पनीको गलत डिजाइनका कारण तीनकुनेस्थित बागमती नदीमा निर्माणाधीन पुल बर्सौंदेखि अलपत्र छ । निर्माणको जिम्मा पाएका पप्पु कन्स्ट्रक्सनले पुलको डिजाइन सच्याएर पुल निर्माणलाई अगाडि बढाउन नमान्दा पनि पुल अलपत्र परेको हो ।

पुल महाशाखाका इन्जिनियर विमल बस्नेतका अनुसार यो पुल निर्माणका लागि कुल २४ करोड ५९ लाख ६७ हजार रुपियाँको लागतमा २०७१ साउन १० गते ठेक्का सम्झौता भएको थियो । २०७५ भित्र तीनकुने पुलको निर्माण सम्पन्न गर्नुपर्ने थियो । २०७१ मा एकै समयमा निर्माण सुरु गरिएको बागमतीको तीनकुने पुल र बिजुलीबजारस्थित धोबीखोलाको पुलमध्ये धोबीखोला पुल चार वर्ष पहिलेदेखि नै सञ्चालनमा छ ।

सडक विभाग, पुल महाशाखाका प्रमुख खनालले टेकुस्थित पुलमा गुणस्तरहीन निर्माण सामग्री प्रयोग गरिएकाले अहिलेकै अवस्थामा त्यसलाई स्वीकार गर्न नसकिने स्पष्ट पार्दै त्यो पुलसम्बन्धी अहिले अदालतमा मुद्दा चलिरहेकाले पुलसम्बन्धी कुनै निर्णय लिन नसकिएको बताउनुभयो । तीनकुने पुलको पुनर्निर्माण सुरु गर्न त्यसको नयाँ डिजाइन भइरहेको बताउँदै डिजाइन स्वीकृत भएसँगै त्यसको ठेक्का लगाइने जानकारी दिनुभयो ।

अगाडि बढ्न सकेनन् महानगरका आकासे पुल त्यसै गरी काठमाडौँ महानगरपालिकाले कोटेश्वर, बबरमहल, पुतलीसडक, पद्मोदय मोड, बागबजार, कालीमाटी चोक, रविभवन, त्रिवि शिक्षण अस्पतालअगाडि, गङ्गालाल अस्पतालअगाडिका आकासे पुल निर्माण गर्ने योजना गत आर्थिक वर्ष २०८०/८१ मा समावेश गरे पनि त्यसको काम अगाडि बढ्न सकेको छैन । बजेटमा प्रतिपुल एक करोड रुपियाँ रकमसमेत विनियोजन गरिएको थियो तर अहिलेसम्म निर्माण अगाडि बढ्न नसकेको हो ।